मंसिर १४, चितवन । चितवन जिल्लामा चालू आर्थिक वर्ष ०७८/०७९ मा गत आर्थिक वर्ष ०७७/०७८ को तुलनामा धान उत्पादनमा न्यून वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र, चितवनका अनुसार चालू आर्थिक वर्षमा ८२ हजार ९५५ मेट्रिक टन धान उत्पादन हुने भएको थियो भने गत आर्थिक वर्ष ०७७/०७८ मा चितवनमा ८२ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७६/०७७ मा ९४ हजार मेट्रिक धान उत्पादन भएको थियो ।
ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले यसवर्ष बेमौसमी वर्षाका कारण दाना लागेको र पाकेकोे धानमा १२ प्रतिशत धान क्षति हुँदा अपेक्षा अनुसार धान उत्पादनमा वृद्धि नभएको जानकारी दिए । ‘अहिले रोग किराको प्रकोप पनि कम थियो । उत्पादन र उत्पादकत्व पनि बढ्ने अपेक्षा थियो, प्रमुख पाण्डेले भने, तर बेमौसमी वर्षाले गर्दा कुल उत्पादनमा त्यति वृद्धि हुन सकेन ।’
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले गत वर्ष धानमा गवारो, फड्के, सिथ ब्लाईट लगायतका कारण १२ प्रतिशत उत्पादन घटेको र यस वर्ष पाकेको र काटेर सुकाईएको धानमा क्षति भएको कारण आशा गरेअनुसार उत्पादन हुन नसकेको बताए । ‘पोहोेर साल रोगले १२ प्रतिशत धान उत्पादनमा ह्रास आयो । अहिले बेमौसमी वर्षा र बाढीले १२ प्रतिशत धानमा क्षति भयो ।’ उनले भने ।
चितवनमा लगाइएको धानमा यस वर्ष बाढी र वर्षाले क्षति भएपनि कुल उत्पादनमा भने ह्रास नआएको सूचना अधिकारी पौडेलको भनाइ छ । उनका अनुसार धानको कुल उत्पादन अपेक्षित वृद्धि नभएपनि उत्पादकत्वमा भने वृद्धि भएको छ । जसअनुसार धान जोनमा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलब ५३ मेट्रिक टन रहेको छ भने, अन्य धानखेती योग्य जमीनको प्रतिहेक्टर ३ दशमलव ९ मेट्रिक टन उत्पादकत्व रहेको छ ।
चितवनमा धान जोन रत्ननगर नगरपालिका खैरहनी र राप्ती नगरपालिकाको पूर्व पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा पर्दछ । यहाँ ५ हजार ८२३ हेक्टर क्षेत्रफल धान जोन रहेको छ ।
चितवनमा २२ हजार हेक्टर हाराहारी वर्षे धान र ७ हजार ५०० हेक्टरमा चैते धान रोपाई गरिंँदै आएको छ । यहाँ सावित्री, साँवा मन्सुली, बहुगुणी र हर्दिनाथ–१ हाइब्रीड जातको धानको बीउ रोपिदैं आएको छ । यी मध्ये सबैभन्दा बढी उत्पादकत्व हर्दिनाथ –१ को रहेको छ ।