माघ १८, सुनसरी । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यासपछि एउटा पिलरको खाल्डो खनेर ४ वर्षदेखि अलपत्र छ ।
पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्रसहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिँदा रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् ।
भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पुग्न करीब डेढ दिनको बसको यात्रा गर्न बाध्य छन् ।
सरकारको २४ करोडको लागतमा पुलको ठेक्का रसुवा एसएनएस तथा पप्पु जेभीले लिएको थियो । पुलको वारिपारि रहने दुईओटा आधारस्तम्भ बनाएर छाडिएको छ । २१५ मिटर लम्बाइ र ११ मिटर चौडाइ र ५ स्पान र ६ पिलर रहने गरी काम थालिएको थियो । दुई वर्षमा काम सक्ने गरी ठेक्का लगाए पनि हाल काम हुन सकेको छैन ।
सरकार र ठेकेदारले लापरवाहीले चार वर्षसम्म पनि पुलको काम अघि बढ्न नसकेको आमचौक गाउँपालिकाका अध्यक्ष अशोक राई बताउँछन् । उनी भन्छन्, ‘सरकारलाई सोध्यो ठेकेदारले काम गरेन भन्छन्, ठेकेदारलाई सोध्यो गर्छु भन्छ, काम नगर्ने ठेकेदारलाई कारवाही गर्नु प¥यो भन्दा ठूलै पावर छ, मन्त्री, प्रधानमन्त्रीसम्मको पावर भएकाले हामीले केही गर्न सकेनौं ।’
सरकार र ठेकेदारको लापरवाहीका कारण आमचौकवासी जनताले यातायातको सुविधाको अनुभुति गर्न नपाएको उनको भनाइ छ । यातायातको सुविधा नहुँदा अझै पनि भारी बोक्न बाध्य भएको उनी बताउँछन् ।
भोजपुरको दक्षिणी भोग पुग्न कि त कोशीमा बोटबाट जानु पर्छ कि त धनकुटा, हिले लेगुवा हुँदै भोजपुर पुगेर आउनुपर्छ । यसरी घुमेर आउँदा डेढ दिन लाग्ने उनले बताए । उनले भने, ‘पुल बनेदेखि इटहरी धरानलाई जिरोपोइन्ट मान्दा अढाई घण्टामा आमचौक पुग्न सकिन्छ ।’ दक्षिणी भेगमा आयात निर्यात नै हुन सकेको छैन भने बिरामीहरुलाई सहज उपचार पाउन पनि समस्या भइरहेको छ ।
२०७४ सालमा तत्कालिन प्रधानमन्त्री समेत रहेका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले शिलान्यास गरेका थिए । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री शेरधन राईलगायतले तामझामका साथ शिलान्यास गरेको आमचोक भोजपुर र उदयपुर जोडने रानीटारस्थित दुधकोशीमा पुलको २०७४ साल भदौ ३१ गते शिलान्यास गरिएको थियो ।
उदयपुर हुँदै तराईका जिल्लाहरुबाट दैनिक उपभोग्य सामग्रीको आयात गर्ने भोजपुरका आमचोक गाँउपालिका र खोटाङ जन्ते ढुंगाका स्थानीयले रानीटारको झोलुंगे पुलबाट प्रति केजी १ रुपैयाँको दरले सामान ढुवानी गरेर कोशी तार्नु पर्ने बाध्यता रहँदै आएको छ ।
विकट पहाडी क्षेत्र पर्ने भोजपुर, खोटाङका स्थानीयले झोलुंगे पुलको सहायतामा प्रति केजी १ रुपैयाँका दरले सामान ढुवानी गराउदा पनि, प्राय ढुवानी गर्ने व्यक्ति पाउन मुस्कील रहदै आएको छ । सिधा यातायात सञ्चालन नहुँदा सामान ढुवानीदेखि चर्को मूल्यको समस्या झेल्दै आउनु परेको स्थानीयको गुनासो छ ।