साउन २०, चितवन । यही साउन अन्तिमबाट बुद्ध एयरले भरतपुर-भैरहवा उडान गर्ने भएको छ ।
बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्नुका साथै टुरिजम क्षेत्रलाई जोड्ने उद्धेश्यसहित भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । बुद्ध एयरले भैरहवा उडान जोडेपछि देशका मुख्य पर्यटकीय स्थल पोखरा, लुम्बिनी, काठमाडौं र सौराहा लगायतका पर्यटकीय क्षेत्र जोडिने विमानस्थल प्रमुख योगेन्द्र कुँवरले बताए ।
‘अहिले बुटवल नारायणगढ सडक निर्माणाधीन पनि छ, कुँवरले भने, उडान चलेपछि दुवै तिरका यात्रुलाई सहज पनि हुन्छ । ’
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले साउन ३१ बाट यो उडान हुने मिति तय भएको जानकारी दिए । उनका अनुसार आइतवार, बुधवार र शुक्रवार १८ सिटे जहाज चल्ने गरि उडान तालिका तय भएको छ । यसअघि बुद्ध एयरले भरतपुर-काठमाडौं र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ ।
केही दिन अघिबाट यति एयरलाईन्सले आफ्नो उडान स्थगित गरेपछि बुद्ध एयरले हाल भरतपुर-काठमाडौं ९ ओटा उडान र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।
भरतपुर भैरहवाको लागि भाडादर जहाजको अकुपेन्सी अनुसार निर्धारण गरिएको बस्नेतले बताए । जसअनुसार यात्रुको लागि तीन किसिमको भाडादर निर्धारण गरिएको छ । ‘कम्पनीले चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ भाडादर निर्धारण गरेका छौं, बस्नेतले भने, यसका लागि बी फेयर, ए फेयर र वाई फेयर गरेर वर्गीकृत गरेका हौं । ’ बुटवल नारायणगढ सडकखण्डका कारण यात्रुहरुको माग र आवश्यकता हेरेर पनि कम्पनीले भरतपुर भैरहवा उडान जोड्न लागेको बस्नेतको भनाइ छ ।