भदौ ४, काठमाडौं ।इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी आजबाट एकीकृत कारोबार शुरु गरेको छ ।
यी दुवै कम्पनीले गत असार २१ गते सम्पन्न अलग अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले साउन १५ गते प्राप्तका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनी एक भएर कारोबार शुरु गरेका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको थियो ।
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो । यी दुवै कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । दुई कम्पनी एक भएपछि इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भएको हो ।