काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति नलिइरै गरिएका २०० बढी प्लटिङका जग्गा तत्काल रोक्का हुने भएका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरमा गरी करीब २०० हाराहारी ठाउँमा अनधिकृत प्लटिङ भएको पत्ता लगाइसकेको छ ।
अहिले ती प्लटिङ भएका जग्गाको कित्ता नम्बर खोज्न विकास प्राधिकरणले टोली खटाएको छ । केही ठाउँमा कित्ता नम्बर समेत पत्ता लगाइसकेको प्राधिकरणले सबै अनधिकृत प्लटिङको कित्ता नम्बर आएपछि सिधै मालपोत कार्यालयलाई पत्राचार गरेर रोक्का राख्ने योजना बनाएको छ ।
‘अहिले भक्तपुर र ललितपुरले पहिचान गरेका करीब २०० ठाउँका अनधिकृत प्लटिङको कित्ता नम्बर खोजीरहेका छौ ।’ काठमाडौं उपत्यका विकास प्राधिकरणकी आयुक्त जानूका ढकालले अभियानलाई भनिन्, ‘सबै ठाउँको कित्ता नम्बर आयो भने ती जग्गा रोक्का राख्नको लागि मालपोत कार्यालयलाई पत्राचार गर्छौ ।’
मालपोत कार्यालयबाट जग्गा रोक्का राखिसकेपछि उनीहरूले मापदण्ड अनुसारको ५ प्रतिशत खुल्ला क्षेत्र र २० फिट बाटो कायम गरे भने मात्रै फुकुवा गर्ने पनि ढकालले बताइन् । अन्यथा उक्त जग्गाको किनबेच पूर्णरुपमा रोक्का रहने उनको भनाई छ ।
रातारात नाफा कमाउन अनधिकृत काम
घरजग्गा व्यवसायीहरूले नाफा मात्रै हेरेर काम गर्दा शहर नै कुरुप हुने गरि साँघुरा बाटो राखेर प्लटिङ भइरहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।
अहिले जग्गाको मूल्य अचाक्ली बढेको छ । मान्छेहरूलाई सस्तो सस्तो जग्गा चाहिएको छ । व्यवसायीलाई एकै महीनामा करोड रुपैयाँ नकमाई भएको छैन ।
२० फिटे बाटो राखेर ५ प्रतिशत खुल्ला क्षेत्र छोडेर नियम अनुसार काम गर्दा एक रोपनी जग्गामा २/३ ओटा भन्दा बढी घडेरी बनाउन सकिन्न ।
तर त्यहि जग्गा अनुमति नलिएर १३ फिटे बाटो राखेर प्लटिङ गर्दा ४ ओटासम्म घडेरी बनाउन सकिन्छ । त्यसै कारण व्यवसायीहरूले अनधिकृत प्लटिङ गर्ने गरेको जानकारहरू बताउँछन् ।
सस्तो जग्गा खोज्ने खरीदकर्ताको पनि कमजोरी
जग्गाको भाउ अस्वभाविक रुपमा बढेको बढ्येइ हुँदा पनि मध्यम वर्गका खरीदकर्तालाई जुनसुकै हालतमा ३/४ आना जग्गा चाहिएको छ ।
काठमाडौंमा घडेरी नभए सामाजिक प्रतिष्ठा नै रहन्न भन्ने मानसिक्ताले उनीहरू जग्गाको विषयमा धेरै कुरा नबुझेरै किन्न तयार हुन्छन् । यसले गर्दा पनि व्यवसायीहरूले मापदण्ड विपरितका प्लटिङहरू गर्न उत्साहित बनाउने गरेको जानकारहरू बताउँछन् ।
१३ फिटे बाटोमा जग्गा किन नकिन्ने ?
१३ फिटे बाटोमा जग्गा किन्दा आनामा २ लाख रुपैयाँ सस्तो भएपनि भोलि अत्यावश्यक काम पर्दा भने तपाईं पछुताउनु बाहेक दोस्रो विकल्प हुँदैन ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले २० फिट भन्दा सानो बाटोमा जग्गा प्लटिङ गर्न अनुमति नै दिदैन । त्यसरी १३ फिट मात्रै बाटो राखेर गरिएका प्लटिङ सरासर अनधिकृत हुन ।
१३ फिटे बाटोमा फोहोर उठाउने ठूला गाडी (ट्रिपर) जान सक्दैनन् । खानेपानी बोकेका ट्याङ्कर पनि जान सक्दैनन् । आगलागी हुँदा दमकल र बिरामी पर्दा एम्बुलेन्स पनि सहज रुपमा जान सक्दैनन् ।
यस्ता साँघुरा बाटोमा एउटा ट्याक्सी वा कार सजिलै गुडेपनि दुईतर्फी रुपमा कार समेत आवत जावत गर्न नसक्ने भन्दै १३ फिटे बाटोमा जग्गा किनेकाहरू पछुताउँछन् ।
पहिले पहिले गरिएका प्लटिङ वा पुराना बजारमा साँघुरा बाटोहुँदा दमकल जान नसकेर ठूलो क्षति भएका उदाहरण धेरै छन् ।
त्यहि कारण उपत्यका विकास प्राधिकरणले अहिले २० फिट भन्दा कम चौडाइ भएका बाटो राखेर जग्गा प्लटिङ गर्न स्विकृती नै दिदैन ।
बैंक तथा वित्तीय संस्थाले भोलि कर्जा दिनुपर्दा १३ फिटे बाटोमा थोरै मूल्याङ्कन गर्छन् । एक पटक सस्तो पाइयो भनेर १३ फिटे बाटोमा जग्गा किनेपनि त्यसलाई बेच्न भने निकै ने कठिन हुने गरेको खरीदकर्ताहरूको अनुभव छ ।
अनधिकृत प्लटिङ भएका ठाउँहरू