काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक लक्षित ननस्टप टाइम प्याक योजना सार्वजनिक गरेको छ । एनसेलका ग्राहकले आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याक लिन सक्छन् । योजनामा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र २ घन्टाका लागि डेटा सेवा लिन सक्ने कम्पनीले बताएको छ ।
कम्पनीले यसअघि नै वान आवर डेटा प्याकको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकलाई थप सेवा उपलब्ध गराउन थप दुई नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिका निम्ति निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकलाई यी प्याक उत्तम विकल्प हुने कम्पनीले जनाएको छ ।
योजनामा ग्राहकले १० मा १५ मिनेटको डेटा प्याक पाउनेछन् भने २ घन्टाको डेटा प्याक ३० रुपैयाँमा लिन सक्छन् । यी प्याक सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँछन् । ननस्टप टाइम प्याकले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचना आदान–प्रदान र डिजिटल कारोबारजस्ता कार्य गर्न निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकको पहुँच सुनिश्चित गर्ने विश्वास कम्पनीको छ ।