सिमीकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पुजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ ।
भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो ।
सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।
जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्त्वपूर्ण रहने हुँदा एकदिने प्रशिक्षण सम्पन्न गरिएको बताइएको छ ।
बालविवाहको अन्त्य, महिला हिंसा न्यूनीकरण तथा कानुनी सहायता सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिए ।
कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वडा नं. ४, ५, र ६ का २५ पुजारी र धामीझाँक्रीको उपस्थिति थियो । (रासस)