चितवन। कोभिडपछि तँगिन थालेको उद्योग व्यवसाय पछिल्लो समय पुन: शिथिल बन्दा यसको असर राजस्व संकलनमा समेत परेको छ । नयाँ व्यवसाय नथपिनु, भएका व्यवसाय टाट पल्टिँदै जानु, देशमा उत्पादन तथा उपभोग कम हुनु र क्रयशक्तिमा ह्रास आउँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो । आर्थिक सुस्तीका कारण चितवनमा उद्योग व्यवसाय बन्द हुन थालेका छन् । भएका पनि कम क्षमतामा चलेका छन् । यस्तै बैंकको ब्याजदर नघटेको र उत्पादित वस्तु समेत विक्री नभएकाले राजस्व असुलीमा ह्रास आएको आन्तरिक राजस्व कार्यालय, भरतपुरले बताएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउन महीनामा लक्ष्यभन्दा ३७ प्रतिशतले कम कर असुली भएको थियो । राजस्व असुली भदौमा झनै खस्किएको छ । गत महीना लक्ष्यभन्दा ४६ प्रतिशत कम राजस्व उठेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार गत साउनमा २ अर्ब २ करोड ७५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब २७ करोड ५३ लाख रुपैयाँ असुल भएको थियो । यस्तै भदौमा २ अर्ब ४ करोड ८ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा १ अर्ब ११ करोड १६ लाख रुपैयाँ मात्र उठेको थियो ।
साउनमा कार्यालयले सबै शीर्षकमा गरी ६२ दशमलव ९ प्रतिशत राजस्व असुली गरेको थियो । यस्तै भदौमा ५४ दशमलव ४७ प्रतिशत मात्र राजस्व असुली गरेको छ । कार्यालयले आयकर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्त:शुल्क, घर बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकमा कर संकलन गर्दै आएको छ । यीमध्ये भदौमा आयकर शीर्षकमा लक्ष्यभन्दा बढी कर असुली भएको छ भने अन्य कुनै शीर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन ।
कार्यालयका अनुसार भदौ महीनामा आयकर शीर्षकमा १८९ दशमलव शून्य ९ प्रतिशत राजस्व असुली गरेको छ । यस्तै ब्याजकरमा ३१ दशमलव ४१ प्रतिशत, घर बहाल करमा ६५ दशमलव ६४ प्रतिशत, मूल्य अभिवृद्धि करमा ५७ दशमलब ९२ प्रतिशत, अन्त:शुल्क शीर्षकमा ४७ दशमलव ३५ प्रतिशत र स्वास्थ्य सेवा करमा ५८ दशमलव १५ प्रतिशत कर असुली गरेको छ भने शिक्षा सेवा करमा कुनै कर असुली भएको छैन ।
कार्यालयका कर अधिकृत विष्णुबहादुर रावतले राजस्व असुलीको अनुपात हरेक महीना क्रमश: घट्दै गएको बताए । ‘अहिले नयाँ व्यवसाय गर्ने घटेका छन्, पुराना कम्पनी नवीकरण गर्ने पनि कम छन्,’ उनले भने, ‘मुख्य त आर्थिक गतिविधि नै सुस्त छ ।’
चितवनको राजस्व असुली अन्त:शुल्कमा निर्भर हुने भएकाले पछिल्लो समय मदिराजन्य वस्तुको विक्रीमा ठूलो कमी आउँदा सो शीर्षकको राजस्व असुली समेत प्रभावित भएको उनको भनाइ छ । ‘अधिकांश मानिसलाई दैनिक खर्च चलाउनै समस्या छ । व्यापार छैन, उपभोग पनि छैन,’ रावतले भने । कतिपय उद्योग व्यवसाय धराशयी भएको र व्यवसायी विस्थापित भई अन्य पेशा तथा विकल्प रोजेकाले पनि यसको असर राजस्व असुलीमा परेको उनले बताए । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा गरी १ हजार ३२७ ओटा नयाँ व्यवसाय दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो दुई महीनामा ९२३ ओटा नयाँ व्यवसाय मात्र दर्ता भएका छन् । यस्तै गत आर्थिक वर्षको पहिलो दुई महीनामा ५ हजार ३९१ ओटा व्यक्तिगत प्यान जारी भएकोमा यो चालू वर्षको सोही अवधिमा ५ हजार ९ ओटा जारी भएका छन् ।