बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं (अस) । वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बुधबार ७२ सिटे एटीआर जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग जहाजको जम्मा संख्या १६ पुगेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सीधा उडान गर्न थालेको कम्पनीले थप एक एटीआर ७२ जहाज भित्र्याएको हो । कलसाइन ९ एन–एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याएर आगामी दुई साताभित्र उडान गरिने कम्पनीले बताएको छ । कम्पनीसँग हाल ११ वटा एटीआर ७२, तीन एटीआर ४२ र दुई बिचएयरक्राफ्ट जहाज छन् ।

सम्बन्धित सामग्री

२७ वर्षमा बुद्ध एयर अक्टोबरमै एटीआर जहाज थप्ने तयारी

काठमाडौं। निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २७ वर्षमा प्रवेश गरेको छ । १८ सिटे जहाजबाट नेपाली आकाशमा उडान शुरू गरेको बुद्ध एयरले हाल १६ ओटा एटीआर जहाजबाट सेवा दिइरहेको छ । कम्पनीले बुधवार जारी गरेको सूचनाअनुसार यो अवधिमा बुद्ध एयरबाट २ करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् । हाल कम्पनीसँग तीनओटा एटीआर–४२ र १३ ओटा एटीआर–७२ सिरिजका जहाज छन् । यस्तै कम्पनीले अक्टोबर महीनाभित्रै थप एउटा एटीआर जहाज ल्याउने बताएको छ । जहाज मर्मतसम्भारका लागि कम्पनीसँग अत्याधुनिक ह्यांगर छ । आफ्ना जहाज मात्र मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीलाई पनि सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले थप सुरक्षित र गुणस्तरीय सेवा दिन हवाई कम्पनीमा कार्यरत प्राविधिक, पाइलट र ‘ग्राउन्ड अपरेसन’का जनशक्तिको क्षमता अभिवृद्धि गरिरहेको बताए । ‘बुद्ध एयरको उडान सेवा प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट नियमित अडिट एवं मूल्यांकन गराउँदै आएका छौं,’ उनले भने, ‘विभिन्न गन्तव्यमा उडान संख्या बढाइएको छ ।’ कम्पनीका अनुसार पोखराका लागि दैनिक १७ तथा विराटनगर र भैरहवाका लागि क्रमश: ९ र १० उडान गरिएको छ । यसबाहेकका अन्य गन्तव्यमा पनि आधा दर्जनभन्दा बढी उडान हुने गरेको छ । कम्पनीले सुर्खेत, तुम्लिङटार र धनगढीमा पनि उडान संख्या थप्ने तयारी गरेको छ ।

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ । -न्युज कारखाना

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर आकस्मिक अवतरण गर्नुको यस्तो छ कारण

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको थियो । ९ः१० बजे उडेको बुद्ध एयरको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ः४२ बजे आकस्मिक […]

८ वटा जहाज किन्दै बुद्ध एयर

निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले ८ वटा नयाँ जहाज थप्ने भएको छ । दुर्गमका गन्तव्यमा उडान गर्न बुद्धले नयाँ जहाज थप गर्न लागेको हो ।सन् २०२३ को सुरुबाटै नयाँ जहाजबाट उडान गर्ने गरी ८ वटा अत्याधुनिक जहाज थप गर्न लागिएको जनाएको छ । नयाँ जहाज खरिदका लागि कम्पनीले ट्वीनअटर जहाज निर्माता कम्पनीसँग छलफल गरिएको पनि बताईएको छ । अहिले पर्यटकीय र मुख्य शहरमा मात्रै उडान गरिरहेको बुद्ध एयरले नयाँ जहाज थप गरेर दुर्गमका गन्तव्यमा उडान गर्ने छ । पूर्वी क्षेत्रका गन्तव्यमा उडान गर्न बुद्धले रामेछापको मन्थली विमानस्थललाई हब बनाउँदैछ । पश्चिममा उडान गर्न पोखरा तथा कर्णाली र सुदूरपश्चिममा उडान गर्न नेपालगञ्ज विमानस्थललाई हब बनाउने योजनामा बुद्ध एयर छ । बुद्ध २०२४ मा २ वटा, क्रमश २०२५ मा पनि २ र २०२६ मा पनि २ वटा जहाज थप्ने योजना बनाएको छ । पहिलो लटमा सन्२२ भित्रै २ वटा जहाज ल्याउने योजना कम्पनीको छ । हाल बुद्ध एयरसँग १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा ब्रिचक्राफ्ट जहाज छन् ।

बुद्ध एयर : बाहिरी स्रोतमा भर पर्दा पाइलट झुक्किएको आन्तरिक छानविनको निष्कर्ष

१८ असोज, काठमाडौं । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज फर्काएको सम्बन्धमा बुद्ध एयरले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोट सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको छ । कम्पनीका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छैन । जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको र प्राइमरी इण्डिकेटर मधुरो […]

साउन ३१ गतेदेखि भरतपुर-भैरहवा उडान शुरु गर्दै बुद्ध एयर

साउन २०, चितवन । यही साउन अन्तिमबाट बुद्ध एयरले भरतपुर-भैरहवा उडान गर्ने भएको छ । बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्नुका साथै टुरिजम क्षेत्रलाई जोड्ने उद्धेश्यसहित भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । बुद्ध एयरले भैरहवा उडान जोडेपछि देशका मुख्य पर्यटकीय स्थल पोखरा, लुम्बिनी, काठमाडौं र सौराहा लगायतका पर्यटकीय क्षेत्र जोडिने विमानस्थल प्रमुख योगेन्द्र कुँवरले बताए ।  ‘अहिले बुटवल नारायणगढ सडक निर्माणाधीन पनि छ, कुँवरले भने, उडान चलेपछि दुवै तिरका यात्रुलाई सहज पनि हुन्छ । ’ बुद्ध एयर भरतपुरका प्रबन्धक  भक्तबहादुर बस्नेतले साउन ३१ बाट यो उडान हुने मिति तय भएको जानकारी दिए । उनका अनुसार आइतवार, बुधवार र शुक्रवार १८ सिटे जहाज चल्ने गरि उडान तालिका तय भएको छ । यसअघि बुद्ध एयरले भरतपुर-काठमाडौं र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ ।  केही दिन अघिबाट यति एयरलाईन्सले आफ्नो उडान स्थगित गरेपछि बुद्ध एयरले हाल भरतपुर-काठमाडौं ९ ओटा उडान र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।  भरतपुर भैरहवाको लागि भाडादर जहाजको अकुपेन्सी अनुसार निर्धारण गरिएको बस्नेतले बताए । जसअनुसार यात्रुको लागि तीन किसिमको  भाडादर निर्धारण गरिएको छ । ‘कम्पनीले चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ भाडादर निर्धारण गरेका छौं, बस्नेतले भने, यसका लागि बी फेयर, ए फेयर र वाई फेयर गरेर वर्गीकृत गरेका हौं । ’ बुटवल नारायणगढ सडकखण्डका कारण यात्रुहरुको माग र आवश्यकता हेरेर पनि कम्पनीले भरतपुर भैरहवा उडान जोड्न लागेको बस्नेतको भनाइ छ ।

पोखरा–नेपालगञ्ज सिधा उडान शुरु गर्दै बुद्ध एयर

साउन ८, कास्की । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको हो । शुरुआतमा साताको तीन दिन अर्थात् आइतवार, बुधवार र शुक्रवार उडान गर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना बनाएको छ । पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।  उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ । नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।     यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जानकारी दिएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ । कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले संक्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जानकारी दिएको छ । पछिल्ला दिनमा हवाई यात्रुको संख्या पनि क्रमशः बढिरहेको कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन् ।

पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेश उडानमा बुद्ध एयर

काठमाडौं । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरालाई  ‘बेस–हब’ बनाएर प्रदेशस्तरमा उडान गर्ने भएको छ । कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका विमानस्थलबाट चार गन्तव्यमा परीक्षण उडान गर्न लागेको हो । कम्पनीले मे १ अर्थात् वैशाख १८ गते शनिवादेखि पोखराबाट प्रदेश २ को सिमरा, पोखराबाटै प्रदेश १ को विराटनगर, पोखरा–नेपालगञ्ज (लुम्बिनी प्रदेश) र बागमती प्रदेशको भरतपुरबाट लुम्बिनीको  भैरहवा उडान गर्नेछ । कम्पनीले अहिले काठमाडौं बेस बनाएर यी स्थानमा नियमित उडान गर्दै आएको छ । कम्पनीले उक्त गन्तव्यका लागि भाडादर पनि तोकेको छ । यसमध्ये पोखरा–विराटनगरको भाडा न्यूनतम ६ हजारदेखि अधिकतम १० हजार ८०० रुपैयाँसम्म तोकिएको छ । यसैगरी पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५०० देखि अधिकतम ७ हजार २००, पोखरा–सिमराका लागि न्यूनतम ४ हजार ३०० देखि अधिकतम ६ हजार ७०० सम्म, पोखरा–भैरहवाको न्यूनतम ३ हजार १०० देखि अधिकतम ३ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अन्य गन्तव्य तुम्लिङटार–विराटगनगरको भाडादर न्यूनतम २ हजार ५०० देखि  अधिकतम ३ हजार २०० र भैरहवा–भरतपुरको न्यूनतम २ हजार ५०० देखि अधिकतम ४ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले उल्लेख गरेको छ । उक्त भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित रहेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । वैशाख १८ गतेदेखि हुने यी गन्तव्यको उडान भने सानो जहाज ‘बीचक्राफ्ट’बाट गरिने कम्पनीले जानकारी दिएको छ । अन्तरप्रदेशीय उडानमा प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने कम्पनीको माग छ । मे १५ सम्म थप एउटा नयाँ जहाज ल्याउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन् । पोखरा काठमाडौंपछिको ठूलो शहरको रूपमा रहेको र यसलाई बेस–हब बनाउँदै उडान गर्ने रणनीति रहेको भनाइ छ । उनका अनुसार हाल दैनिक १२० भन्दा बढी उडान र ६ हजार ५०० भन्दा बढी यात्रुको आउजाउले स–साना होटलदेखि पर्यटकीय गाडीलाई समेत रोजगारी सृजना गरेको छ । कम्पनीले नेपालमा कोरोना संक्रमणको शुरुआतदेखि नै ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालीम, पीपीईको व्यवस्था, बीमा र त्यसै अनुरूपको हवाई सेवालाई अहिले पनि जारी राखेको उनले बताए ।