चौथो त्रैमासमा नेशनल हाइड्रोपावर २ करोड २१ लाख नोक्सानीमा

भदौ ६, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनी चौथो त्रैमासमा रू. २ करोड २१ लाख ८२ हजार नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १ करोड ४ लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो । विद्युत् विक्री आम्दानीमा कमी आएकाले नाफा प्रभावित भएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ५४ प्रतिशतले कमी आएको हो । अघिल्लो आवमा कम्पनीले विद्युत् विक्री बापत रू. ५ करोड ५७ लाख ८८ हजार आम्दानी गरेकोमा गत आवमा घटेर रू. २ करोड ५४ लाख १४ हजारमा सीमित भएको हो ।  गत आवको साउन र असार महीनामा इन्द्रावति र मेलम्ची नदीहरुमा आएको बाढीको कारणले आयोजनाबाट ५२ दिनसम्म विद्युत् उत्पादन हुन नसेकाले विद्युत् विक्री आम्दानीमा कमी आएको कम्पनीले जानकारी गराएको छ ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख रहेको छ । जगेडा कोष भने कम्पनीको रू. ३५ करोड ५१ लाख ५६ हजार ऋणात्मक रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी पनि रू. शून्य दशमलव २१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३७ रहेको हो ।                                                                    स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण 

सम्बन्धित सामग्री

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, ३ अर्ब २ करोड बराबरको शेयर खरीदविक्री

फागुन ४, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १९ दशमलव ८४ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २७३४ दशमलव ४४ विन्दुमा झरेको हो ।  यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर ३९ हजार ६६८ पटकमा रू. ३ अर्ब २ करोड  ६३ लाख ३० हजार ७८४ दशमलव १४  मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ४४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३५५ पुगेको छ । त्यसैगरी, दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ३ दशमलव २३ प्रतिशत वृद्धि भएर रू. ६४० पुगेको छ  ।  बुधवार सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ६९ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । शेयरमूल्य घट्ने दोस्रोमा मैलुङखोला जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ५ प्रतिशत घटेर रू. ५७० मा झरेको छ ।  त्यसैगरी, बुधवार सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ  । कम्पनीको रू. २१ करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२३ कायम भएको छ । त्यसैगरी, दोस्रोमा नेशनल हाइड्रोपावर कम्पनीको रू. १७ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक शून्य दशलमव ४४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशलमव १४ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ३ प्रतिशत, व्यापार समूहको १ दशमलव ४७ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव शून्य ८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ८४ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव १८ प्रतिशत, वित्त समूहको १ दशमलव ८१ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३६ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ७७ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ४५ प्रतिशत लगानी समूहको परिसूचक १ दशमलव ६८ प्रतिशतका दरले घटेको हो ।  बुधवार राजनीतिक प्रभावले पनि शेयर बजारलाई असर पारेको जस्तो देखिएको छ । सोही कारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । तर यस्तो प्रभाव भने अल्पकालिन रुपमा मात्र देखिने लगानीकर्ताहरु बताउँछन् ।  केहि दिनयता एमसीसी परियोजनाको कारण नेपालको राजनीति अस्थिर बनेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच शेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ ।

यस वर्ष करीब २५ गुणाले बढ्यो नेशनल हाइड्रोको नाफा

मंसिर १९,काठमाडौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा २४ दशमलव ७२ गुणाले कम्पनीको खुुद नाफामा वृद्धि भएको छ । गत वर्ष रू. २ करोड ३७ लाख ६५ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ७४ लाख ४३ हजार यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम विद्युत् विक्री गरेको कम्पनीको राइट ब्याक प्रोभिजनका कारण नाफामा उल्लेख्य वृद्धि भएको हो ।  राइट ब्याक प्रोभिजन अघि रू. २ करोड ९८ लाख ३ हजार नोक्सानीमा रहेको कम्पनीले रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरेकाले खुद नाफा गर्न सफल भएको हो । कम्पनीको विद्युत विक्री आम्दानी गत वर्षको भन्दा घटेको छ । गत वर्ष विद्युत विक्रीबाट रू. ६ करोड ६४ लाख १४ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष साढे ७९ प्रतिशत कम रू. १ करोड ३५ लाख ७६ हजार मात्र विद्युुत् विक्रीबाट आम्दानी गरेको हो ।  विद्युत् विक्री आम्दानीमा कमि र व्यवस्थापकीय खर्च वृद्धि भएसँगै कम्पनी रू. १ करोड ४७ लाख ४१ हजार सञ्चालन घाटामा रहेको थियो । हाल कम्पनीको चुक्तापूूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार छ । खुद नाफामा उल्लेख्य वृद्धि भएसँगै गत वर्षसम्म रू. ३८ ककरोड  १० लाख ६८ हजार ऋणात्मक रहेको जगेडा कोष रकम ऋणात्मक अवस्थादेखि सुधारिएर रू. २३ करोड २२ लाख ३८ हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ७६ छ ।   सरकारले कम्पनीलाई ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माणका लागि कात्तिक २८ गते अनुमति दिइसकेको छ । बोलकबोल माध्यमबाट अनुमति पत्र प्रदान गर्ने नीति लिएर गराइएकोे प्रतिस्पर्धामा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएको थियो । उक्त आयोजनामा गरिएको लगानीमध्ये रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरिएको जानकारीसमेत कम्पनीले दिएको छ । यो पनि हेर्नुस् : नेशनल हाइड्रोले पायो तल्लो इन्द्रावतीको सर्भेे लाइसेन्स चौथो त्रैमासमा नेशनल हाइड्रोपावर २ करोड २१ लाख नोक्सानीमा

१.७६ % ले घट्यो नेप्से परिसूचक, २० ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट

भदौ ८, काठमाडौं । दुई दिन सार्वजनिक बिदापछि खुलेको नेप्से मंगलवार १ दशमलव ७६ प्रतिशत घटेको छ ।  यो दिन गत बिहीवारको तुलनामा नेप्से परिसूचक ५६ दशमलव शून्य ३ अंकले घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा झरेको हो । ३ हजार १८६ दशमलव ४७ विन्दुदेखि खुलेको मंगलवारको बजार निरन्तर घटेर बन्द भएको हो । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ प्रतिशत घटेको छ । १२ दशमलव ८१ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ५७७ दशमलव ६६ विन्दुमा झरेको हो । दोहोरो उच्च अंकले घटेको बजारमा रू. १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२५ ओटा कम्पनीको १ लाख ५६ हजार ९१३ पटकको व्यापारमा भएको हो । यस दिन अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ७५ करोड ४३ लाख ३३ हजार बराबरको ११ लाख २१ हजार २११ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले घटेर रू. ६७० कायम भएको छ । मंगलवार वित्त र निर्जीवन बीमा समूह बाहेकका सबै समूहगत परिसूचक घटेका छन् । वित्त समूहको १ दशमलव ४७ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ७६ प्रतिशत परिसूचक बढेको छ । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६ दशमलव २१ प्रतिशतले घटेको छ । जलविद्युतसँगै लगानी समूहको ४ दशमलव ४३ प्रतिशत, विकास बैंकको ३ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ११ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ६२ प्रतिशत, अन्यको १ दशमलव ४४ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ४७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ । यस दिन आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीद चाप रहेको थियो । दिउँसो २ बजेर ५९ मिनेटसम्मको कारोबार अवधिसम्म आइसीएफसी फाइनान्सको १४ लाख ९६ हजार ७५८ कित्ता शेयर खरीद माग थियो । सर्वाधिक खरीद माग रहेको उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२८ दशमलव २० ले बढेर अन्तिम मूल्य रू. १ हजार ४१० दशमलव २० पुगेको छ । निरन्तर उच्च दरमा मूल्य बढ्दै आएको जीवन विकास लघुवित्तको शेयरमूल्य पनि बुधवार १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्तको प्रतिकित्ता रू. ३९० दशमलव ६० ले बढेर अन्तिम मूल्य रू. ४ हजार २९६ दशमलव ७० कायम भएको हो ।  यस दिन २० कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । नेशनल हाइड्रोपावर, एचआईडिसिएल, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, नेपाल हाइड्रो डेभलोपर, कालिका पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर , शिवश्री हाइड्रोपाव र रू रू जलविद्युतको परियोजनाको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९ दशमलव ९९ प्रतिशत, लिवर्टी ईनजीको ९ दशमलव ९२ प्रतिशत, माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ८६ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ५१ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव शून्य ७ प्रतिशत शेयरमूल्य घटेको छ ।

साताको शेयर बजार : करीब ६८ अर्बको कारोबार, कुल बजारपूँजीकरण ४० खर्ब नजिक

जेठ २२, काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक भएपछिको पहिलो साता शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । बजारका विषयमा उल्लेखित धेरै कार्यक्रम नभएपनि वितरणमुखी बजेटलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएको साताको कारोबारले प्रष्ट पारेको हो । हुनत यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई दुई प्रकारमा विभाजन गरेको छ । यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा छुट्टाछुट्टै पूँजीगत लाभकरको व्यवस्था गरी वर्गिकरण गरेको हो ।  यसअघि व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत मात्र पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताहरुले अब एक वर्षभन्दा कम अवधिभित्र कारोबार गरेमा ७ दशमलव ५ प्रतिशत र सो अवधिभन्दा बढीमा कारोबार गरेमा ५ प्रतिशत लाभकर तिर्नुपर्ने भएको हो । अल्कालिक लगानीकर्ताका लागि २ दशमलव ५ प्रतिशत विन्दु लाभकर यो वर्ष सरकारले बढाएको हो ।  लाभकर वृद्धिको विषयलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमै हेरेको पाइयो । पछिल्लो समय निरन्तर गति लिएको बजारबाट फाइदा कमाइरहेका लगानीकर्ताहरुले दीर्घकालिन लगानीलाई जोड दिने खालको लाभकरको व्यवस्थाले बजारलाई सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन् । कतिपय लगानीकर्ताले भने व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत लाभकर नै कायम गरी दीर्घकालिन लगानीको लाभकरमा छूटको व्यवस्था गर्न समेत माग गरेका छन् । जेठ १५ गतेको बजेट बक्तव्य पश्चातको पहिलो कारोबार दिन शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार भएको थियो । यो साता नेप्से परिसूचकले उच्च विन्दु कायम गर्दा कारोबार रकमको उच्चता भने साताको पहिलो दिन रहेको थियो । उक्त दिन रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो । गत साताको भन्दा यो साता कारोबार रकम रू. १७ अर्ब २ करोड २० लाख ३४ हजार बढी भएको छ । गत साता चार कारोबार दिनमा रू. ५० अर्ब ७७ करोड २५ लाख ७ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो । शेयर कारोबार कित्ता पनि यो साता बढेको छ । गत साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएकोमा यो साता १५ करोड ६ लाख १२ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता ३ करोड ३० लाख २९ हजार २५७ कित्ता बढी शेयर कारोबार भएको हो ।  यो साता पाँच कारोबार दिनमा तीन दिन नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक रकमको कारोबार रकमको हिस्सा ओगटेको थियो । पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने रू. ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ ।  यो साता कम्पनीको मूल्यमा पनि वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. १ हजार ७६५ कायम भएको छ । गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३५ ले वृद्धि भएको हो । यो साता पनि नेपालको शेयरबजारले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८१५ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८५६ दशमलव ७६ विन्दुमा पुगेको हो । सातामा नेप्से परिसूचक ४१ दशमलव ३७ अंक माथि उक्लिएको हो ।  साताको पहिलो दिन १२ दशमलव ५४ अंकले बढेको बजार दोस्रो दिन ४५ दशमलव २५ र तेस्रो दिन ११ दशमलव ६८ अंकले घटेको थियो । दुई दिनको निरन्तर करेक्सन पछि चौंथो दिन ५५ दशमलव ७६ अंक र पाँचौ दिन २९ दशमलव ६४ अंकले नेप्से परिसूचक बढेको हो । यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा ९ दशमलव ४१ प्रतिशत माथी पुगेको छ । गत साता ५०३ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१३ दशमलव ११ विन्दुमा पुगेको हो । बजारले उच्च विन्दु कायम गर्दा कुल बजार पूँजीकरण रू. ३९ खर्ब ६४ अर्ब २१ करोड २० लाख १५ हजार पुगेको हो । कुल बजार पूँजीकरण गत साताभन्दा यो साता रू. ५७ अर्ब ४४ करोड ४० लाख ११ हजारले यो साता वृद्धि भएको हो ।  गत साता यो रकम रू. ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४ हजार थियो । यो साता वित्त समूहको परिसूचक सबैभन्दा बढी ११ दशमलव ९८ प्रतिशतलले वृद्धि भएको छ । गत साता १ हजार ७३४ दशमलव ७४ विन्दुमा रहेको वित्त समूहको परिसूचक यो साता १ हजार ९४२ दशमलव ५१ विन्दुमा पुगेको हो ।  यो साताको वित्त समूहको परिसूचकले बैंकिङ समूहको परिसूचकलाई पनि पछि पारेको छ । बैंकिङ समूहको परिसूचक १ हजार ९०७ दशमलव ४६ विन्दुमा रहेको छ । गत साता १ हजार ८५७ दशमलव शून्य ५ विन्दुमा रहेको बैंकिङ समूह यो साता ३० दशमलव ४७ अंक अर्थात १ दशमलव ६२ प्रतिशत बढेको हो ।   १ हजार १०० विन्दुदेखि बढेको बजार हालसम्म आइपुग्दा १ हजार ७५६ विन्दुभन्दा माथी पुगिसकेको छ । यो क्रममा थोरै पूँजी भएका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएपनि वाणिज्य बैंकहरुको शेयरमूल्यमा भने खासै वृद्धि भएको छैन । यसै सातादेखि बैंकिङ समूहको शेयरमूल्य पनि विस्तारै उकालो लाग्न थालेको देखिन्छ ।  यो साता गत साताभन्दा व्यापारिक समूहको परिसूचक ४ दशमलव ७६ प्रतिशत, जलविद्युतको ४ दशमलव ४७ प्रतिशत, निर्जीवनको शून्य दशमलव ८३ प्रतिशत, जीवनको शून्य दशमलव ६९ प्रतिशत र लगानी समूहको शून्य दशमलव ८२ प्रतिशत परिसूचक घटेको छ । यो साता व्यापारिक र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् ।  गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                            स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

नेशनल हाइड्रोपावर : कम्पनी विश्लेषण (बुधवार, १९ जेठ २०७८)

यस कम्पनीले चैत २७ गते गणपुरक संख्या नपुगी स्थगित गरेको वार्षिक साधारण सभा अर्को सुचना सार्वजनिक नभएसम्मका लागि स्थगित गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भने चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. ६६ लाख ९२ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष रू. ३ करोड ५५ लाख ८ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ८४ लाख १४ हजार मात्र आम्दानी गरेको छ । आम्दानीमा कमि आएसँगै कम्पनीको सञ्चालन नाफा घटेको छ । गत वर्ष रू. २ करोड ११ लाख ६७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६८ करोड ६१ लाख मात्र यो नाफा गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव १५ रहेको छ । मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. २३४ कायम भएको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो मैनबत्तिले बजारमा कम्पनीको शेयरमूल्य वियरिस प्रवृत्तिमा प्रवेश गर्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६९ दशमलव ३३ विन्दुमा छ । यसले शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ८६ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. २०५ मा टेवा पाउने र महँगिएमा रू. २५४ मा प्रतिरोध पाउने देखिन्छ ।

बजेटपछिको पूँजीबजार उत्साहपूर्ण :  १७ अर्बभन्दा बढीको शेयर कारोबार

जेठ १६, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा उल्साहपूर्ण कारोबार भएको छ । यो दिन कारोबार रकमले फेरी पनि रेकर्ड ब्रेक गर्दै रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । उक्त रकम बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर यो दिन कारोबार भएको छ । २ हजार ८३६ दशमलव ११ विन्दुदेखि खुलेको बजार २ हजार ८५४ दशमलव ४६ विन्दुसम्म पुगेको थियो भने २ हजार ८१५ दशमलव १९ विन्दुसम्म झरेको थियो ।  अघिल्लो कारोबार दिनभन्दा १२ दशमलव ५४ अंक अर्थात् शून्य दशमलव ४५ प्रतिशत बढेर नेप्से परिसूचक यो दिन २ हजार ८२७ दशमलव ९३ विन्दुमा बन्द भएको छ ।  हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ४७ करोड ४० लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ८ दशमलव शून्य ९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १९ ले बढेर अन्तिम मूल्य रू. २५४ कायम भएको छ । दोहोरो अंकले परिसूचक बढेको यो दिन १७ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यी मध्य ज्योति विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको हो । ज्योति विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको छ ।  यो दिन आखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत, गुडवील फाइनान्सको ९ दशमलव ९५ प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव ९४ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र सोल्टी होटलको ९ दशमलव ९१ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ८९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत शेयरमूल्य बढेको छ ।  यसैगरी दिव्यश्वरी हाइड्रोको ९ दशमलव ८० प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७२ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ६९ प्रतिशत, सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ६८ प्रतिशत, सिन्ुधु विकास बैंकको ९ दशमलव ५४ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९ दशमलव ३४ प्रतिशत र रिलायन्स फाइनान्सको ९ दशमलव शून्य १ प्रतिशत शेयरमूल्य बढेको हो । आइतवारको बजारमा विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको शेयरमूल्य सर्वाधिक ७ दशमलव ३९ प्रतिशत बढेको हो ।  त्यस्तै यो दिन वित्त समूहको ५ दशमलव शून्य ८ प्रतिशत, होटल्स तथा पर्यटनको ४ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ८७ प्रतिशत, बैंकिङ्गको १ दशमलव शून्य ७ प्रतिशत, निर्जिवन बीमाको शून्य दशमलव ४३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत परिसूचक बढेको छ ।  यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशतले घट्दा लघुवित्तको १ दशमलव ३७ प्रतिशत, व्यापारिको शून्य दशमलव ७३ प्रतिशत, जलविद्युतको शून्य दशमलव शून्य २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ९ प्रतिशत, र लगानी समूहको शून्य दशमलव २७ प्रतिशत परिसूचक घटेको छ । सरकारले यस वर्ष पूँजीबजार विकास र विस्तारका लागि दिर्घकालिन लगानीलाई जोड दिर्दै पूँजीगत लाभकरको दर परिवर्तन गरेको छ । अल्पकालिन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो । यस अघि संस्थापक शेयरधनीहरुले १० प्रतिशत र सर्वसाधारण शेयरधनी अर्थात् व्यक्तिगत शेयरधनीहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।  अव भने एक वर्षभन्दा कम अवधिभित्र कारोबार गरी प्राप्त लाभबाट सरकारलाई ७ दशमलव ५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिसम्म शेयर कायम गरी कारोबार गर्दाको लाभबाट सरकारलाई ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।  यस व्यवस्थाले छोटो समयमै नाफा बुक गर्ने परिपाटीमा भने कमि आउने विश्वास लगानीकर्ताहरुले गरेका छन् ।

शेयरबजारमा ऐतिहासिक रेकर्ड

काठमाडौं । मंगलवार नेपालको शेयरबजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस अघि गत माघ २६ गते रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो । उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो । कोभिडका कारण अन्य व्यावसायिक क्षेत्रहरू प्रभावित भइरहँदा त्यस क्षेत्रका व्यवसायीहरूले शेयरबजारमा लगानी बढाएकाले कारोबार रकम बढेको ब्रोकरहरू बताउँछन् । विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारण अन्य देशमा पनि शेयरबजारले गति लिइरहेकाले विदेशमा बस्ने नेपालीहरूले पनि बजार बढ्ने अपेक्षासहित लगानी गरिरहेको ब्रोकरहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्नु र तरलता बढ्ने सम्भावना देखिनुले पनि पूँजी बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण जानकारहरूको रहेको छ । मंगलवार २१५ कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबार रकममा सर्वाधिक अंश नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको मंगलवार रू. ६७ करोड ९२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ५० ले बढेको छ । न्यूनतम रू. १ हजार ६४४ देखि अधिकतम रू. १ हजार ७०७ सम्म पुगेको कम्पनीको शेयरमूल्य अन्तिममा रू. १ हजार ६९३ कायम भएको छ । मंगलवारको बजारमा होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कोभिडको कारण वित्तीय अवस्था नोक्सानीमा रहेका होटेल समूहका कम्पनीको शेयरमूल्य पनि यो दिन सर्किट लेभलमा बढेको छ । कम मूल्य भएका शेयरप्रति लगानीकर्ता आकर्षित भएकाले लामो समयदेखि घटेको होटेल समूहका कम्पनीको शेयरमूल्य यो दिन सर्किट लेभलमा बढेको हो । मंगलवार होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव १५ प्रतिशत बढेको छ । यस दिन ओरियण्टल होटेल र सोल्टी होटलको शेयरमूल्य १० प्रतिशत र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ । यो दिन वित्तसमूहको ५ दशमलव ८६ प्रतिशत, जलविद्युत्को ३ दशमलव ४९ प्रतिशत र विकास बैंकको ३ दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ । यो दिन लगानी समूहको २ दशमलव ७८ प्रतिशत, व्यापारिकको १ दशमलव ८९ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । मंगलवार नेप्से परिसूचक १ दशमलव २६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ६८ अंक बढेर नेप्से परिसूचक २ हजार ७९३ दशमलव ८९ विन्दुमा पुगेको छ । ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ९४ प्रतिशत अर्थात ४ दशमलव ६४ अंक बढेर ४९७ दशमलव २२ विन्दुमा पुगेको छ । मंगलवार ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन सोल्टी र ओरियण्टल होटलसहित नेशनल हाइड्रोपावर, विशाल बजार कम्पनी, वेस्ट फाइनान्स, महिला लघुवित्त, समता घरेलु लघुवित्त, कालिका पावर, घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । यीबाहेक अन्य २३ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यिनमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् ।