महासंघलाई बीमा समितिको जवाफ :‘विदेशी पुनर्बीमा कम्पनीहरू भाग्न थालेपछि न्यूनतम दर तोकियो’

काठमाडौं । बीमा समितिले गैरमहसुल बीमा व्यवसायमा हुने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यसहित प्रिमियममा न्यूनतम दर तोेकेको बताएको छ । निजीक्षेत्रबाट प्रिमियममा न्यूनतम दर तोकेको विषयमा विरोध आएपछि समितिले यस्तो स्पष्टीकरण दिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार एक विज्ञप्ति जारी गरेर यस विषयमा ध्यानाकर्षण गराएको थियो । त्यसको भोलिपल्ट अर्थात् बिहीवार बीमा समितिले प्रिमियममा न्यूनतम दर तोक्नुको कारण समेत उल्लेख गरेको हो । कुनै पनि व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदेखिने उद्देश्यले यस्तो गरेको समितिको भनाइ छ । निर्जीवन बीमाअन्तर्गत अग्नि, मोटर, इञ्जिनीयरिङ, सामुद्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो । कम्पनीहरूले न्यूनतम प्रिमियम दर कायम गर्न पटकपटक समितिमा आग्रह गर्दै आएका थिए । त्यसमाथि कमभन्दा कम प्रिमियम दरमा हुने बीमाको पुनर्बीमा गर्न विदेशी कम्पनीहरूले अस्वीकार गर्दै आएका थिए । विदेशी कम्पनीहरूले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा दाबी भुक्तानीमा नै समस्या पर्ने देखिएपछि न्यूनतम प्रिमियम दर तोकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बुधवार महासंघले विज्ञप्ति जारी गर्दै खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृृद्धि गरी सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढने जाने बताएको थियो । साथै, त्यसरी बीमाशुल्क भुक्तानी गरे पनि कम्पनीबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरू पनि राखिएको महासंघले बताएको थियो । त्यसको उत्तरमा बीमा समितिले विज्ञप्ति नै जारी गरेर न्यूनतम प्रिमियम दर तोक्नुको आवश्यकता बताएको हो । बीमा समितिले गत असोज ६ गते गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर लागू गरेको थियो । समितिले प्रिमियम नै वृद्धि गरी न्यूनतम सीमा तोेकेको थियो । त्यसपछि निर्माण व्यवसायी, ऊर्जा व्यवसायीहरूले यस विषयमा विरोध जनाउँदै आएका छन् । समितिले मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शी रूपमा अगाडि बढाउन बीमाक्षेत्रबाट आवश्यक योगदान गर्न तयार रहेको बताएको छ । साथै, न्यूनतम प्रिमियम दरलगायत बीमाक्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरूलाई पनि सकारात्मक रूपमा लिने समितिको भनाइ छ ।

सम्बन्धित सामग्री

बीमा समिति विशेष : सक्रियता बढाउँदै समिति

काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको २ दशकपछि बीमा समितिको स्थापना भएको हो । बीमाक्षेत्रले ७ दशकको यात्रा पूरा गर्दा समितिको इतिहास भने ५३ वर्षको छ । सरकारले बीमा क्षेत्रको नियमनसँगै प्रवर्द्धन गर्ने उद्देश्यसहित २०२५ सालमा बीमा समितिको स्थापना गरेको थियो । समितिले जेठ १ गते अर्थात् आज ५३ वर्ष पूरा गरेर ५४औं वर्षमा प्रवेश गरेको छ ।  नेपालमा २००४ मा बीमा व्यवसायको शुरुआत भएको थियो । तत्कालीन समयमा नेपाल माल चलानी तथा बीमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) ले यस्तो व्यवसाय शुरू गरेको थियो । त्यसलगत्तै भारतीय बीमा कम्पनीहरू पनि यहाँ आएर व्यवसाय शुरू गरे । त्यसपछि २०२५ मै बीमा संस्थानको पनि स्थापना भयो । नेपालमा बीमा व्यवसायको विस्तार हुन लागेपछि नियमनको आवश्यकता खड्कियो । त्यसपछि सरकारले समितिको स्थापना गरेको हो ।  तत्कालीन समयमा अर्थ मन्त्रालयको एउटा विभाग (शाखा)को रूपमा समिति स्थापना भएको थियो । तर, अहिले समिति अर्थ मन्त्रालयको शाखाको रूपबाट छुट्टिएर बीमा बजारको स्वायत्त तथा बलियो नियामक निकायको रूपमा स्थापित भइसकेको छ ।  यद्यपि, स्थापना भएको लामो समयसम्म समितिले दु्रत गतिमा काम गर्न सकेको थिएन । तत्कालीन समयमा बीमा अभिकर्ताको इजाजतपत्र जारी गर्ने र नवीकरण गर्ने काममै समिति सीमित थियो । तर पछिल्लो केही वर्षदेखि समितिले आफ्नो गतिविधिलाई द्रुत गतिमा अगाडि बढाएको छ । साथै आफ्नो सक्रियता पनि बढाउँदै  लगेको छ । विशेषगरी २०७० को दशक शुरू भएपछि बीमा समितिले दु्रत गतिमा काम गर्न थालेको हो । २०७० यता आएर नै समिति बीमा बजारमा आवश्यक धेरैओटा तत्त्वको विकास गर्न सफल भएको छ । यही अवधिमानै बीमा सम्बन्धी नयाँ ऐन संसद्मा पेश गरिएको छ । हाल संसद्मै विचाराधीन रहेको उक्त विधेयकले बीमा क्षेत्रका अधिकांश पक्षलाई सम्बोधन गरेको छ । विशेषगरी कानूनी तथा नीतिगत व्यवस्था र सुधारमा समितिले उलेख्य प्रगति गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘हालसम्म आउँदा बीमा क्षेत्रका लागि आवश्यक पर्ने तत्त्वहरूको विकास गरिसकेका छौं । समयअनुसार बजारको विकासका लागि गर्नुपर्ने काम गर्न समिति सकारात्मक नै छ,’ उनले भने, ‘अबको हाम्रो बाटो बीमाको दायरा र पहुँच विस्तार गर्नु हो, हामी त्यहीअनुसार अगाडि बढ्छौं । साथै, मर्जरमार्फत बीमा कम्पनीको संख्या पनि घटाउँछौं ।’ नेपालमा अहिले १९ जीवन, २० निर्जीवन र २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । अब जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउने समितिको उद्देश्य छ ।  अबको काम मर्जर र पहुँच वृद्धि - राजुरमण पौडेल, कार्यकारी निर्देशक, बीमा समिति हालसम्म समितिले धेरै काम गरिसकेको छ । बीमा बजारलाई आवश्यक पर्ने तत्त्वको विकास भइसकेको छ । तथापि अबका दिनमा गर्नुपर्ने थुप्रै काम छन् । त्यो हामी गर्छाैं नै । तत्काललाई मर्जरमार्फत कम्पनीको संख्या घटाउने र बीमाको पहुँच बढाउनेतर्फ समिति केन्द्रित हुन्छ । बीमा बजारको प्रवर्द्धनमा पनि हाम्रो जोड हुनेछ ।   बिशेषगरि समितिले यस अवधिमा बीमाको पहँुच बढाउने मामलामा राम्रो काम गरेको देखिन्छ । बीमा व्यवसाय शुरू भएको ७ दशकमा बीमाको पहुँच ७ प्रतिशतसम्म मात्र पुगेको थियो । तर, पछिल्लो ४/५ वर्षमा बीमाको पहुँच ह्वात्तै बढेको छ । गत चैत मसान्तसम्ममा जनसंख्याको ३७ दशमलव ३४ प्रतिशतमा बीमाको पहुँच पुगेको छ । यो आफैमा ठूलो उपलब्धि भएको समितिको भनाइ छ ।  बीमा समितिले अब गर्नुपर्ने काम  दक्ष जनशक्तिको आपूर्ति बीमा बजार उलेख्य रूपमा विस्तार भए पनि अझै दक्ष जनशक्तिको अभाव छ । कम्पनीका कर्मचारीले नै बीमितलाई बीमालेखको बारेमा विस्तृत रूपमा बुझाउन सकेको पाइँदैन । साथै, जथाभावी शाखा स्थापना गर्दा कम्पनीहरूलाई कर्मचारीको अभाव पनि हुने गरेको छ । यसले गर्दा समितिलाई दक्ष जनशक्ति उत्पादनमा पनि काम गर्नुपर्नेछ । संस्थागत सुशासन बीमा कम्पनीको संख्या बढेसँगै विभिन्न विषयमा अस्वस्थ प्रतिस्पर्धाको विकास पनि हुँदै गएको छ । साथै, कर्मचारीहरू सेवासुविधाको पछि लागेर छोटो अवधीमै दुईभन्दा बढी कम्पनीबाट नियुक्ति लिने गरेका छन् । यसले संस्थागत सुशासन कायम गर्न अप्ठ्यारो स्थिति सृजना गरेको छ, जसअनुसार समितिलाई अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न र संस्थागत सुशासन सुनिश्चित गर्न पनि काम गर्नुपर्नेछ ।  तथ्यांक संकलन बीमा समितिले ५३ वर्षको यात्रा पूरा गरेको छ । तर समितिसँग १०/१५ वर्षभन्दा पहिलेको कुनै पनि यकिन तथ्यांक छैन । त्यसमाथि वर्तमान समयकै पर्याप्त तथ्यांक पनि पर्याप्त छैन । बीमा संकलन, दाबी भुक्तानी, कुल बीमा पहुँच लगायतका तथ्यांक संकलनमा समिति केन्द्रित छ । कस्ता समुदाय बीमाको पहुँचमा छन्, दाबीमा भएको ठगी कस्तो छ भन्ने जस्ता विषयमा समितिसँग तथ्यांक नै छैन । बीमा व्यवसायका लागि तथ्यांक महत्त्वपूर्ण पाटो हो । तर समिति पर्याप्त तथ्यांक संकलन गर्ने मामलामा अझै पछि छ । त्यसैले समितिले अबका दिनमा तथ्यांक संकलन सम्बन्धी कामलाई पनि विशेष जोड दिनुपर्नेछ ।  बीमाको पहुँच विस्तार पछिल्लो समय बीमाको पहुँच तीव्ररूपमा बढेको छ । तर, अझै ६३ प्रतिशत नागरिक बीमाको पहुँचभन्दा बाहिर छन् । ‘हुने खाने’ वर्गका नागरिक मात्र बीमामा आएका छन् । बीमाले अझै गरीब समुदायका नागरिकलाई समेट्न सकेको छैन । कम्पनीहरूले पनि उनीहरूलाई ग्राहकको रूपमा हेरेका छैनन् । समग्रमा जसलाई बीमाको बढी आवश्यकता छ, त्यहाँ बीमाको पहुँच नै पुगेको छैन । यो त जीवन बीमाको कुरा हो । निर्जीवन बीमाको पहुँच झनै कम छ । सरकारी सम्पत्तिको समेत बीमा हुन सकेको छैन । कृषि बीमा, स्वास्थ्य बीमाको दायरा पनि विस्तार भएको छैन । बीमाको जागरण समेत बढेको छैन । धेरै मानिसलाई बीमाको बारेमा अझै राम्रोसँग ज्ञान छैन । त्यसैले समितिले बीमाको जागरणसँगै पहुँच विस्तारमा थप काम गर्नुपर्र्ने देखिन्छ । क्षमता विस्तार र नियमन बीमा समितिले केही वर्ष अघिसम्म प्राप्त उजुरीको आधारमा मात्र कम्पनीहरूमा नियमन गर्ने गरेको थियो । यद्यपि अहिले यसमा केही हदसम्म परिवर्तन भइसकेको छ । साथै अहिले ७७ जिल्लामा बीमा कम्पनीहरूको शाखा पुगिसकेकाले त्यहाँ पनि नियमनको आवश्यकता छ । तर सबै जिल्लामा नियमन गर्न समितिसँग पर्याप्त पूर्वाधारको विकास भएको छैन । यसकारण समितिलाई आफ्नै क्षमता विस्तार र नियमन कार्यमा पनि चुनौती देखिएको छ । नयाँ प्रडक्ट निर्माण  हाल विश्व बीमा बजारमा आधुनिक  परिस्थिति अनुरूपका नयाँ नयाँ बीमा पोलिसीहरू निर्माण भइरहेका छन् । तर विश्व बजारको तुलनामा नेपालमा विशिष्ट किसिमका बीमा पोलिसी निर्माण भएको देखिँदैन । यद्यपि कम्पनीहरूले पछिल्लो समय आधुनिक प्रकारका बीमा पोलिसी ल्याउन शुरू गरेका पनि छन् । यद्यपि, त्यो पर्याप्त छैन । त्यसैले, सबै क्षेत्रलाई समेट्ने, सबै व्यक्तिलाई समेट्ने खालको बीमा प्रडक्ट ल्याउन समितिले काम गर्नुपर्नेछ ।  कोरोनापछिको पुनरुत्थान कोरोना महामारीको असर बीमा क्षेत्रमा पनि परेको छ । बीमा व्यवसायमा ह्रास नै त आएको छैन । तर, व्यवसायको वृद्धिदरमा भने संकुचन आएको छ । तर, त्यसको पुनरुत्थानमा खास काम नभएकाले समितिले यसतर्फ पनि काम गर्नुपर्ने देखिन्छ । कोरोना बीमाको दाबी व्यवस्थापन बीमा समितिलाई अहिले कोरोना बीमाको दाबी भुक्तानी सेटेलमेन्ट गर्न ठूलै चुनौती छ । समितिले तत्काल गर्नुपर्ने काम पनि यही हो । सरकारले वाचा गरेअनुसारको रकम निकासी नगर्दा ११ अर्बभन्दा बढी दाबी भुक्तानी हुन सकेको छैन । त्यसले गर्दा बीमा बजारप्रति विश्वास घट्दो क्रममा छ । त्यसैले कोरोना बीमाको दाबी भुक्तानीलाई छिटो भन्दा छिटो सेटेलमेन्ट गर्ने बाटोमा समिति अगाडि बढ्नुपर्छ ।  प्रविधिको विकास  नेपाली बीमा बजारमा पछिल्लो समय प्रविधिको विकास भइसकेको छ । तर, त्यो बीमा कम्पनीको आन्तरिक कार्य र बीमाशुल्क भुक्तानीमा बढी केन्द्रित छ । बीमा सेवासँग सम्बन्धित प्रविधिको विकास अझै पर्याप्त मात्रामा भइसकेको छैन । अझै पनि अनलाइनबाटै बीमा पोलिसी खरीद गर्न सक्ने अवस्था छैन । अत: समितिले प्रविधिको विकासमा जोड दिनुपर्ने देखिन्छ ।  बीमामा अन्तरराष्ट्रिय अभ्यास  अन्तरराष्ट्रिय बीमा बजारमा नयाँ नयाँ अभ्यासको विकास भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा नयाँ नयाँ आयाम आइरहेका छन् । नेपालको बीमा क्षेत्र भने अझै यथास्थितिमा अगाडि बढेको छ । त्यो अवस्थामा समितिले बीमा बजारलाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्न र अन्तरराष्ट्रिय अभ्यासलाई यहाँ पनि लागू गर्न पहल गर्नुपर्ने देखिन्छ ।  चुनौतीमाझ थुप्रै अवसर अबका दिनमा समितिले यस्ता थुप्रै चुनौती सामना गर्नुपर्नेछ । त्यसो त जोखिम वहन गर्ने क्षेत्र भएकाले बीमा बजारले स्वत: सधैं चुनौतीको सामना गर्नुपर्छ । यस्ता चुनौतीमाझ पनि समिति र बजारलाई थुप्रै अवसर छन् । नेपालको बीमा बजार अझै ‘भर्जिन ल्यान्ड’ जस्तै हो । थुप्रै क्षेत्र तथा मानिस अझै बीमाको दायराभन्दा बाहिर छन् । त्यो क्षेत्रलाई बीमाको दायरामा ल्याउन सके बीमा समितिका अगाडि थुप्रै अवसर सृजना हुन्छन् ।

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : नेपालमा बीमाको ३ दशक

पृष्ठभूमि नेपालको बीमाको इतिहासबारे कुरा गर्दा स्वाभाविक रूपमा व्यावसायिक बीमाको इतिहास अगाडि आउँछ । यसका कारण नेपालमा व्यावसायिक बीमाक्षेत्रको आधिपत्य हुँदै आउनु र सामाजिक बीमाको विकास केही वर्षपहिले मात्रै हुनु पनि हो । बीमाको अन्तरराष्ट्रिय अभ्यास हेर्ने हो भने सामाजिक सुरक्षा, सरकारी र निजीक्षेत्रको सहकार्यमा सञ्चालित सामाजिक बीमा र निजी व्यावसायिक बीमा पर्छन् । नेपालको सन्दर्भमा व्यावसायिक बीमाको इतिहास ७५ वर्षको छ । सामाजिक सुरक्षाको इतिहास लगभग २५ वर्ष र सामाजिक बीमाको इतिहास १ दशकभन्दा कमको छ । यो लेखमा गत ३० वर्षको अवधिमा नेपालको बीमा उद्योगमा आएका परिवर्तनको चर्चा गर्ने प्रयास गरिएको छ । सन् १९९० मा राजाको नेतृत्वमा सञ्चालित निर्दलीय शासनको अन्त्य भई दलहरूको नेतृत्वमा बहुदलीय शासन शुरू भयो । उदारीकरण र निजीकरणको जगमा खुला बजार अर्थतन्त्र मौलाउँदै गयो । सन् १९८० को दशकमा शुरू भएको वित्तीय उदारीकरण सन् १९९० को दशकबाट तीव्र गतिमा अघि बढ्यो । सन् २०२० सम्म आइपुग्दा धेरै निजी संस्था खुले । नेपालको बीमा उद्योगलाई ३ दशकअघि र अहिलेको अवस्थाबीच तुलना गर्दा महत्त्वपूर्ण परिवर्तन भएको पाउँछौं । बीमा समितिको जन्म र बीमा बजारको विकास सन् १९९२ अघि अर्थ मन्त्रालयको एक शाखाका रूपमा बीमा समितिले बीमा बजारको नियमन गर्दै आएको थियो । बीमा बजारको नियमनका लागि बीमा ऐन, २०२५ र बीमा नियमहरू, २०२६ को अलावा राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ समेत थियो । त्यसताका ५ बीमा कम्पनीहरू (सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान, नेपाल बैंकको स्वामित्वको नेपाल बीमा कम्पनी, भारतीय सरकारी स्वामित्वका ओरियन्टल र नेशनल तथा नेपाली व्यवसायीहरूको नेशनल लाइफ एन्ड जनरल इन्सस्योरेन्सले जीवन र निर्जीवन बीमा सेवा प्रदान गर्दै आएका थिए । आम जनतालाई बीमाबारे खासै जानकारी थिएन । विशेषगरी, बीमा व्यापारी र उद्योगपति तथाकर्मचारीमा मात्रै सीमित थियो । सन् १९७०  को दशकको उत्तरार्द्धतिर एशियाली विकास बैंकको सहयोगमा सञ्चालित साना किसान विकास आयोजना नामक परियोजनाले आम किसानलाई कृषि ऋणको व्यवस्था गर्दै गर्दा निक्षेप र कर्जाको सुरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा निक्षेप तथा कर्जा सुरक्षण निगम स्थापना भएको थियो, जुन आज निक्षेप तथा कर्जा सुरक्षण कोषको नामबाट परिचित छ । सन् १९४७ देखि सन् १९६७ सम्म बीमा बजारका लागि न कुनै नियमनकारी निकाय, न कुनै बीमासम्बन्धी ऐन नै थियो । सन् १९६८ देखि १९९१ सम्म सामान्य ऐनमार्फत काम भयो । सन् १९९२ पछि बीमा बजारको विस्तार, विकास र प्रवर्द्धनका लागि नयाँ बीमा ऐन, १९९२ लागू भयो, जसको फलस्वरूप बीमा समितिलाई अधिकार सम्पन्न बनाइयो र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता बढ्न थाल्यो । नेपालले स्वयं बीमासम्बन्धी नियमनकारी निकायको अन्तरराष्ट्रिय फेडेरेशन स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्यो । र, नेपालको बीमाक्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न नियम, कार्यविधि र निर्दिेशका निर्माण गर्‍यो । आजसम्म आइपुग्दा अनगिन्ती निर्दिेशकाहरू बीमाको क्षेत्रमा जारी भएको हामी पाउँछौं । बीमा बजारको वर्तमान अवस्था र मुख्य उपलब्धि व्यावसायिक बीमाक्षेत्रको २०७८ असार मसान्तसम्मको अवस्था हेर्दा बीमा कम्पनीको संख्या पाँचबाट ४१ पुगेको देखिन्छ । बीमा अभिकर्ताको संख्या झन्डै २ लाख ५० हजार पुगेको छ । सर्भेयर ४०० भन्दा बढी छन् । कुल जनसंख्याको २७ प्रतिशतले बीमा सेवा प्राप्त गरेका छन् । बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मात्रै १ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस क्षेत्रमा झन्डै ११ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । यो छोटो लेखमा ३ दशकमा भएका महत्त्ववपूर्ण प्रयास र हुन बाँकी कामबारे संक्षिप्त चर्चा गर्नु आवश्यक छ । बीमा निकै जटिल विषय हो । विषयको जटिलतालाई बुझ्न नसक्दा बीमा बजार आज पनि संकटमा छ । किनकि धेरै विषय अनिर्णीत छन् । बीमासम्बन्धी हरेक निकाय र क्षेत्रमा सबल नेतृत्वको आवश्यकता छ, सुस्पष्ट नीतिको खाँचो छ । महत्त्वपूर्ण प्रयासहरू बीमा नियमन प्राधिकरणको परिकल्पना सहितको बलियो बीमा ऐनको मस्यौदा सरकारमा पेश गर्न बीमा समिति सफल भएको छ । बीमाक्षेत्रमा कार्यरत व्यक्तित्वहरूको पहलमा यो कार्य भएको छ । बिडम्बना ! आजसम्म संसद्मा उक्त विधेयकबारे छलफलसम्म हुन सकेको छैन । यो ऐन लागू हुँदा नेपालको बीमाक्षेत्रमा निकै महत्त्वपूर्ण र सकारात्मक प्रभाव पर्नेछ । किनकि उक्त ऐनले हाल अभाव भएका धेरै संरचनाको स्थापना गर्ने परिकल्पना गरेको छ । बीमालाई जीवन र निर्जीवनमा विभाजन मौजुदा ऐन संशोधन भई जीवन र निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीलाई  दुई  क्षत्रे मा काम गर्ने अलग अलग कम्पनी स्थापना गर्ने गरी कार्यान्वयन भएको छ, जुन सराहनीय छ । बीमा तालीम केन्द्र स्थापना बीमा समितिको पहल र सबै बीमा कम्पनीको लगानीमा बीमा तालीम केन्द्र स्थापना गर्न समिति सफल भएको छ । यसबाट बीमाक्षेत्रमा कार्यरत कर्मचारी, अभिकर्ता, सर्भेयरले तालीमको अवसर पाएका छन् । तालीमकै लागि भारत, मलेशिया, सिंगापुर जानुपर्ने बाध्यता अन्त्य भएको छ । पुनर्बीमा कम्पनी स्थापना सन् २०१४ मा नेपाल सरकारको नेतृत्वमा प्राय: सबै बीमा कम्पनीको लगानीमा नेपाल पुनर्बीमा कम्पनी स्थापना भयो । यो नेपालकै पहिलो पुनर्बीमा कम्पनी हो । यसको आधार आतंकवाद र हुलदंगा सृजित जोखिमका लागि अलग्गै पुलको स्थापना र त्यसका लागि हरेक वर्ष संकलन भएको प्रिमियमको राम्रो रकम नै थियो । कालान्तरमा सोही जोखिम पुललाई नेपाल पुनर्बीमा कम्पनीमा परिणत गरियो र त्यसलगायत स्वदेशी–विदेशी बीमा र पुनर्बीमा कम्पनीसँग व्यवसाय गर्न पाउने अधिकार सरकारले नेपाल रीलाई दियो । बीमा समितिले नेपालमा अर्को पुनर्बीमा कम्पनीको आवश्यकता देख्यो र सन् २०२१ मा हिमालयन रीलाई लाइसेन्स दियो । निजीक्षेत्रको लगानीमा स्थापना भएको यो पहिलो पुनर्बीमा कम्पनी हो । सशक्त नियमनको प्रयास बीमा कम्पनीहरू विशेष नियमनयोग्य निकायमा पर्छन् र सोहीअनुरूप बीमा समितिबाट विभिन्न निर्देशिका जारी भएका छन् । बीमा समितिको संरचना विस्तार हुँदै गएको छ र जनशक्तिको संख्या पनि वृद्धि भइरहेको छ । विगत १५ वर्षमा मात्रै ७० भन्दा बढी निर्देशिका जारी भइसकेका छन् । यसबाट नियमन सशक्त हुँदै गएको महसूस गर्न सकिन्छ । कम्पनीको पूँजीमा वृद्धि र सोल्भेन्सी नियमन ३० वर्षमा सबैभन्दा चलायमान र सशक्त निर्णय भएको विषय हो– बीमकहरूको पूँजी वृद्धि । सन् २००७ सम्म न्यूनतम पूँजी निर्जीवन बीमकको लागि रू. १० करोड र जीवन बीमकका लागि रू. २५ करोड कायम थियो । समय समयमा पूँजी वृद्धि हुँदै गयो । भर्खरैमात्र बीमा समितिले आगामी १ वर्षभित्रमा निर्जीवन बीमकका लागि न्यूनतम रू. २५० करोड र जीवन बीमकको लागि रू. ५०० करोड पूँजी हुनुपर्ने निर्णय गरेको छ । न्यूनतम पूँजीको अलावा सोल्भेन्सी क्यापिटललाई पनि सन् २०१३ बाट अनिवार्य बनाइयो । अबको ४ वर्षपछि पुन: जोखिममा आधारित पूँजी कार्यान्वयन गर्न खोजिँदै छ । एकपछि अर्को सोल्भेन्सी नियमन कडा हुँदै गएको छ । जबकि शुरूआती चरणमा न्यूनतम पूँजी पुर्‍याएमात्र पनि कम्पनी स्थापना गर्न सकिन्थ्यो । बीमकको संख्या र बीमाको पहुँचमा वृद्धि सन् २०२१ मा आइपुग्दा बीमकको संख्या ४१ पुगिसकेको छ । यो संख्या अझै बढ्न पनि सक्छ । ३ करोड जनसंख्या र ३२ अर्ब डलरको अर्थतन्त्रलाई सबै कम्पनीले बजार बनाउने हो । कम्पनीहरूलाई चुनौतीसँगै अवसर पनि छन् । अवसरको फाइदा लिँदै कम्पनीहरूले करीब २५ प्रतिशत जनसंख्यामा आफ्नो पहुँच पुर्‍याइसकेको अवस्था छ भने यही गतिमा अघि बढ्दै जाने हो भने विशेषगरी जीवन बीमा कम्पनीहरू जीवन बीमायोग्य बाँकी ७५ प्रतिशत बजारमा पनि छिट्टै पुग्ने विश्वास लिन सकिन्छ । निर्जीवन बीमा कम्पनीको बजार दायरा असीमित भएकोले धेरैभन्दा धेरैमा पहुँच पुग्न नसकेको अवस्था छ । हुन बाँकी काम नेपालको बीमा बजार उन्नत अर्थतन्त्रको बीमा बजारभन्दा धेरै कुरामा फरक छ । कतिपय अति आवश्यक संरचना नहुँदा पनि बजार त चलेकै छ, तर भविष्यमा बजारलाई बढी सशक्त बनाउन तपशिलका कुरा पूरा हुनु जरुरी छ । बीमा कलेज स्थापना नेपालमा आजसम्म पनि बीमा बजारको लागि चाहिने दक्ष जनशक्ति, जस्तै: रिस्क मेनेजर, एक्चुअरी, अन्डरराइटर, लस एसेसर, लस एडजस्टर, क्लेम एडजस्टर, क्लेम सेटलमेन्ट एक्सपर्ट, रिइन्स्योरेन्स एक्सपर्ट, रिइन्स्योरेन्स एकाउन्टेन्ट, इन्स्योरेन्सब्रोकर, रिइन्स्योरेन्स ब्रोकर, मार्केटिङ एक्सपर्ट, इन्स्योरेन्स एनालिस्ट उत्पादन हुँदैनन् । विश्वविद्यालयले यस्तो जनशक्ति उत्पादन गर्न सक्दैनन् । यसको लागि बीमा कलेज स्थापना हुनु जरुरी छ । यसका लागि बीमा समिति र नेपाल सरकारले नै पहल लिनु आवश्यक हुन्छ भने बजारले यस कार्यमा होस्टेमा हैंसे गर्ने हो । यस्तो जनशक्तिको कमीका कारण नेपालको बीमा बजार निकै कमजोर हुन पुगेको छ । बीमा बजारको नियमन फितलो भएको छ । बीमा प्रशासन कमजोर भएको छ भने बीमा कम्पनीको व्यवस्थापन चुस्त र प्रभावकारी हुन सकेको छैन । सधैं विदेशीको भर पर्नु पर्दा काममा ढिलासुस्ती भइरहेको छ । यो समस्या निकै गम्भीर छ । तर पनि शासन सत्तामा बस्नेहरूले, नीति निर्माणमा रहनेहरूले यो कुरा नबुझेको कारणले यसलाई निकै हल्काफुल्का ढंगले लिने गरेका छन् । जबसम्म दक्ष जनशक्तिको उत्पादन स्वदेशभित्रै हुँदैन, वर्षेनि अर्बौं रुपैयाँ विदेशिइरहनेछ, र नेपालको बीमा बजार विदेशीको भरमा बस्नु पर्नेछ । यसलाई बीमा बजारको एक दुर्भाग्य र विडम्बना नै भन्नु पर्छ । बीमा सूचना केन्द्र तथा जालसाजी अनुसन्धान केन्द्रको स्थापना बीमा सूचना केन्द्र नहुँदा धेरै समस्या पैदा भएका छन् । सूचनाको अभावमा नीति निर्माणमा असर परेको छ । अध्ययन, अनुसन्धान सही तरीकाबाट हुन सकेको छैन, रिपोर्टिङ सही हुन सकेको छैन र गलत काम गर्नेहरूलाई पहिचान गरी कानूनको दायरामा ल्याउन सकिएको छैन । पटकपटक जालसाजी गर्नेहरूको सूची तयार हुन सकेको छैन । जालसाजी अनुसन्धान केन्द्र र बीमा सूचना केन्द्र एकआपसमा सम्बद्ध छन्, परिपूरक जस्ता पनि हुन् । हरेक देशको बीमा उद्योगलाई प्रभावकारी नियमन र बजारीकरण गर्न विश्वभर यस्ता संस्था खुलेका छन् । यिनको आवश्यकता र औचित्य नीति निर्माताहरूले समयमै बुझ्नु जरुरी छ । बीमासम्बन्धी सशक्त ऐन र बीमा कसुर रोकथामसम्बन्धी ऐनको कार्यान्वयन सूचना र प्रविधिका कारण हामी निकै अघि बढेका छौं र बजारको चाहना पूरा गर्न निकै मेहनत गर्नुपरेको छ । तर, दुर्भाग्य ! आज पनि हामी उही ३० वर्ष पुरानो बीमा ऐन बोकेर हिँड्नुपरेको छ । बीमा विधेयक केही प्रगतिशील छ तर त्यो संसद्मा नै सुतिरहेको छ । हुन त उक्त ऐनमा पनि केही कमजोरी छन्, सम्भव भएसम्म त्यस विधेयकलाई पूर्ण बनाउनु जरुरी छ । त्यसैगरी, बीमामा कसुर गर्नेलाई सशक्त ढंगबाट प्रतिकार गर्न, निरुत्साहित गर्न र कारबाही गर्न अलग्गै बीमा कसुर रोकथामसम्बन्धी ऐनको कार्यान्वयन जरुरी छ । बीमा दलाल ब्रोकरको उपस्थिति हुनुपर्ने दलालहरू तीन किसिमका हुन्छन् : (१)बीमा कम्पनीको पोलिसी बीमितलाई विक्री गर्ने बीमा दलाल, (२) पुनर्बीमा पोलिसी बीमा कम्पनीलाई विक्री गर्ने पुनर्बीमा दलाल, र (३) दुवै खालको काम गर्ने कम्पोजिट दलाल । आजको बीमा उद्योगमा बीमा दलाल (ब्रोकर) को ठूलो भूमिका हुन्छ । विकसित देशमा ब्रोकरविना बीमा बजारको कल्पना गर्न सकिँदैन । तर, नेपालमात्रै यस्तो देश हो, जहाँ ७५ वर्ष बितिसक्दा पनि विनाब्रोकर बजार चलिरहेको छ । अभिकर्ताले खास जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमा पोलिसी विक्री गर्छन् भने दलालले बजारमा उपलब्ध सबै कम्पनीका पोलिसी विक्री गर्छन् । उनीहरूले उपभोक्ताको आवश्यकता अनुसारका पोलिसी पहिचान गर्छन् र सोही अनुसार नै उपभोक्तालाई सुझाव दिन्छन् । नेपालमा बीमा  कम्पनीलाई पुनर्बीमा कम्पनीसँग जोड्ने काम विदेशी पुनर्बीमा दलालले मात्रै गर्दै आएका छन्, जुन कार्यमा नेपाली संलग्न हुन पाएका छैनन् । बीमा समितिले पुनर्बीमा दलालको दर्ताका लागि निर्देशिका जारी गरेको छ । छिट्टै नेपालीले पुनर्बीमा दलालको लाइसेन्स पाउने छन् । नेपालीले पनि विश्व बीमा बजारबाट केही कुरा सिक्नेछन् भन्ने आशा गर्न सकिन्छ । तर, बीमा दलालको लाइसेन्स भने अझै पनि खुला गरिएको छैन । बीमासँग सम्बद्ध अनुसन्धान नेपालका विश्वविद्यालयहरूमा बीमासम्बन्धी अनुसन्धानलाई त्यति ध्यान दिइएको छैन । न त बीमा समिति र बीमा कम्पनीहरूले नै यस सम्बन्धमा ध्यान दिएका छन् । अनुसन्धानविनाको बीमा बजारमा गुणस्तरको परिकल्पना नै गर्न सकिँदैन । विश्वविद्यालयहरू र बीमा कम्पनीबीचको सहकार्यबाट विशिष्ट खालको अनुसन्धान हुन सक्छ र यसका लागि सम्बद्ध पक्षहरू इच्छुक हुनुपर्छ । बीमा व्यवसायका प्रवृत्ति र चिन्तनहरूलाई सैद्धान्तिकीकरण  गर्ने काम विद्वान्हरूको हो भने त्यसबाट पुन: सिक्ने बजारले हो । जबसम्म बीमा बजारले विश्वविद्यालयबाट सिक्न आनाकानी गर्छ र जबसम्म बीमा बजारबारे विश्वविद्यालयले अध्ययन, अनुसन्धान गर्दैन तबसम्म एक प्रभावकारी बीमा बजारको परिकल्पना गर्नु बेकार हुन्छ । सारमा भन्नुपर्दा, बीमा निकै जटिल विषय हो । विषयको जटिलतालाई बुझ्न नसक्दा बीमा बजारआज पनि संकटमा छ । किनकि धेरै विषय अनिर्णीत छन् । बीमासम्बन्धी हरेक निकाय  र क्षेत्रमा सबल नेतृत्वको आवश्यकता छ, सुस्पष्ट नीतिको खाँचो छ । सरकार र राज्यका अन्य निकायले बीमाको आवश्यकता र महत्त्व बुझ्नु जरुरी छ । अन्तरराष्ट्रिय क्षेत्रबाट सिक्नु आवश्यक छ । नेपाल जस्तो देशमा बीमाको बजार विस्तार हुन नसक्दा जोखिम व्यवस्थापन राम्रोसँग हुन सकेको छैन । मानिसलाई शिक्षित बनाउन शैक्षिक संस्थाको आवश्यकता पर्छ । जबसम्म पर्याप्त ऐन कानून बन्दैन, बीमालाई उच्च शिक्षा र आम जनताको जनजीविकामा जोडिँदैन, तबसम्म बीमाको बारेमा जति लेखे पनि बोले पनि यस क्षेत्रको खास विकास हुन सक्दैन । शिक्षा, स्वास्थ्य जस्तै मानिसलाई जीवनभरका लागि सुरक्षा आवश्यक छ, जो बीमाबाट मात्रै सम्भव छ ।

इन्जिनीयरिङ बीमाशुल्क : न्यूनतम दर घटाउने सहमति

काठमाडौं । निर्माण र ऊर्जा व्यवसायीको आन्दोलनपछि बीमा समितिले इन्जिनीयरिङ (नन–ट्यारिफ) बीमाको न्यूनतम बीमाशुल्क दर पुनरवलोकन गर्ने भएको छ । यसका लागि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक अध्ययन कार्यदलसमेत गठन गरिएको छ । उक्त कार्यदलबाट आवश्यक अध्ययन गराएर इन्जिनीयरिङ बीमाको न्यूनतम बीमाशुल्क दर घटाउने प्रक्रियामा समिति अघि बढेको हो ।  कार्यदलमा नेपाल निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल बीमक संघ र पुनर्बीमा कम्पनी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरीद अनुगमन कार्यालय, सर्भेयर एशोसिएशनका प्रतिनिधिसमेत रहनेछन् । समितिले सोमवार नै ती निकायलाई प्रतिनिधि पठाउन पत्राचार गरिसकेको छ । मंगलवार ती निकायले प्रतिनिधि पठाएमा बुधवारदेखि नै कार्यदलले काम शुरू गर्नेछ । कार्यदललाई ७ कार्यदिनको समय दिइएको छ । कार्यदलले इन्जिनीयरिङ बीमाको बीमाशुल्क दर संशोधन गर्ने विषयमा अध्ययन गर्नेछ । अध्ययनको आधारमा कार्यदलले समितिलाई सुझावसहितको प्रतिवेदन बुझाउनेछ । उक्त प्रतिवेदनको आधारमा इन्जिनीयरिङ बीमाको न्यूनतम दर घटाउने बताइएको छ । समितिका कार्यकारी निर्देशक पौडेलले नन–ट्यारिफ बीमाको न्यूनतम दर घटाउने बताए । ‘यसको न्यूनतम दर घटाउन एकदमै चुनौतीपूर्ण छ । तर, लक्षित क्षेत्रका व्यवसायीले यसमा विरोध गर्दै आउनुभएको छ,’ उनले भने, ‘यसरी सधैंभर विरोध गरेर मात्र बस्ने कुरा आएन । त्यसपछि यस विषयलाई आवश्यक अध्ययन गरेर टुंग्याउन खोजेका हौं । अध्ययनपश्चात् सम्भवतः उक्त दर कम गर्न सकिन्छ ।’ यस्तै, अध्ययन अवधिभरका लागि उक्त बीमासम्बन्धी निर्देशिका स्थगित गरिएको छ । त्यसअनुसार ७ दिनसम्म उक्त निर्देशिकाअन्तर्गत गरिने बीमा व्यवसाय पनि रोकिने समितिको भनाइ छ ।  पहिला निर्जीवन बीमा कम्पनीहरूले व्यवसाय ल्याउने होडमा सस्तो दरमा जलविद्युत् आयोजनालगायत पूर्वाधारको बीमा गर्ने गरेका थिए । सस्तोदरमा बीमा गरेपछि विदेशी पुनर्बीमा कम्पनीले सम्बद्ध आयोजनाको पुनर्बीमा नै गर्न छाडिसकेका थिए । फलस्वरूप दाबी भुक्तानीमा पनि चुनौती खडा हुन थालेको थियो । त्यसपछि बीमा समितिले गत असोज ६ गते निर्देशिका नै जारी गरेर त्यस्तो बीमाको न्यूनतम दर तोकेको थियो ।  त्यसपछि जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनी र  निर्माण व्यवसायीले विरोध गर्न थालेका थिए । तर, बीमा कम्पनी र समितिले त्यसमा चासो दिएका थिएनन् । त्यसपछि निर्माण र ऊर्जा व्यवसायी गत आइतवारदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरूले ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयसमेत घेराउ गरेका थिए । त्यसपछि समितिले सोमवार छलफल गरेर सहमति गरेको हो । यससँगै निर्माण तथा ऊर्जा व्यवसायीको आन्दोलन स्थगित भएको छ । अहिले बीमादर घटाउँदा आयोजनाको पुनर्बीमा नहुने समस्या फेरि दोहोरिन सक्ने सम्भावना पनि छ । तर, त्यसका लागि पुनर्बीमा र बीमा कम्पनीहरूले चासो लिनुपर्ने समितिका अधिकारी बताउँछन् ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कार्यदलले बुझाउने प्रतिवेदनको आधारमा यस विषयमा उपयुक्त निर्णय गरिने बताए । पुनर्बीमामा पर्न सक्ने असर, अन्तरराष्ट्रिय अभ्यासलगायत पक्षलाई समेटेर यस विषयमा निर्णय गरिने उनको भनाइ छ ।  ‘राष्ट्रिय सम्पत्तिको अन्तरराष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बीमा होस्, केही भएमा तुरुन्तै बीमा दाबी भुक्तानी पाइयोस् र इन्जिनीयरिङ बीमा गर्दा कार्टेलिङ हुन नपाओस् भन्ने नै समितिको चासो हो,’ उनले भने, ‘यद्यपि, इन्जिनीयरिङ बीमादर निर्देशिकाका सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार छ ।’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले यससम्बन्धी प्रचलित बीमादर खारेज नै गर्नुपर्ने बताए । ‘हाम्रो पटकपटकको विरोध र आन्दोलनपछि बीमा समिति बल्ल वार्तामा आएको छ र यस सम्बन्धमा अध्ययन गर्न कमिटी पनि बनाएको छ । त्यो सकारात्मक पक्ष हो,’ उनले भने, ‘बीमा समितिले प्रचलित दरमा केही संशोधन गर्ने प्रतिबद्धता त गरेको छ तर हामीलाई त्यतिले मात्र पुग्दैन । प्रचलित निर्देशिका नै खारेज गरेर पूर्णरूपमा नयाँ निर्देशिका ल्याउनुपर्छ । कार्यदलमा हाम्रो प्रतिनिधिले सोहीअनुरूप काम गर्नेछन् ।’  कार्यदलका लागि इप्पानले छुट्टै रणनीति बनाएर दिने उनको भनाइ छ । ‘कार्यदलमा हामीले के कस्तो माग राख्ने भनेर अध्ययन गर्दैछौं । सम्भवतः १/२ दिनमा नै त्यसले पूर्णता पाउनेछ,’ उनले भने ।

हिमालय रिले पायो सञ्चालन स्वीकृति

काठमाडौं । निजीक्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनका लागि बीमा समितिबाट अन्तिम स्वीकृृति पाएको छ । बीमा समितिले गत बिहीवार कम्पनीलाई व्यवसाय अर्थात् कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो । समितिले गत जेठ १७ गते हिमालयन रिलाई स्थापनाका लागि आशयपत्र अर्थात् सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि कम्पनीले तोकिएको आवश्यक प्रक्रिया पूरा गरेपछि कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिइएको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन रिलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको बताए । समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भयो भने संस्थापकतर्फको रू. ७ अर्बको लगानी पनि बैंकमा जम्मा गर्ने काम भयो । यसबाहेक बालुवाटारमा कम्पनीको कार्यालय स्थापना गर्ने, कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गर्नेलगायत आवश्यक प्रक्रिया पूरा भएपछि समितिले कम्पनीलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो । बीमा समितिबाट अन्तिम स्वीकृति पाएसँगै कम्पनी पक्ष कारोबार सञ्चालनका लागि तयारीमा जुटेको छ । चालू आर्थिक वर्षभित्र अर्थात् असार मसान्तभित्र नै कारोबार सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताए । ‘पुनर्बीमा व्यवसाय शुरू गर्न आवश्यक तयारी पूरा भइसकेको छ । असार महीनाभित्र नै कम्पनी सञ्चालनमा ल्याउनेछौं,’ अध्यक्ष गोल्छाले भने । कम्पनीले कारोबार शुरू गर्ने उल्लेख गर्दै बीमा समितिलाई आइतवार पत्राचार पनि गरिसकेको छ । सोही पत्रअनुसार बीमा समिति आज (सोमवार) कम्पनीको बालुवाटारस्थित प्रधान कार्यालयमा निरीक्षण गर्न जाने तयारीमा छ । निरीक्षणको क्रममा कम्पनीले नीतिगत रूपमा तोकिएको केही शर्तहरू पूरा भएको देखिनुपर्ने छ । त्यसपछि कम्पनी सञ्चालनमा आउन सक्ने समितिका एक उच्च अधिकारीले बताए । निरीक्षणका क्रममा कम्पनीले कार्यालयको आकार, कम्प्युटर सप्mटवेयर, कर्मचारीलगायत बिषयमा तोकिएको शर्त पूरा गरेको देखिनुपर्ने छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतलगायत उच्च तहका ३ जना जनशक्ति भने विदेश (भारत) बाट ल्याउने तयारी गरेको छ । त्यसरी विदेशबाट ल्याइने कर्मचारीले श्रम विभागबाट श्रमस्वीकृति पनि लिनुपर्ने हुन्छ । त्यसका लागि कम्पनीले आवश्यक सहजीकरण गर्न तथा नियुक्तिका लागि स्वीकृति दिन समितिमा आवेदन पनि दिइसकेको छ । समितिको एक स्रोतका अनुसार कम्पनीले प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा विदेशी जनशक्ति नियुक्तिका लागि स्वीकृति माग गर्दै आवेदन दिइसकेको छ । पुनर्बीमा अन्तरराष्ट्रिय रूपमा नै गरिने व्यवसाय हो । त्यसमाथि हिमालयन रिलाई व्यवसाय विस्तारका लागि विदेशी बजारमा जानैपर्ने बाध्यता छ । त्यसैले पनि विदेश बजारमा व्यवसाय विस्तार गर्न सहज हुने उद्देश्यअनुरूप विदेशबाट नै उच्च पदस्थ कर्मचारी ल्याउन लागिएको कम्पनी पक्षको भनाइ छ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । समितिको एक अध्ययनले थप एउटा पुनर्बीमा कम्पनी पनि आवश्यक देखाएको थियो । त्यसपछि समितिले गत वैशाखमा निजीक्षेत्रको स्वामित्व हुनेगरी नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका थिए । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ । निजीक्षेत्रको स्वामित्वमा लगानी भएको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्बको रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारणमा शेयर (आईपीओ) जारी गरेर जुटाइने कम्पनीको भनाइ छ । कम्पनीको मुख्य शेयर लगानीकर्ता जगदम्बा (शंकर) ग्रूप रहेको छ । कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी शाहिल अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ ।

बीमा भुक्तानी समयमै हुँदा सबैलाई फाइदा हुन्छ

नेपालमा बीमाको इतिहास साढे सात दशकभन्दा लामो छ । यसको उद्भव बैङ्किङ क्षेत्रसँगै राणाकालमा भएको हो । वि. सं. १९९४ मा नेपाल बैङ्क स्थापना भएपछि त्यसकै भगिनी कम्पनीका रूपमा २००४ सालमा संस्थागत अवधारणा आएको यस क्षेत्रले हाल देशका ७७ वटै जिल्ला ढाकेको छ । अहिले निर्जीवन बीमा २०, जीवन बीमा १९ र पुनर्बीमा कम्पनी एउटा सञ्चालनमा छन् । ती सबैको नियामक निकाय बीमा समिति छ जुन २०७८ जेठ १ देखि ५३औँ वर्षमा प्रवेश गर्दै छ । तीन महिनाअघि समितिको नेतृत्वमा आउनुभएका सूर्यप्रसाद सिलवाल बीमा क्षेत्र बल्ल २७ प्रतिशत जनसङ्ख्यामा पुगेको बताउनुहुन्छ । बैङ्कको पहुँच ८० प्रतिशतमा पुग्दा पनि बीमा कम्पनी भने अझै सहर केन्द्रित भएका कारण यस्तो भएको महसुस अध्यक्ष सिलवालले गर्नुभएको छ । त्यसैले बीमा साक्षरता बढाउनुपर्ने आवश्यकता उहाँले देख्नुभएको छ । प्रस्तुत छ, बीमा समितिको वार्षिकोत्सवको अवसर पारेर गोरखापत्रका पत्रकार भेषराज बेल्बासेले अध्यक्ष सिलवालसँग बीमा क्षेत्रका समस्या र सम्भावनाबारे गरेको कुराकानी :