विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई ‘एक रथका दुई पांग्रा’ भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको छैटौं प्रदेश सभामा बोल्दै उनले साझेदार छुट्टिएर जान सक्ने तर पांग्रा छुट्टिँदा रथ चल्न नसके जस्तै व्यवसायीविना सरकार चल्न नसक्ने बताए ।
‘करविना सरकार चल्न सक्दैन, व्यवसायी डुबे भने सरकार चल्न सक्दैन,’ उनले भने,‘ त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न योजना कार्यान्वयनमा ल्याउन लागेको छ ।’
प्रदेश महासंघ प्रदेशको दिगो विकासमा केन्द्रित हुनेमन आफू विश्वस्त रहेको उनको भनाइ छ । ‘व्यवसाय गर्नेभन्दा राजनीति बढी गर्ने गरेको अवस्था छ, तपाईहरू कि राजनीति गर्नुस् कि व्यवसाय, दुई तिर हात हाल्यो भने सफल भइदैन,’ उनले भने । प्रदेशको उद्यमशीलतालाई अगाडि बढाउन उद्योग दर्तासम्बन्धी नियमावली ल्याएर प्रदेशबाटै उद्योग दर्ता, नवीकरणलगायतका काम शुरू भइसकेको मुख्यमन्त्री कार्कीले बताए ।
उनले प्रदेशबाट निर्यात व्यापार बढाउन व्यावसायी सक्रिय हुनुपर्नेमा जोड दिए । ‘अलैँचीको व्यापार भारत मात्रै होइन तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘कुनै पनि विषयमा दु:ख दिने खालको निकास नखोजौं, भारतमा मात्रै अलैँची निकासी गर्दा मूल्यमा कमी आएको बेला यहाँका किसानलाई घाटा व्यहोर्नु पर्छ ।’
श्रम सबै समान हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबैको सम्मान गर्नुपर्ने बताए । मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन शुरू गरेको बताउँदै व्यवसाय प्रवर्द्धनका लागि सरकारले बनाउने नीतिमा दिगो विकासको अवधारणा अनुसार बनाउने बताए ।