काठमाडौं। निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २७ वर्षमा प्रवेश गरेको छ । १८ सिटे जहाजबाट नेपाली आकाशमा उडान शुरू गरेको बुद्ध एयरले हाल १६ ओटा एटीआर जहाजबाट सेवा दिइरहेको छ ।
कम्पनीले बुधवार जारी गरेको सूचनाअनुसार यो अवधिमा बुद्ध एयरबाट २ करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् । हाल कम्पनीसँग तीनओटा एटीआर–४२ र १३ ओटा एटीआर–७२ सिरिजका जहाज छन् । यस्तै कम्पनीले अक्टोबर महीनाभित्रै थप एउटा एटीआर जहाज ल्याउने बताएको छ ।
जहाज मर्मतसम्भारका लागि कम्पनीसँग अत्याधुनिक ह्यांगर छ । आफ्ना जहाज मात्र मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीलाई पनि सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले थप सुरक्षित र गुणस्तरीय सेवा दिन हवाई कम्पनीमा कार्यरत प्राविधिक, पाइलट र ‘ग्राउन्ड अपरेसन’का जनशक्तिको क्षमता अभिवृद्धि गरिरहेको बताए ।
‘बुद्ध एयरको उडान सेवा प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट नियमित अडिट एवं मूल्यांकन गराउँदै आएका छौं,’ उनले भने, ‘विभिन्न गन्तव्यमा उडान संख्या बढाइएको छ ।’ कम्पनीका अनुसार पोखराका लागि दैनिक १७ तथा विराटनगर र भैरहवाका लागि क्रमश: ९ र १० उडान गरिएको छ । यसबाहेकका अन्य गन्तव्यमा पनि आधा दर्जनभन्दा बढी उडान हुने गरेको छ । कम्पनीले सुर्खेत, तुम्लिङटार र धनगढीमा पनि उडान संख्या थप्ने तयारी गरेको छ ।