फागुन ७, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७८/ ७९ को माघ महीनामा १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार सो महीनामा सबै शिर्षक गरी १ अर्ब ७ करोड १ लाख ५१ हजार रुपैयाँ संकलन गरेको छ । कार्यालयले यो महीनामा लक्ष्य अनुसार कर संकलन गरेको छैन । उक्त महीनामा विभागले १ अर्ब ५१ करोड ५० लाख ७४ हजार लक्ष्य दिएको थियो हो । यो रकम २९ दशमलव २७ प्रतिशतले कमी हो ।
आयकर र स्वास्थ्य सेवाबाट मात्र लक्ष्यभन्दा बढी असुली
कार्यालयले सबै शिर्षकमध्ये आयकर र स्वास्थ्य सेवा शिर्षकबाट मात्रै लक्ष्यभन्दा बढी कर असुलेको छ । जसअनुसार विभागले माघ महीनामा कार्यलयलाई ८ करोड २० लाख ७७ हजार रुपैयाँ लक्ष्य दिएकोमा १५ करोड ४ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ भने स्वास्थ्य सेवा करमा ३ लाख ७१ हजार लक्ष्य दिइएकोमा १९ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सबैभन्दा बढी कर संकलन अन्त : शुल्कबाट भएको छ भने शिक्षा सेवाबाट कुनै पनि रकम संकलन भएको छैन ।
कार्यालयले उक्त महीनामा अन्त : शुल्कबाट ७७ करोड ११ लाख ७४ हजार रुपैयाँ संकलन गरेको । उक्त महीनामा विभागले कार्यालयलाई १ अर्ब २० करोड ८४ लाख ८६ हजार रुपैयाँ असुली गर्ने लक्ष्य दिएको थियो भने शिक्षा सेवा शिर्षकमा माघ महीनामा ४ लाख ६५ हजार रुपैयाँ असुली लक्ष्य दिएकोमा शून्य रकम संकलन भएको हो ।
दोस्रो सबैभन्दा बढी कर असुली मुल्य अभिवृद्धि करबाट १२ करोड ६६ लाख ८१ हजार रुपैयाँ कर असुली भएको छ । यो शिर्षकमा विभागले १६ करोड ३७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिएको थियो ।
यसैगरी बहाल कर शिर्षकमा ४४ लाख ७२ हजार रुपैयाँ लक्ष्य दिएकोमा ३४ लाख ८५ हजार रुपैयाँ संकलन र ब्याजकर शिर्षकमा ५५ करोड ४५ लाख ३ हजार रुपैयाँ लक्ष्य दिएकोमा १५ करोड ४ लाख ८५ हजार रुपैयाँ राजस्व असुली भएको छ । कर अधिकृत सुशील लम्सालले कोरोनाकै कारण आर्थिक गतिविधि हुँदा राजस्व संकलन लक्ष्य अनुसार भेट्टाउन नसकिएको बताए ।
‘कोरोनाका कारण आर्थिक गतिविधि सुस्त पनि भयो’, लम्सालले भने, ‘जाडो याममा बियरको खपत कम भएकोले पनि अन्तशुल्क शिर्षकमा लक्ष्यभन्दा कम संकलन हुँदा समग्र रुपमा असर परेको हो ।’
आयकर शिर्षकमा पुस महीनामा तिर्नुपर्ने रकम माघमा पनि आउने भएको लक्ष्यभन्दा बढी संकलन भएको र स्वास्थ्य सेवा कर शिर्षकको बक्यौता रकम असुली भएकोले लक्ष्यभन्दा बढी उठेको उनले बताए ।
‘हाम्रो सबैभन्दा बढी करको स्रोत अन्त :शुल्क, मुअक र आयकरनै हो’, उनले भने, ‘अन्य शिर्षकमा घटबढ हुंँदा खासै लक्ष्यमा असर पर्दैन ।’ गर्मीयाम शुरु भएसंँगै बियरलगायत अन्य पेय पदार्थको उत्पादन र विक्री बढ्ने भएकोले आगामी महीनाबाट कर संकलन अपेक्षित हुने उनको भनाइ छ ।
विभागले चालू आवको लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले सात महीनासम्ममा कुल ११ अर्ब १७ करोड ५ लाख ८७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।