पर्वत । पर्वतका स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिड अस्पताल बनाउन थालेका छन् । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि जिल्लाका सातै स्थानीय तहले अस्पताल बनाउन लागेका हुन् । गतवर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड अस्पताल अहिले विस्थापित भइरहेको छ । उक्त अस्पताल सातै स्थानीय तहको आर्थिक सहयोगमा निर्माण भएको थियो । गतवर्ष निर्मित अस्पताल विस्थापित भएपछि यस वर्ष स्थानीय तहले एकल लगानीमा अस्पताल चलाउन थालेका हुन् ।
जिल्लाको महाशिला गाउँपालिकाले वडा नं ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले १० ओटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताए । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले यसअघिको ५ बेड क्षमताको अस्पताललाई विस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको बताए ।
जलजला गाउँपालिकाले ५ बेडको अस्पताल तयार गरेको बताएको छ । पालिकासँग अक्सिजनका दुईओटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देवीन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरीद गरेर व्यवस्थापनको तयारी गरेको छ । मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्यचौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा रहेको छ । अक्सिजनको कमी देखिएकाले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेको उनले बताए ।
विहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेसन बेडलाई अक्सिजन लगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताए । अस्पतालका लागि आवश्यक औषधि उपकरण खरीद गर्ने कार्यपालिकाले निर्णय समेत गरिसकेको छ ।
सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनालाई स्थानान्तरण गरी ठूलीपोखरी वा बजार क्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । जिल्ला अस्पतालमा १० बेडको भेण्टिलेटर र आईसीयूसहितको बेड भएकाले ठूलीपोखरीका रहेको प्राथमिक स्वास्थ्य केन्द्र वा बजार क्षेत्रभन्दा बाहिर खोल्नेबारे छलफल भइरहेको छ ।