सुन्तलाले राम्रो मूल्य पाएपछि ईच्छाकामनाका किसान खुशी

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तलाले   राम्रो मूल्य पाएपछि किसान खुशी भएका छन ।  सो गाउँपालिकामा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु हर्षित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउँछन । अहिले बजारमा राम्रो मूल्य पनि छ , माग पनि छ, उनले भने, “कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।” उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए ।  उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन  । वैदेशिक रोजगारमा गएर तीन महिनामा नेपाल फर्किएका बोहोराले सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताए । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनको भनाई छ  । विगतका  वर्षहरुमा प्रतिकिलो  ७० रुपैंया हाराहारीमा यहाँका सुन्तला बिक्री हुने गरेको थियो । इच्छाकामना गाउँपालिका–३ माझगाउँका अर्का किसान सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका  छन । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।” बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको सुनिश्चितता गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए  ।  “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले आम्दानी राम्रो हुन सकेको हो ।’ उनले भने ।   २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए  । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्तला बेच्दै आएका छन  । अगौटे सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि अन्य किसानले समेत यही जातको सुन्तला लगाउन थालेका छन । इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउँछन । उनले भने , “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।” केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए  ।  यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।

सम्बन्धित सामग्री

आलुको बीउ स्थानीय सरकारले खरिद गरिदिएपछि किसान खुशी

पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ । १० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ । जलजला–६ शालिजाका ३ कृषक समूहले उत्पादन गरेको ३५ […]

सम्पादकीय : सम्भावना भएको प्याजमा बेवास्ता

आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा ठूलो परिमाणमा आयात हुने प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने नीति लिएपछि बजारमा यसको असर परेको छ । भ्याटकै कारण बजारमा प्याजको भाउ बढेपछि आफ्नो कार्यक्रमको बचाउ गर्दै अर्थमन्त्रीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न यस्तो नीति लिएको बताइरहेका छन् । आधारभूत रूपमा स्वदेशी उत्पादनलाई बढावा दिन अर्थमन्त्रीले लिएको नीति ठीक हो । स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न आयातमा केही कर लगाउन सक्ने प्रावधान विश्व व्यापार संगठनको नियममा पनि परेको छ । त्यसो हुँदा यसमा अन्तरराष्ट्रिय विरोध हुने कुरा आएन ।  तर, उत्पादन वृद्धिका कार्यक्रम नलिईकन आयातमा भ्याट लगाउँदा पर्ने असरमा भने ख्याल गरिएको छैन । बजेटमा प्याजको आन्तरिक उत्पादन बढाउने कुनै पनि कार्यक्रम ल्याइएको छैन । त्यसैले आयातमा भ्याट लगाइए पनि प्याज खेती विस्तार हुने सम्भावना छ भन्न सकिँदैन । बरु सरकारको यस्तो नीतिले महँगी भने बढाउने देखिन्छ ।  नेपालमा हाल भइरहेको उत्पादन र उत्पादकत्व हेर्दा प्याज खेतीलाई विस्तार गर्ने सम्भावना छ । अहिले नेपालमा प्याजको माग वार्षिक ४ लाख मेट्रिक टनभन्दा बढी छ । गत आवमा नेपालमा २ लाख ९८ हजार मेट्रिक टन प्याज उत्पादन भयो, त्यो पनि सरकारको खासै सहयोगविनै । यद्यपि सरकारले आर्थिक वर्ष २०६४/६५ मा मिशन प्याज कार्यक्रम ल्याएको थियो । तर, केही वर्ष चलेको उक्त कार्यक्रम प्याज उत्पादन बढाउन उपयोगी हुनै नपाई अलपत्र पर्‍यो । पछिल्लो समयमा त कृषि मन्त्रालय तथा विभागकै कर्मचारी नेपालमा प्याज मिशन कार्यक्रम चलेको थियो र ? भन्न थालेका छन् । यसको अर्थ अहिले नेपालमा जसरी प्याजको उत्पादन भइरहेको छ, त्यसमा किसानको लगानी र मेहनतले नै बढी काम गरेको छ ।  सरकारले किसानलाई आवश्यक पर्ने मल, बीउ, सिँचाइको साथै प्याजको उत्पादन बढाउने सूचना र ज्ञान दिन सकेको भए नेपाललाई आवश्यक पर्ने प्याज स्वदेशमै उत्पादन हुन सक्ने रहेछ । सरकारले कम्तीमा समर्थन मूल्य तोक्दा पनि किसानलाई प्याज उत्पादन गर्न सहज हुने देखिन्छ । तर, सरकारको ध्यान त्यता गएन । न त उचित भण्डारणको व्यवस्था नै गरियो । उल्टै यो कार्यक्रम हरायो । कार्यक्रम किन हरायो भन्ने अभिलेख समेत सरकारी निकायसँग छैन ।  अहिले जसरी सरकारले प्याजमा भ्याट लगाएको छ । यही बेला उत्पादन बढाउन ठोस कार्यक्रम ल्याउने हो भने मात्र भ्याट लगाउनुको प्रयोजन प्रमाणित हुन्छ । तर, उत्पादन बढाउने कुनै नयाँ कार्यक्रम नल्याउने केवल भ्याट मात्रै लगाउने हो भने यस्तो नीतिले न स्वदेशी उत्पादनको वृद्धिमा सहयोग पुग्छ न उपभोक्तालाई नै सहुलियत हुन्छ । त्यसैले आयातमा भ्याट लगाउने नीति लिएको सरकारले स्वदेशी उत्पादन वृद्धि हुने योजना ल्याउनुपर्छ । सरकारले लिने योजना पनि केवल देखाउन मात्र हुनु हुँदैन । किनकि सरकारले लिएका थुप्रै योजनाप्रति सर्वसाधारणले ढुक्कसँग विश्वास गर्न सकेको अवस्था छैन । थुप्रै सरकारी योजनामा प्रश्न उठेको पाइन्छ ।  उदाहरणका लागि धान, गहुँ खरीदका लागि सरकारले तोक्ने समर्थन मूल्यलाई नै लिन सकिन्छ । भारतलगायत देशमा खेती लगाउने बेला नै समर्थन मूल्य तोक्ने गरिन्छ तर नेपालमा भने किसानले आफ्नो उत्पादन सस्तोमा विक्री गरेपछि मात्र समर्थन मूल्य तोक्ने गरिन्छ । देखाउनका लागि मात्र गरिएको यस्ता कार्यक्रम र योजनाको के अर्थ भयो र ?  प्याजलगायत कृषि उपजलाई भण्डार गर्न कोल्डस्टोर निर्माण गर्ने हो भने किसानले उत्पादन बढाउन सक्छन् । मल, बीउ पाउँदा मात्र किसान खुशी हुनुपर्ने अवस्थामा सुधार हुन सकेको छैन । त्यसैले सरकारको तर्फबाट हुने यस्ता सहयोगले उत्पादनमा निकै फरक पर्ने भएकाले यस्ता कार्यक्रम शुरू गर्नुपर्छ । नत्र स्वदेशी उत्पादन वृद्धिलाई प्रोत्साहन नगरी आयातमा जतिसुकै कडाइ गरे पनि आन्तरिक उत्पादन बढ्दैन ।

आरजु राइस मिलले धानको मूल्य तोक्यो

विराटनगर । बेलबारी–९ मा रहेको आरजु राइस मिलले राम धान प्रतिकिलो ३२ रुपैयाँमा किसानसँग खरीद गर्ने भएको छ । मिलले मोरङ, सुनसरी र झापामा उत्पादित धान खरीद गर्ने उद्देश्यले आइतवारमा एक कार्यक्रम गरी न्यूनतम मूल्य सार्वजनिक गरेको हो । मूल्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रदेशका कृषिमन्त्री भक्तिप्रसाद सिटौला, कृषिसचिव, विभागका निर्देशकहरू, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिक परियोजनालगायत कार्यालयका प्रमुख तथा कृषि सहकारीका प्रतिनिधि सहभागी थिए । नेपाल कृषि केयरद्वारा सञ्चालित सो मिलले सरकारका प्रतिनिधिसमेत बोलाएर आगामी असारमा रोपेर मङ्सिरमा भिœयाउने धानको मूल्य तोकेपछि किसान खुशी भएका छन् । सो मिल बुद्ध एयरले नाफा नकमाउने बरु किसानलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको हो । मिलका कार्यकारी अध्यक्ष तथा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतले मूल्य सार्वजनिक गरेका हुन् । राम जातको धान गतवर्ष मिलले ३० रुपैयाँ प्रतिकिलोका दरले १२ सय टन किनेको थियो । यस वर्ष १३ हजार टन किन्ने लक्ष्य रहेको बस्नेतले जानकारी दिए । उनका अनुसार गतवर्षको धान चामल बनाएर राखिएको छ । उक्त चामल यस वर्ष काठमाडौंमा विक्री गर्ने योजना छ । मिलले किसानलाई सस्तोमा बीउ उपलब्ध गराउनुका साथै धान भिœयाउन कृषि औजार सहयोग गर्छ । मिलले चैतमा रोप्ने धानको पनि दुई महीनाअघि नै न्यूनतम मूल्य तोकेको थियो । मिलको सहयोगमा चैतमा आठ सय बिगाहामा किसानले राम धान लगाएका छन् । ‘आगामी वर्षका लागि साढे तीन हजार बिगाहाको धान चाहिएको छ,’ बस्नेतले भने । किसानसँग धान खरीद गर्दा पनि मिलले बजार मूल्यभन्दा बढी रकम दिने गरेको छ । बस्नेतका अनुसार २२ हजार टन क्षमताको मिल सानो भएकाले झापा, मोरङ वा सुनसरीमा ५०/५० हजार टन क्षमताका थप दुई मिल स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको छ । बजारको माग अनुसार राम धानको उत्पादन बढाउने र बढी चामल बजारमा लैजाने मिलको योजना छ । हाल सञ्चालनमा रहेको मिल बस्नेत मात्रको लगानी भए पनि अब स्थापना हुने मिलमा किसानको पनि लगानी रहनेछ ।

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

सिन्धुलीकाे नास्पातीले राम्रो मूल्य पाएपछि किसान खुशी

सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादन भएको नास्पाती यस वर्ष महँगो मूल्यमा बिक्री वितरण हुँदा किसान खुशी भएका छन् । साउन र भदौमा पाक्ने नास्पातीले विगतका वर्षहरुको तुलनामा यस वर्ष भने अधिक मूल्य पाएको किसानहरुले बताएका हुन् ।बजारको अभावले विगतका वर्षमा बगैंचामा कुहिएर जाने नास्पातीले यो वर्ष भने राम्रो मूल्य पाएको हो । भदौ लाग्ने […]

आलुले राम्रो मूल्य पाएपछि किसान खुशी

आलुले राम्रो मूल्य पाएपछि किसान खुशी सर्लाही समाचारदाता सर्लाही, माघ २६ । आलुले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुशी भएका छन् । गत वर्षको तुलनामा यो वर्ष दोब्बर बढी मूल्यमा आलु बिक्री भइरहेको बरहथवा नगरपालिका–४, का किसान बच्चेलाल महतोले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित आलु अहिले खेतबाटै प्रतिकिलो २० रुपियाँमा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकिलो ८÷९ रुपियाँमा बिक्री गर्न पनि मुस्किल परेको आलुले यो वर्ष दोब्बर बढी मूल्य पाएको हो । सर्लाहीमा पश्चिमी भेगका मूर्तिया, हजरिया, बरहथवा, श्रीपुर लगायतका क्षेत्रमा व्यवसायिक रुपमा आलु खेती हुने गरेको छ । त्यस क्षेत्रका किसानले उत्पादन गरेको आलु खरिद गर्न अहिले व्यापारी खेत–खेतमै पुगिरहेका छन् । स्थानीय स्तरमै चिस्यान केन्द्रसहित भण्डारणको व्यवस्था भए आलुले अझै बढी मूल्य पाउने स्थानीय किसानले बताएका छन् । कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषि प्रसार अधिकृत देवानन्द रायले व्यवसायिक रुपमा आलु खेती गरेर जिल्लाका किसानले राम्रो आम्दानी गर्दै आएका बताउनुभयो । रायका अनुसार सर्लाहीमा १४ सय ८० हेक्टर जग्गामा व्यवसायिक रुपमा आलु खेती हुन्छ । सर्लाहीका किसानले लालगुलाब, अरुणगोल्ड, खुमल लगायत जातका आलु बढी लगाउने गरेका छन् ।

व्यङ्ग्य : दूधको भाउ ६ रुपैयाँ बढ्दा हुने ६ फाइदा !

हेर्दाहेर्दै दूधको पनि दिन आयो । सधैं सुन र नुनको मात्रै भाउ बढ्नुपर्छ भन्ने के छ ? अब बल्ल दूधको पनि भाउ बढ्यो । घाँसभकारो गर्ने किसानले बढेको मूल्य पाउनु, नपाउनु ठूलो कुरा भएन । तर दूध बेच्ने व्यापारीलाई सोझै फाइदा हुने भो । किसानभन्दा व्यापारी ठूला । व्यापारी खुशी भए देश चल्छ । किसान खुशी हुनु र नहुनुले देश चल्नु...

अदुवाको मूल्यमा केही सुधार : किसान खुशी

इलाम – अदुवाको मूल्यमा सुधार आउँदा व्यवसायीक किसान र व्यापारी खुशी भएका छन् । यो वर्ष अदुवाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएकाले किसान र व्यापारी दुवै खुशी भएका हुन्  । निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि एक हजार प्रति मन (४० किलो) का दरले अदुवा बेचेका किसानले यस वर्ष भने सन्तोषजनक मूल्य पाएका छन् । ...

इलामका अदुवा उत्पादक किसानमा उत्साह

इलाम – राम्रो मूल्य पाएपछि इलामका अदुवा उत्पादक किसान उत्साहित भएका छन् ।  भारत निर्यात  सहज हुदाँ यस वर्ष अदुवाको मूल्य किलोको २ सयदेखि पाँचसय रुपैयाँसम्ममा विक्री हुन थालेपछि किसान खुशी भएका हुन् ।   गएको वर्ष मुस्किलले प्रतिकेजी १२ रुपैँयामा विक्री गरेको अदुवा अहिले २ सय रुपैयाँभन्दा बढीमा बिक्री...