जेठ १६, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा उल्साहपूर्ण कारोबार भएको छ ।
यो दिन कारोबार रकमले फेरी पनि रेकर्ड ब्रेक गर्दै रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । उक्त रकम बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर यो दिन कारोबार भएको छ ।
२ हजार ८३६ दशमलव ११ विन्दुदेखि खुलेको बजार २ हजार ८५४ दशमलव ४६ विन्दुसम्म पुगेको थियो भने २ हजार ८१५ दशमलव १९ विन्दुसम्म झरेको थियो ।
अघिल्लो कारोबार दिनभन्दा १२ दशमलव ५४ अंक अर्थात् शून्य दशमलव ४५ प्रतिशत बढेर नेप्से परिसूचक यो दिन २ हजार ८२७ दशमलव ९३ विन्दुमा बन्द भएको छ ।
हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ४७ करोड ४० लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ८ दशमलव शून्य ९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १९ ले बढेर अन्तिम मूल्य रू. २५४ कायम भएको छ ।
दोहोरो अंकले परिसूचक बढेको यो दिन १७ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यी मध्य ज्योति विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको हो । ज्योति विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको छ ।
यो दिन आखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत, गुडवील फाइनान्सको ९ दशमलव ९५ प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव ९४ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र सोल्टी होटलको ९ दशमलव ९१ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ८९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत शेयरमूल्य बढेको छ ।
यसैगरी दिव्यश्वरी हाइड्रोको ९ दशमलव ८० प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७२ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ६९ प्रतिशत, सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ६८ प्रतिशत, सिन्ुधु विकास बैंकको ९ दशमलव ५४ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९ दशमलव ३४ प्रतिशत र रिलायन्स फाइनान्सको ९ दशमलव शून्य १ प्रतिशत शेयरमूल्य बढेको हो ।
आइतवारको बजारमा विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको शेयरमूल्य सर्वाधिक ७ दशमलव ३९ प्रतिशत बढेको हो ।
त्यस्तै यो दिन वित्त समूहको ५ दशमलव शून्य ८ प्रतिशत, होटल्स तथा पर्यटनको ४ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ८७ प्रतिशत, बैंकिङ्गको १ दशमलव शून्य ७ प्रतिशत, निर्जिवन बीमाको शून्य दशमलव ४३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशतले घट्दा लघुवित्तको १ दशमलव ३७ प्रतिशत, व्यापारिको शून्य दशमलव ७३ प्रतिशत, जलविद्युतको शून्य दशमलव शून्य २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ९ प्रतिशत, र लगानी समूहको शून्य दशमलव २७ प्रतिशत परिसूचक घटेको छ ।
सरकारले यस वर्ष पूँजीबजार विकास र विस्तारका लागि दिर्घकालिन लगानीलाई जोड दिर्दै पूँजीगत लाभकरको दर परिवर्तन गरेको छ । अल्पकालिन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।
यस अघि संस्थापक शेयरधनीहरुले १० प्रतिशत र सर्वसाधारण शेयरधनी अर्थात् व्यक्तिगत शेयरधनीहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।
अव भने एक वर्षभन्दा कम अवधिभित्र कारोबार गरी प्राप्त लाभबाट सरकारलाई ७ दशमलव ५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिसम्म शेयर कायम गरी कारोबार गर्दाको लाभबाट सरकारलाई ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।
यस व्यवस्थाले छोटो समयमै नाफा बुक गर्ने परिपाटीमा भने कमि आउने विश्वास लगानीकर्ताहरुले गरेका छन् ।