आलुले राम्रो मूल्य पाएपछि किसान खुशी
सर्लाही समाचारदाता
सर्लाही, माघ २६ । आलुले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुशी भएका छन् ।
गत वर्षको तुलनामा यो वर्ष दोब्बर बढी मूल्यमा आलु बिक्री भइरहेको बरहथवा नगरपालिका–४, का किसान बच्चेलाल महतोले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित आलु अहिले खेतबाटै प्रतिकिलो २० रुपियाँमा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकिलो ८÷९ रुपियाँमा बिक्री गर्न पनि मुस्किल परेको आलुले यो वर्ष दोब्बर बढी मूल्य पाएको हो ।
सर्लाहीमा पश्चिमी भेगका मूर्तिया, हजरिया, बरहथवा, श्रीपुर लगायतका क्षेत्रमा व्यवसायिक रुपमा आलु खेती हुने गरेको छ । त्यस क्षेत्रका किसानले उत्पादन गरेको आलु खरिद गर्न अहिले व्यापारी खेत–खेतमै पुगिरहेका छन् । स्थानीय स्तरमै चिस्यान केन्द्रसहित भण्डारणको व्यवस्था भए आलुले अझै बढी मूल्य पाउने स्थानीय किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषि प्रसार अधिकृत देवानन्द रायले व्यवसायिक रुपमा आलु खेती गरेर जिल्लाका किसानले राम्रो आम्दानी गर्दै आएका बताउनुभयो । रायका अनुसार सर्लाहीमा १४ सय ८० हेक्टर जग्गामा व्यवसायिक रुपमा आलु खेती हुन्छ । सर्लाहीका किसानले लालगुलाब, अरुणगोल्ड, खुमल लगायत जातका आलु बढी लगाउने गरेका छन् ।