काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चिति मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
हाल कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । कम्पनीको शेयर २०७७ असोज ८ गते देखि रोक्का रहेको छ । आईपीओ सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएकोे थियो । यस समाज लघुवित्त र स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता भएसँगै कारोबार रोक्का भएको हो । लामो समयदेखि यी दुवै लघुवित्तबीचको मर्जर टुंगोमा लाग्ने सकेको थिएन । गत जेठमा भने दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया तोडिएको छ ।
कम्पनीको शेयर कारोबार फुकुवाका लागि नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र शेयर रजिष्ट्रारमा जेठ ३२ गते पत्र पठाइएको जानकारी दिएको छ । शेयर कारोबार फुकुवाका लागि पत्र पठाइसकेकाले असारभित्रै कारोबार शुरु हुन सक्ने कम्पनीको अनुमान छ ।
हेर्नुस् सूचना