वैशाख ३, चितवन । कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावित भएपनि आन्तरिक राजस्व कार्यालय, भरतपुरको असुलीमा खासै प्रभाव परेको छैन । आर्थिक गतिविधिले गतिलिएसंँगै राजस्व असुलीमा पनि वृद्धि हुँदै गएको छ ।
कार्यालयले गत फागुन महीनामा ४ दशमलव २६ प्रतिशतले असुली वृद्धि गरेकोमा चैत महीनामा आएर २३ दशमलव ४९ प्रतिशतभन्दा बढीले राजस्व असुली गरेको छ ।
उक्त कार्यालयका अनुसार गत फागुन महीनामा कार्यालयलाई राजस्व विभागले सबै शिर्षकमा गरी १ अर्ब ३९ करोड २६ लाख ५८ हजार रुपैयाँ लक्ष्य दिएकोमा १ अर्ब ४५ करोड २० लाख ४६ हजार हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चैत महीनामा पनि राजस्व असुलीमा कार्यालयको उल्लेख्य प्रगति देखिएको छ । जसअनुसार चैत महीनामा १ अर्ब ६३ करोड ६६ लाख ४८ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा २ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ राजस्व असुली भएको हो ।
सबैभन्दा बढी राजस्व असुली अन्तःशुल्कबाट
कार्यालयको राजस्व असुली अन्य शिर्षकको तुलनामा अन्तःशुल्कबाट नै बढी राजस्व असुली हुने गरेको छ । उक्त कार्यालयको करसंकलन क्षेत्रभित्र बढी मदिराजन्य उद्योगहरु र यसको कारोबार बढी रहेकोले उक्त शिर्षकबाट बढी राजस्व असुली हुँदै आएको हो ।
जसअनुसार कार्यालयले चैत महीनामा उक्त शिर्षकबाट मात्रै १ अर्ब ४२ करोड ३५ लाख ६८ हजार रुपैयाँ राजस्व असुल गरेको छ । विभागले कार्यालयलाई यस महीनामा १ अर्ब २१ करोड १३ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । आयकर शिर्षकमा २७ करोड ६२ लाख ४ हजार लक्ष्य दिईएकोमा ३३ करोड ३४ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएकोे छ ।
यस्तै मुल्य अभिवृद्धि करमा पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । चैत महीनामा यस शिर्षकमा १४ करोड २७ लाख ५० हजार रुपैयाँ लक्ष्य दिईएकोमा २५ करोड ६९ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ब्याजकर शिर्षकमा १४ लाख ४६ हजार रुपैयाँ असुली गर्ने लक्ष्य दिईएकोमा २६ लाख ८ हजार रुपैयाँ राजस्व असुली भएको छ ।
तर अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न भने सकेको छैन । जसअनुसार बहालकर शिर्षक अन्तर्गत कार्यालयलाई यस महीनामा ४७ लाख १६ हजार लक्ष्य दिईएकोमा ४५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
शिक्षा सेवा शुल्क शिर्षकमा २ लाख ३२ हजार लक्ष्य दिईएकोमा ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने स्वास्थ्य सेवा करमा कुनै लक्ष्य दिइएको छैन र यस शिर्षकमा राजस्व असुली शून्य छ ।
कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले चैत महीनामा अधिकांश करदाताको दोस्रो चौमासिक कर तिनुपर्ने भएकोले अन्य महीनाको तुलनामा यस महीनामा बढी राजस्व संकलन हुने गरेको बताए ।
कार्यालयलाई चालू आर्थिक वर्षको वार्षिक लक्ष्य १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन दिईएकोमा चैत महीनासम्म १२ अर्ब १४ करोड ६० लाख ९० हजार रुपैयाँ संकलन भएको छ ।