जेठ १७, चितवन । चालू आर्थिक वर्ष २०७८/ ०७९को वैैशाख महीनामा आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा भन्दा ५ दशमलव शून्य ५ प्रतिशत राजस्व असुली गरेको छ ।
राजस्व विभागले कार्यालयलाई २ अर्ब २३ करोड ३८ लाख ६२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य दिएकोमा उक्त महीनामा २ अर्ब ३४ करोड ५९ लाख ३९ हजार राजस्व असुली गरेको हो ।
कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शिर्षकबाट कर असुली गर्दै आएको छ ।
ती शिर्षकमध्ये अन्तःशुल्क शिर्षकमा सबैभन्दा बढी कर असुली भएको छ भने शिक्षा सेवा करबाट सबैभन्दा कम राजस्व असुली भएको छ ।
जसअनुसार अन्तःशुल्क कर शिर्षकमा विभागले कार्यालयलाई १ अर्ब ८३ करोड ५५ लाख ७७ हजार रुपैयाँ लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९ करोड ४६ लाख ७२ हजार रुपैयाँ राजस्व असुली भएको छ भने शिक्षा सेवा करमा ४ लाख ८९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य दिएकोमा ११ हजार रुपैयाँ मात्र असुली भएको छ ।
अन्त : शुल्क र आयकर बाहेक अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार वैशाख महीनामा आयकर शिर्षकमा १० करोड १० लाख २८ हजार रुपैयाँ लक्ष्य दिएकोमा १० करोड ६१ लाख २८ हजार रुपैयाँ कर असुली भएको छ ।
यस्तै बहालकर शिर्षकमा ५० लाख ८० हजार रुपैयाँ लक्ष्य दिएकोमा १९ लाख ५० हजार रुपैयाँ, ब्याजकर शिर्षकमा ५ करोड ७२ लाख ९ हजार रुपैयाँ लक्ष्य दिएकोमा १ करोड १० लाख ३४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करमा २३ करोड ३९ लाख ६ हजार रुपैयाँ लक्ष्य दिएकोमा १३ करोड ४ लाख ६४ हजार रुपैयाँ र स्वास्थ्य सेवा शुल्क शिर्षकमा ५५ लाख ३ हजाररुपैयाँ लक्ष्य दिएकोमा १६ लाख ८० हजार रुपैयाँ असुली भएको छ ।
कार्यालयका कर अधिकृत सुशिल लम्सालले कार्यालयको मुख्य श्रोत अन्तःशुल्क भएकोले यो शिर्षकमा बढी कर असुल भएको बताए । उक्त महीनामा आयकर तिर्ने महीना नभएको र मूल्य अभिवृद्धि करको अग्रिम भुक्तानी ५० प्रतिशतबाट ३० प्रतिशत कायम गरिएकोले कम राजस्व असुली भएको उनले बताए ।
विभागले कार्यालयलाई चालू आवको वैशाखसम्ममा १७ अर्ब २६ करोड ८० लाख ६६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य दिएकोमा उक्त महीनासम्म १६ अर्ब ६४ करोड ७९ लाख राजस्व असुली गरेको छ । चालू आवमा विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ असुली लक्ष्य दिएको छ ।