चितवन । चितवनमा तोरीखेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालू आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो ।
कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार गत आवको तुलनामा यस वर्ष तोरीखेती गर्ने कृषकको संख्या समेत बढेको छ । ‘यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ,’ उनले भने, ‘यसले कृषकलाई आकर्षित गर्यो ।’ गहुँ लगाउने किसानहरू तोरीखेतीतर्फ आकर्षित भएकाले यसको क्षेत्रफल बढेको उनको भनाइ छ । छिटो उत्पादन लिने बाली भएकाले तोरीखेतीमा कृषक आकर्षित भएको उनले बताए । ‘तोरी खेती गरेपछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ,’ उनले भने ।
गतवर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन् । जंगली जनावरले खासै नोक्सान नपुर्याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएको उनले बताए । जिल्लाको माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी विगत तीन वर्षदेखि तोरीखेती गर्दै आएकी छिन् । त्यसअघि गहँु खेती गर्ने उनले जंगली जनावरका कारण दुःख पाएपछि माइतीको सल्लाह बमोजिम तोरी खेती शुरू गरेकी हुन् । ‘जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन शुरू गरेँ,’ उनले भनिन् । रासस