काठमाडौं । काठमाडौं उपत्यकाभित्रै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।
तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा लाग्ने समय र कल स्थापित हुन लाग्ने दर परीक्षण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार मोबाइल सेवाको गुणस्तर परीक्षण अध्ययनमा कल गर्दा लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडि एनसेल देखिएको छ ।
उक्त प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ६.४४ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । रासस