मंसिर २, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष ०७७/७८को कात्तिक महीनामा सबै शीर्षक गरी १ अर्ब ६६ करोड ९६ लाख ८८ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
विभागले उक्त महीनामा १ अर्ब ३६ करोड ९१ लाख ३ हजार रुपौयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा २४ दशमलव ७० प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।
कार्यालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी अन्तशुल्क शीर्षकमा राजस्व असुली गरेको छ भने अन्य दुई शीर्षक शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा रकम कुनै रकम असुली गरेको छैन ।
कार्यालयका कर अधिकृत शुशील लम्सालले विदेश जाने विद्यार्थीबाट मुद्रा सटही मार्फत कर असुली नभएको र स्वास्थ्य सेवामा कर छूट भएकोले कर असुली शून्य भएको जानकारी दिए ।
कात्तिक महीनामा विभागले शिक्षा सेवा करमा ४ लाख ५४ हजार र स्वास्थ्य सेवा करमा २ लाख ३६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो ।
सबैभन्दा बढी कर असुली अन्तशुल्कबाट
कार्यालयको सबैभन्दा बढी आम्दानी अन्तशुल्क कर शीर्षकबाट हुँदै आएको छ । जसअनुसार कात्तिक महीनामा यो शीर्षकबाट १ अर्ब ३३ करोड ९१ लाख २० हजार रुपैयाँ संकलन गरेको छ ।
यो शीर्षकमा उक्त महीनामा विभागले १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रुपैयाँ लक्ष्य दिएको थियो । यस्तै आयकर शीर्षकबाट लक्ष्यभन्दा दोब्बर राजस्व असुली भएको छ । उक्त महीनामा ६ करोड ५१ लाख ४९ हजार लक्ष्य दिइएकोमा १६ करोड १६ लाख रुपैयाँ असुली गर्न सफल भएको हो ।
तर अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेटाउन सकेको छैन । जसअनुसार बहाल करमा २७ लाख ९६ हजार लक्ष्य दिइएकोमा १९ लाख ६३ हजार, व्याजकरमा ४ करोड ९१ लाख ५७ हजार लक्ष्य दिईएकोमा १ करोड ४४ लाख १४ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करमा १८ करोड ५९ लाख २५ हजार लक्ष्य दिइएकोमा १५ करोड २५ लाख ९१ हजार रुपैयाँ असुली भएका्े छ ।
कर अधिकृत लम्सालले चितवनको राजस्व संकलनको स्रोत मदिरा तथा सूर्तीजन्य पदार्थ रहेकोले अन्तशुल्कबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको बताए । ‘उक्त महीनामा चाडबाड र समयपनि अनुकुल भयो, मदिराजन्य पदार्थको उत्पादन र विक्री वितरण पनि बढी भयो ।’ उनले भने ।
उनका अनुसार विशेषगरी आयकर शीर्षकमा पुस, चैत्र र असारमा बढी कर संकलन हुने र अन्तशल्क लगायत अन्य शीर्षकका करको हकमा जेठ, असार र साउन तुलनात्मक रुपमा बढी हुनाले कर संकलनमा उत्तारचढाव आउनेछ ।
विभागले यस वर्षमा कुल २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँको लक्ष्य दिएको छ । चालू आर्थिक बर्षको ४ महीनासम्म कार्यालयलाई ५ अर्ब २० करोड ९७ लाख १३ हजार लक्ष्य दिएकोमा कात्तिकसम्म ६ अर्ब ४९ करोड ६५ लाख २५ हजार रुपैयाँ राजस्व असुली गरेको हो ।