होटलबारे नकारात्मक टिप्पणी गर्ने पर्यटक जेल पुगे

आफू बसेको होटलबारे नकारात्मक टिप्पणी गर्दा थाइल्याण्डमा एक अमेरिकी पर्यटकले भुक्तमान व्यहोर्नुपरेको छ। 'सी भ्यू' नामक होटलबारे नकारात्मक टिप्पणी गर्ने ती पर्यटकलाई व्यवस्थापनले मानहानिको मुद्दा लगाउँदै जेल पुर्‍याएको हो। थाइल्याण्डमा मानहानिसम्बन्धी कडा कानूनी व्यवस्था छ। वेस्ली बर्नस नामका ती अमेरिकी पर्यटकले...

सम्बन्धित सामग्री

केही समयपछि अर्थतन्त्रले लय समात्छ : डा. महत

विराटनगर। कोभिड–१९ को समयदेखि समस्याबाट गुज्रिरहेको अर्थतन्त्र केही समयपछि लयमा आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित एमबीएस एक्स्पो २०२३ समापन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘अर्थतन्त्र केही समस्यामा थियो अझै पनि छ, तर आउने दिनमा सकारात्मकतिर जान्छ र यसले लय समात्नेछ ।’ केही सकारात्मक सूचकका आधारमा अर्थतन्त्र सुधारमा जाने देखिएको महतको भनाइ छ ।  बजेटले ६ दशमलव ५ प्रतिशतमा राख्ने भनेको मूल्यवृद्धि अहिले ५ दशमलव ३८ प्रतिशतमा झर्नु सकारात्मक रहेको उनले बताए । त्यस्तै शेयर कारोबार १८ सयबाट २२ सयमा पुग्नु, शिथिल भएको जग्गा कारोबारमा सुधार हुनु, बैंकहरूको ब्याजदर घट्नु र ऋण प्रवाह बढ्नुलाई उनले सकारात्मक भने । पर्यटक आगमन बढ्नुलाई पनि उनले अर्थतन्त्र सकारात्मक दिशामा रहेको इन्डिकेटरका रूपमा अथ्र्याए । विदेशबाट आउने विप्रेषण ३० प्रतिशतसम्म बढेको, पूँजीमा यसको सकारात्मक प्रभाव रहेको र १ वर्षलाई पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकाले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने उनले दाबी गरे । उद्योगी व्यवसायीलाई अहिले आत्मविश्वासको आवश्यकता रहेको भन्दै उनले सामाजिक सञ्जालमा नकारात्मक कुरा बढी भएको बताए ।  ‘यो देशमा भविष्य नै पो छैन कि, उद्योग व्यवसाय, रोजगारी बढ्न सक्ने अवस्था छैन कि भन्ने खालका नकारात्मक कुरा मात्रै बढी भए । सबैले नेगेटिभ कुरा मात्रै गर्न थालेकाले आत्मविश्वास कमजोर भएर गयो,’ उनले भने, ‘त्यसैले अहिले अर्थतन्त्रका इन्डिकेटरहरू सकारात्मक भइरहेको अवस्थामा उद्योगी व्यवसायी साथीलगायत नागरिक समाज, राजनीतिक क्षेत्र सबैले सकारात्मक बहसको थालनी गरौं ।’  उनका अनुसार कोभिडका बेला भएको गल्ती सच्याउन राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएर रोक्न खोज्दा ब्याजदर ह्वात्तै बढ्यो । जग्गा पनि विक्री भएन, शेयरबजार पनि बढेन, बैंकको दायित्वचाहिँ बढ्यो । ऋण तिर्न सक्ने अवस्था आएन अनि समस्या आयो । अहिले कसिलो मौद्रिक नीति खुकुलो बनाउँदा ब्याजदर घटेको उनको भनाइ छ । अर्काले नाफा कमाएको देखेर त्यही उद्योग खोल्ने प्रवृत्तिले पनि समस्या आएको भन्दै मन्त्री महतले नयाँ क्षेत्र खोजेर लगानी गर्न सुझाव दिए ।  अनावश्यक क्षेत्रमा भएको लगानी र प्रतिफल पाउने क्षेत्रमा सरकारले लगानी नगर्दा समस्यालाई मलजल पुगेको उनले बताए । अर्थतन्त्र धेरै समस्याबाट गुज्रिएकाले रातारात सकारात्मक नहुने, विस्तारै हुने र यो क्रम शुरू भएको उनले बताए ।  सामाजिक सुरक्षालगायत दायित्वको कारण विकास खर्च खुम्चिएको अर्थमन्त्री महतको भनाइ छ । ‘आम्दानी थोरै र खर्च गर्नुपर्ने क्षेत्र बढी भएकाले पूँजीगत खर्च खुम्चिएको हो,’ उनले भने, ‘आईटी र हाइड्रोको योजनाहरुले अब अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।’ विद्युत् प्राधिकरण र उद्योगीबीचको समस्या चाँडै टुंगिनुपर्ने पनि उनले बताए । तिर्नुपर्ने अवस्था हो भने तिर्ने र तिर्नु नपर्ने अवस्था हो भने नतिर्ने गरी यसको छिनोफानो गर्नुपर्ने डा. महतले बताए ।

मौद्रिक नीतिका केही कमजोरी: के व्यावसायिक क्षेत्र र शेयरबजारमा सुधार हुन्छ त ?

कुनै पनि मुुलुकको केन्द्रीय बैंकले समग्र मुद्राको आपूर्ति, बैंकदर, बैंक कर्जाको व्यवस्थापन गर्दै बजेटले लिएका आर्थिक लक्ष्य प्राप्त गर्ने उद्देश्यले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । वर्तमान मौद्रिक नीतिको उद्देश्य आर्थिक स्थायित्व, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, रोजगारीको सृजना, आन्तरिक उत्पादनमा सुधार, आर्थिक वृद्धि, वैदेशिक व्यापारमा सन्तुलन, विदेशी विनिमय दर र शोधनान्तर स्थितिमा सन्तुलन कायम, विपन्न वर्ग, कृृषि, साना तथा मझौला उद्यम सञ्चालनमा कर्जा प्रवाह गरी आर्थिक असमानता कम गर्ने, मुद्रास्फीतिमा नियन्त्रण गरी आर्थिक समस्याको समाधान गर्ने रहेको भए तापनि जबसम्म आन्तरिक अर्थतन्त्र सुदृढ हँुदैन तबसम्म मौद्रिक नीतिको लक्ष्य पूरा हुनेमा बढी आशावादी हुने अवस्था रहँदैन ।  अन्तरराष्ट्रिय मुद्राकोषले विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा कमजोर रहने र सन् २०२४ मा केही सुधार आउने प्रक्षेपण गरेको छ । सन् २०२३ मा विश्वको मूल्य स्थितिमा सुधार आए तापनि अझै उच्च रहने कोषको प्रक्षेपण रहेको छ । मूल्य वृद्धिदर कम हुँदै गए तापनि लक्ष्यभन्दा अझै उच्च रहेकाले विकसित र उदीयमान मुलुकहरूले मौद्रिक नीतिको कसिलो कार्यदिशालाई निरन्तरता दिएको भएता पनि आन्तरिक अर्थतन्त्रलाई सुदृढ बनाउन र कर्जा लगानी बढाउन एकीकृत निर्देशनमार्फत कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाउनैपर्छ । अन्यथा व्यावसायिक क्षेत्र र शेयर लगानीकर्ता निरुत्साहित हुने देखिन्छ ।  २०८० साउन ७ गते सार्वजनिक मौद्रिक नीतिले लिएको लक्ष्यमा मुद्राप्रदायको वृद्धिदर १२ दशमलव ५ प्रतिशत प्रक्षेपण, निजीक्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११ दशमलव ५ प्रतिशत प्रक्षेपण, आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत कायम, मुद्रास्फीति ६ दशमलव ५ प्रतिशत कायम गर्ने प्रमुख छन् । त्यस्तै, विदेशी मुद्राको सञ्चिति ७ महीनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने गरी व्यवस्थापन गर्ने, बैंकदर ७ दशमलव ५ प्रतिशत कायम गर्ने, नीतिगत दर ६ दशमलव ५ प्रतिशत, निक्षेप संकलन दर ४ दशमलव ५ प्रतिशत, अनिवार्य नगद अनुपात ४ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । क ख ग वर्गलाई, वैधानिक तरलता १२ प्रतिशतलाई १० प्रतिशत ख र ग लाई, पहिलो आवासीय घरकर्जाको सीमा २ करोड पुर्‍याइएको, राष्ट्रिय स्तरको विकास बैंकले समेत पूर्णरूपमा क्यापिटल एडुक्येसी फ्रेमवर्क २०१५ अनुसार पूँजीकोष कायम गर्नु पर्ने, राहदानी सुविधाबापत १ वर्षमा दुईपटकसम्म अमेरिकी डलर १५०० सम्मको सटही सुविधा परिमार्जन गरी २५०० डलर उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको भए तापनि विगतको अनुभवलाई हेर्दा कार्यान्वयन पक्ष कमजोर भएको कारण उपर्युक्त लक्ष्य पूरा हुनेमा शंका व्यक्त हुन थालेको छ । वर्तमान मौद्रिक नीतिले व्यावसायिक क्षेत्र र शेयरबजार सन्तुष्ट हुन सकेको छैन । शेयरको कर्जा सिलिङ १२ करोड हट्न सकेको अवस्था छैन । तसर्थ हालको आर्थिक गतिविधि चलायमान नहुने कुराको टिप्पणी व्यावसायिक जगतले गरिसकेको छ । कर्जा विस्तारको लक्ष्यसमेत घटेको, खुकुलो मौद्रिक नीतिको कुरा गरिरहँदा गतवर्षभन्दा कसिलो मौद्रिक नीति आयो भन्नेहरूको बाहुल्य देखिन्छ । लघुवित्तलाई सम्बोधन गर्न नसक्नु, विपन्नवर्ग कर्जा यथावत् रहनु, उत्पादनशील क्षेत्रमा नयाँ कर्जा कार्यक्रम नहुनु, कृषि, पर्यटन र ऊर्जामा उत्साहजनक कार्यक्रम नआएको हुँदा यसक्षेत्रलाई समेटन नसकेको हुँदा मौद्रिक नीति केही पक्षमा लचिलो भएता पनि अपेक्षाकृत खुकुलो नभई संकुचनकारी नै छ । सामाजिक र राजनीतिक वृतमा यो मौद्रिक नीतिलाई ठूलो अपेक्षाका साथ हेरिएको भए तापनि मुलुकको समग्र वित्तीय प्रणालीलाई चुस्त र दुरुस्त बनाउन चुकेको हुँदा ‘हात्ती हायो हात्ती आयो फुस्सा’ भएको अनुभूति सर्वसाधारणले गरेको देखिन्छ । बजेटले सम्बोधन गर्न नसकेका कतिपय कुरा मौद्रिक नीतिले समेट्ला भन्नेहरू निराश बन्न पुगेका छन् । व्यावसायिक क्षेत्रका अधिकांश माग पूरा हुन नसकेकाले बैंकहरूका आगामी वर्ष भाखा नाघेको कर्जाको दर ४ प्रतिशतभन्दा बढी हुने देखिन्छ । बाह्य क्षेत्र तथा मूल्य स्थितिमा सुधार आएको छ भनिए तापनि आन्तरिक अर्थतन्त्रको अवस्था भने नाजुक छ । आन्तरिक अर्थतन्त्रमा सुधार नभएसम्म सरकारी वित्त स्थिति दबाबमा परिरहन्छ । निजीक्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धि सुस्त रहेको, आर्थिक गतिविधिमा शिथिलता आएको, बंैकिङ प्रणालीको निष्क्रिय कर्जा अनुपात बढेको, महँगीमा अपेक्षित नियन्त्रण नभएको कारण सरकारी वित्त स्थिति दबाबमा परेको हो ।  बैंकहरूले कर्जाको ब्याजदर केही घटाएको भएता पनि मुद्दती निक्षेपको भार अझै बढिरहेको र बचतमा ब्याज घट्न नसकेको कारण कर्जाको ब्याज अपेक्षित रूपमा अझै नघटेको हुँदा कर्जा लगानी आकर्षित हुन सकेको छैन । विप्रेषण आप्रवाहमा भएको सुधार र आयात व्यापारमा आएको कमीका कारण विदेशी मुद्राको सञ्चिती बढेको र बंैकिङ क्षेत्रमा तरलतासमेत बढेको भए तापनि आयात प्रतिस्थापन उद्योगको विकास र कर्जाको विस्तार एवं कुुल गार्हस्थ्य उत्पादनमा सुधारविना आन्तरिक अर्थतन्त्रमा सुधार नआउने कुरामा कसैको दुईमत नहोला । मौद्रिक नीतिले समेट्न नसकेका पक्षहरूमा ब्याजदर घटाउने, कर्जा पहुँच विस्तार गर्ने, घरजग्गा, शेयर, हायरपर्चेजलगायत क्षेत्रमा कर्जा विस्तारका कार्यक्रम देखिँदैन । शेयरबजारको सुधारका लागि देखिने गरी कुनै प्याकेज छैन । आवासीय घरकर्जाको सीमा १ करोड ५० लाखबाट २ करोड पुर्‍याउँदैमा कर्जा बढ्दैन । ५० लाखसम्मको शेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्दैमा शेयरबजारमा सुधार हुने कुरामा विश्वास गर्ने आधार देखिँदैन ।  बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा शीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । त्यसैगरी, निजीक्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।  लघुवित्त कार्यक्रममार्फत वित्तीय सेवाका अतिरिक्त विपन्न वर्गको शीप तथा उद्यमशीलता विकास र साना उद्यम व्यवसायलाई प्रवर्द्धन गर्न सहयोग पुगेको छ । लघु बचत तथा लघु कर्जाको विस्तारबाट विपन्न वर्गमा वित्तीय सेवाको पहुँच अभिवृद्धि भएको छ । यसबाट विपन्न वर्गलाई वित्तीय छनोटको अवसर प्राप्त हुनुको साथै यस्तो वर्ग अनौपचारिक वित्तीय दोहनमा पर्न सक्ने जोखिम कम हुँदै गएको छ । विपन्न वर्गमा प्रवाह हुने लघुवित्त कर्जालाई थप सहुलियतपूर्ण बनाउन बैंक तथा वित्तीय संस्थाले लघुवित्त संस्थालाई आधारदरमा २ प्रतिशत बिन्दुसम्मले मात्र प्रिमियम थप गरी थोक कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । तर, यसबाट गरीबीको रेखामुनि रहेका लक्षित वर्ग लाभान्वित हुन सकेको अवस्था छैन ।   विश्व अर्थतन्त्रले भोग्नुपरेको उच्च मुद्रास्फीतिको स्थितिमा क्रमश: सुधार हुँदै गएको छ । यद्यपि, ऊर्जाको मूल्य अनिश्चितता, रुस–युक्रेनबीच जारी युद्ध र आर्थिक मन्दीको सामना गर्न अवलम्बन हुन सक्ने नीतिगत लचकताका कारण नेपालको समेत मुद्रास्फीति बढ्न सक्ने जोखिम कायमै रहेको छ । पर्यटक आगमनमा सुधार, कोभिडको असर कम भएसँगै अन्तरराष्ट्रिय यात्रा मापदण्डहरू खुकुलो बनाइएको छ भने व्यावसायिक वातावरण सहज बन्दै गएको यथार्थ हो । नेपाल सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशकका रूपमा मनाउने घोषणा गरेको र होटेल, एयरपोर्टलगायत पर्यटनसँग सम्बद्ध पूर्वाधारहरूको विस्तार हुँदै गएकाले आगामी वर्षहरूमा विदेशी पर्यटकको आगमन संख्यामा निरन्तर वृद्धि हुने भएकाले पर्यटन क्षेत्र थप विस्तार हुने देखिएको छ । बाह्य रोजगारीमा जानेको संख्या बढेकाले विप्रेषण आप्रवाह पनि सन्तोषप्रद रहने अनुमान छ । तर, उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढेकोले आन्तरिक माग केही हदसम्म प्रभावित भएको छ । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभन्दा केही माथि रहने देखिएको छ । खाद्यान्न, दुग्धपदार्थ, मसला, घरायसी उपभोग्य वस्तुहरू, आयातित वस्तुहरू र इन्धनको मूल्य वृद्धिका साथै अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको छ । त्यसैले बजार मूल्य अनुगमनलाई प्रभावकारी बनाई कृत्रिम मूल्य वृद्धि हुन नदिने उपाय अवलम्बन गर्न ढिला भइसकेको छ ।  बाह्य क्षेत्रको दिगो सुधारका लागि निर्यात तथा पर्यटन प्रवर्द्धन गर्ने, वैदेशिक लगानी विस्तार गर्ने र औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह भित्त्याउने कार्यलाई प्राथमिकतामा राख्न आवश्यक छ जसले आन्तरिक अर्थतन्त्रको सुदृढीकरणमा पनि मद्दत गर्छ । पूँजीगत खर्च समयमा नै अपेक्षित रूपले हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलतामा आएको संकुचनको फलस्वरूप ब्याजदर वृद्धि भई कर्जा मागमा कमी आउनुजस्ता कारणले कर्जा विस्तार कम रहन गएको हो । २०८० असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ८१ दशमलव ६२ प्रतिशत रहेको छ । बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । फलस्वरूप, अल्पकालीन ब्याजदरहरू घटेका छन् भने दीर्घकालीन ब्याजदरहरूसमेत घट्ने क्रममा रहेका छन् । यसरी बाह्य क्षेत्र र तरलतामा आएको सुधारबाट आन्तरिक आर्थिक गतिविधि चलायमान हुँदै जाने अपेक्षा गरिएको भएता नीतिको कार्यान्वयन पक्षमा सुधार नआएसम्म व्यावसायिक क्षेत्रले यथेष्ट लाभ लिन नसक्ने र शेयरबजारको गति धिमा नै रहने कुरामा कसैको दुईमत नहोला ।  लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

अब आध्यात्मिक पर्यटनको केन्द्र बन्दै खप्तड, यसकारण एकपटक पुग्नैपर्छ

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ ।  चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुगे । आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाले। विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो । इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिए । सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सरे । गर्मीयामका छ महिना खप्तड लेक र छ महिना खप्तडछान्नाकै दारूगाउँ गरेर खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा साधना गरेर बिताए । लामो समय खप्तडमा बिताउनुभएका खप्तड बाबाले आफ्ना नाम भने खुलाएनन् । युगपुरूष भन्दै धेरैले उनको नाम ‘श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वती’ राखिदिए । स्थानीयले भने छोटो नाम ‘खप्तड बाबा’, ‘खप्तड स्वामी’ राखे र सोही नामले सर्वत्र चिनिए । उनकै कारण अहिले पनि खप्तडले प्रसिद्धि कमाइरहेको छ । खप्तड बाबासँग राजपरिवारको निकटता विसं २०३८ को वैशाख महिनामा तत्कालीन राजा वीरेन्द्र हेलिकोप्टरमा सुदूरपश्चिम भ्रमणमानिस्किए। कर्णाली नदी हुँदै बाजुराको आकाश भएर खप्तड पुगेका राजालाई पहिलोपटक खप्तड बाबाले नै स्वागत गरे। रानी ऐश्वर्यासँगै खप्तड पुगेका राजा वीरेन्द्रले बाबासँग लामो भलाकुसारी र विचार मन्थन गरे।  खप्तड बाबाबारे जानकार प्राध्यापक शिवगोपाल रिसालले लेखेको श्रीखप्तड बाबा महाकाव्यमा उल्लेख भएअनुसार राजा वीरेन्द्र हरेक वर्ष बाबालाई भेट्न सपरिवार, सहयोगीसहित खप्तड गइरहन्थे । आफूलाई केही तनाव भए, मुलुकमा केही सङ्कटजन्य परिस्थिति आए राजा वीरेन्द्र खप्तड बाबासँग सल्लाह लिन आइहाले । खप्तडमा जडीबुटीबारे अनुसन्धान गर्दै ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’सहित करिब डेढ दर्जन पुस्तक लेख्नुभएका खप्तड बाबा र राजा वीरेन्द्रबीच निकटता बढेपछि उहाँ काठमाडौँसमेत जान थाले। प्राध्यापक रिसालका अनुसार राजा वीरेन्द्रले खप्तड बाबाका लागि बुढानीलकण्ठमा एउटा आश्रमसमेत बनाइदिएका थिए । उनको निधन हुनुभन्दा साता दिन अगाडि पनि बुढानीलकण्ठमै थिए भन्ने जानकारहरू बताउँछन् । लामो समय खप्तडमा साधनागरेका बाबाको आश्रममै बिरामी भएपछि हेलिकोप्टरमा काठमाडौँ ल्याउने क्रममा कालीगण्डकी नदीमाथिको आकाशमा २०५३ वैशाख २७ गते ब्रह्मलीन भएको इतिहासकार शास्त्री बताउँछन् । उनका अनुसार बाबाको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्य खप्तड आउन छाडेका थिए । “जीवित छँदा भने गङ्गादशहरामा दर्शन गर्न हरेक वर्ष पूर्वराजा वीरेन्द्र खप्तड पुग्ने गर्थे”, उनले भने। स्वामी खप्तड पस्नुअघि भने त्यो क्षेत्र लेकमात्रै थियो । घना जङ्गल हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दासमेत पाटनमा आवतजावत खासै गर्दैनथे । खप्तडसँग स्वामी गासिएपछि भने खप्तडले आफ्नो सौन्दर्यताको प्रचार पायो ।  ‘उच्चपदस्थका व्यक्ति’को भ्रमणपछि बाक्लिए पर्यटक  विसं २०७३ असारमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणि पौड्यालसहितको टोलीले खप्तड भ्रमण गरेका थिए । त्यसभन्दा अघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदासमेत गङ्गादशहरा मेलामा मन्त्री, सचिवसहित जम्बो टिम हेलिकोप्टरमा खप्तड पुगेका थियो । पूर्व युवराज पारस शाहसँग स्व धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, पूर्वप्रहरी प्रमुख हेमबहादुर सिंहका छोरा प्रवनजङ्ग सिंह (आध्यात्मिक नामः योगी व्याग्र वेदनाथ) सहित १५–२० जनाको टोली खप्तड पुगेको थियो । वेदनाथ ‘बाबा’ बनेकै कारण साधनाका गर्न खप्तड पुगेका थिए । त्यसबेलामा खप्तडमा असुविधाका कारण सबै आवश्यक सरसामानको चाँजोपाँजो मिलाएर भरियासहित खप्तड गएका थियो । पूर्वराजा वीरेन्द्रले उच्च अधिकारीका लागि बनाएको पाहुनागृहमा बसेर पारसको टोलीले एक साता बिताएका थिए भने पौड्यालको टोली दुई दिनमै फर्किएको थियो । विसं २०७३ मङ्सिर २३ मा तत्कालीन प्रधानमन्त्री (वर्तमानसमेत प्रधानमन्त्री) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडको अवलोकन गरेका थिए । दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाको अनुगमनमा जानुभएका प्रधामन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका थिए । खप्तडमा उनले केही समय बिताएर फर्कनुभएको थियो । यसरी उच्चपदस्थका व्यक्तिको भ्रमणपछि खप्तडमा पर्यटकको सङ्ख्या बढ्दै गएको हो । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार उच्चपदस्थका व्यक्तिको भ्रमणपछि हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक र १०–१५ जना विदेशी पर्यटक थपिँदै गएका छन् । योग शिविरमै बाक्लो उपस्थिति गत वर्ष खप्तड क्षेत्रमा पहिलोपटक योग शिविर सञ्चालन हुँदा सहाभागीको सङ्ख्या बाक्लो रह्यो । योग जागरणका लागि ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक शिविर तीन दिनसम्म चलेको थियो । जसमा अढाइ सयभन्दा बढी योग साधक सहभागी थिए । नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अड्डा राजपुर ब्यारेक दिपायल, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा चिन्तामणिनाथ योगी, योगगुरू पुष्पराज पुरूषसहितको टोली एक सातासम्मै खप्तड बसेका थिए । खप्तडमा बाबा व्याग्र वेदनाथ भने साधनाका लागि पटक–पटक खप्तड पुगिरहन्छन्। खप्तडमा रहेको नेपाली सेनाका अनुसार खप्तड बाबापछि धेरैपटक खप्तडमा आएर साधाना गर्नेमा वेदनाथ नै पर्छन् । गङ्गादशहरा मेलामा आउने बाबाहरू भने दुई–तीन दिन धर्मशालामा बसेर फर्किने गरेको दर्शनार्थीको बुझाइ छ । खप्तड अध्यात्मको केन्द्र बन्ने विश्वास स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योगगुरू हुन । योगासन र प्राणायामको सरल विधि सिकाएर योगमा क्रान्ति ल्याएका रामदेव अबको दुई सातापछि खप्तड आउन लागेका छन् । खप्तडमा हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन २३ जेठदेखि तीन दिनसम्म चल्नेछ । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सुदूरपश्चिम प्रदेश र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलनको प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्षनेता, जगत्गुरू कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जना सहभागी हुने समितिका कार्यकारी निर्देशक खड्काले जानकारी दिए । “सम्मेलनको उद्घाटनपछि योगी रामदेवले ध्यान गराउने र प्रवचन दिने कार्यक्रम तय गरिएको छ”, खड्काले भने, “त्यसपछि योगाभ्यास गरिने, खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय भएको छ ।” सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्याउन मद्दत पुग्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिं ओलीले बताउनुभयो । उनले भने, “भारतीय पर्यटकमात्रै भए पनि खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”  खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको तथ्याङ्कानुसार पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा बढी चालु आर्थिक वर्षमा ६३ विदेशी पर्यटकले खप्तडको अवलोकन गर्नुभएको छ । यो सङ्ख्या बढाउनका लागि पनि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन अनिवार्य भएको प्रदेशसभा सदस्य ओलीले बताउनुभयो । मुख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन यही जेठ २३–२५ सम्म सञ्चालन हुने अध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधि आयोजक समितिमा छन् । सम्मेलन आयोजनाको लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ भने सम्मेलन सफल पार्न १५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । खप्तडको ऐतिहासिकता   पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ । संस्कृतिका जानकार खप्तडछान्ना गाउँपालिका–६ का ज्ञानबहादुर खड्काका अनुसार खप्तडमा रहेको केदार ढुङ्गा पनि भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको कपडाको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएका थिए भन्ने कथन छ । “त्रिवेणी पाटनमा केदारढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ”, उनले भने। घायलका अनुसार खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँको छुट्टै पौराणिकता रहेको र तत्ठाउँमा स्थानीयले शिवको पूजा गर्दै आएका छन् ।  खप्तडको स्वरूप धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँट, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ । वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूले खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम नभएको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानको आ–आफ्नै महत्व र पौराणिकता छ । खप्तड ‘२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) को सङ्गम’ भनेर पनि परिचित छ । समुद्र सतहबाट २४–३७ सय मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर, सयौँ पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना (२०४२) भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको थियो । के–के पाइन्छ खप्तडमा ? बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र एक सय ९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि नौ र झाडी बुट्यान दुई दशमलव आठ वर्गकिमीमा फैलिएको छ । खप्तडमा तीन सय ८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइने गरेको तथ्याङ्कले देखाएको छ । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात दुई सय तीन, लहरा आठ र उन्यु १९ प्रजातिका रहेका छन् । तथ्याङ्कानुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । सोमबारबाट गङ्गादशहरा हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गङ्गादशहरा मेलामा हजारौँ तीर्थालु खप्तड पुग्ने गर्नुहुन्छ । यस वर्ष तीर्थालुको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गङ्गादशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गङ्गादशहरा मेला खप्तडको प्रमुख आकर्षण बनेको हो । मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म लम्बिने गरेको छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गरेर सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने गर्छन् । शुक्रबारबाटै विभिन्न कार्यक्रम हुने खप्तडमा दशहरा मेला भने मङ्गलबार हुनेछ । यस वर्ष खप्तडदेखि प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी मन्दिरसम्म हाइअल्टिच्युड म्याराथन प्रतियोगिताको दोस्रो संस्करण १७ गते बिहान ६ बजेदेखि सुरु हुने उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले जानकारी दिए । उनका अनुसार पुरूष म्याराथन प्रतियोगितामा ४२ दशमलव पाँच किलोमिटर दूरी (खप्तड–डोटी शैलेश्वरी) तोकिएको छ भने झिग्रानाबाट सिलगढीको शैलेश्वरी मन्दिरसम्म महिलाका लागि हाफ म्याराथन प्रतियोगिता सोही दिन हुनेछ ।  पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म खप्तड क्षेत्रमै सञ्चालन गरिने भएको छ भने घोडादौड प्रतियोगिता जेठ १५ गते हुने डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उनका अनुसार देउडा प्रतियोगिता १६ गते राति हुने भएको छ । डोटी उद्योग वाणिज्य सङ्घ, सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा, श्री भैरवप्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन् । –भूमिराज पिठातोली रासस

अभियान टिप्पणी : हरेक वर्ष लगानी वर्ष

नेपाल उद्योग परिसंघले अर्थमन्त्री प्रकाशशरण महतलाई भेटी आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न सुझाव दिएको छ । मुलुकलाई आर्थिक रूपान्तरण गर्न ठूलो परिमाणमा लगानी चाहिएको सन्दर्भमा केकस्ता उपाय अपनाउँदा उपयुक्त हुन्छ भनेर विभिन्न सुझाव दिनु सही नै हो । त्यसमाथि पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाले दिने सुझावले विशेष महत्व राख्ने गर्छ । यद्यपि सरकारले यस्ता सुझावलाई निकै कम महत्व दिने गरेको छ । तर, अहिले परिसंघले ५ वर्षलाई लगानी वर्ष घोषणा गर्ने जुन सुझाव दिएको छ त्यो भने खासै अर्थपूर्ण देखिँदैन किनकि अहिले मुलुकलाई हरेक वर्ष थप लगानीको आवश्यकता छ ।  कुनै १ वर्षलाई कुनै एक क्षेत्रमा विशेष प्राथमिकता दिन विशेष वर्ष घोषणा गरी अभियान सञ्चालन गर्ने गरिएको छ । नेपालमा यस्ता कार्यक्रमको प्रभावकारिता भने उत्साहजनक देखिएको छैन । वार्षिक कार्यक्रमकै कार्यान्वयन फितलो भएको अवस्थामा यस्ता कार्यक्रम प्रभावकारी नहुनु सामान्य नै हो । लगानीका लागि कुनै अवधि तोकेर कार्यक्रम ल्याउनु जरुरी छैन । लगानीमैत्री वातावरण बनाएर धेरैभन्दा धेरैलाई लगानी गर्न उत्प्रेरित गर्नु आवश्यक छ ।  विकसित मुलुकहरूले समेत लगानी बढाउन अनेक कार्यक्रम ल्याइरहेका हुन्छन् । त्यसका लागि कुनै अवधिको विशेष अभियान चलाएको पाइँदैन । यस्तो अभियान चलाएर लगानी बढी भित्रिने पनि होइन । अतः लगानीलाई प्रोत्साहन गर्न हरेक वर्ष उत्तिकै सक्रिय र सचेत हुन जरुरी देखिन्छ ।  हो, कुनै खास क्षेत्रमा मात्रै लगानीका लागि अभियान सञ्चालन गर्न सकिन्छ । जस्तै ५ वर्ष जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकता दिन सकिन्छ । अथवा ५ वर्ष खास खास उद्योगलाई उच्च प्राथमिकता राखेर प्रोत्साहित गर्न सकिन्छ । यस्तो विशेष अभियान प्रभावकारी बन्न सक्छ । तर, भ्रमण वर्ष भनेर विशेष अभियान चलाउँदा पर्यटक बढेजस्तो लगानी वर्ष मनाउनु व्यावहारिक देखिँदैन ।  परिसंघले कसरी लगानी बढी भित्याउन सकिन्छ भनेर चासो राख्नु र सुझाव दिनु उपयुक्त हो । उसले उठाएका सबै विषय जायज छन् तर ५ वर्ष लगानी वर्ष भनेर मनाउनुचाहिँ परिणाममुखी हुने सम्भावना कमै देखिन्छ ।

घोषणा हुन मात्र बाँकी छ, चुनाव त जितिसकेको छु : किसान श्रेष्ठ

बारा निर्वाचन क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठ आफूले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए । यो पटक तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार बनेपछि श्रेष्ठ बारा–४ बाट गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । श्रेष्ठ तनहुँबाट बारा पुगेपछि कतिपयले उनलाई पर्यटक उम्मेदवार समेत भनेर टिप्पणी गर

पर्यटनको भारतीय बजारलाई उपेक्षा

नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ  । बुद्ध  जन्मस्थलमा आउने पर्यटकलाई लक्षित गरी बनाइएको यो विमानस्थल सञ्चालनमा आए पनि त्रिभुवन विमानस्थलको विकल्प बन्न सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन । निजगढ विमानस्थल बनाउन ठूलो खर्च लाग्छ तर भैरहवा विमानस्थल राम्ररी सञ्चालन गर्न सकिए त्रिभुवन विमानस्थलमा हुने भीडभाड कम गर्न सकिन्छ । श्रीलंका, थाइल्यान्ड, चीन लगायतका मुलुकबाट पर्यटक भित्र्याउन यो विमानस्थल निकै सहयोगी हुन सक्छ तर यसका लागि आवश्यक एयर रुट भारतले नदिएकाले यसको पूर्ण उपयोग हुने सम्भावना भने कमै देखिएको छ   भारतीय पर्यटक भनेका खर्च नगर्ने भन्ने सोच पाइन्छ । यही सोचले गर्दा नेपालको पर्यटन पछि परेको हो भन्न सकिन्छ । यस विमानस्थलमा भारतीय सहरबाट उडान गर्न थालियो भने भारतीय पर्यटक ल्याउन सहज हुन्छ । साथै, बुद्धिस्ट सर्किटमा आउने पर्यटकलाई पनि यसमा जोड्न सकिन्छ । भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल बनाएको छ । जन्मबाहेक बुद्धसँग सम्बन्धित अन्य क्षेत्र भारतमा नै पर्दछ । त्यसैले उसले कुशीनगरलाई उच्च महत्व दिएको देखिन्छ । भैरहवा विमानस्थलमा भारतीय प्रधानमन्त्रीलाई ओराल्न नसक्नु नेपालको कमजोरी हो । भारतीय पर्यटक तान्ने एउटा ठूलो अवसर यसबाट गुमेको छ । भारतीय पर्यटन बजारका लागि मोदी सित्तैका प्रचार पाउने माध्यम हुन् । उनले मुक्तिनाथको दर्शन गरे पछि त्यहाँ आउने भारतीय पर्यटकको संख्या निकै बढेको यहाँ स्मरणीय छ । भैरहवा विमानस्थलमा उनलाई ओराल्न सकेको भए यो विमानस्थलको पनि प्रचार हुन्थ्यो । हुन त भारतले यो विमानस्थलका लागि आवश्यक हवाइ रुटको माग पूरा हुँदैन भन्ने सन्देश दिनका लागि हेलिप्याडमा उत्रने निर्णय गरेको हुन सक्छ । जे भए पनि नेपालले आफै पहल नगरेको अवस्थामा भारतलाई मात्रै दोष दिनु उपयुक्त हुँदैन । नेपालमा ठूलो संख्यामा भारतीय तीर्थयात्री आउने गरेका छन् । चाहे तीर्थयात्री होऊन् चाहे विशुद्ध पर्यटक, उनीहरूलाई नेपालमा राम्रो व्यवहार गरेको कमै पाइन्छ । भारतीय पर्यटक भनेका खर्च नगर्ने भन्ने सोच पाइन्छ । यही सोचले गर्दा नेपालको पर्यटन पछि परेको हो भन्न सकिन्छ । विभिन्न धार्मिक स्थल र पर्यटकीय स्थलमा पनि भारतीय तीर्थयात्रुलाई हेपेर व्यवहार गरेको पाइन्छ । यहाँ आएका ती पर्यटकले लिएर जाने अनुभव राम्रो भएन भने थप पर्यटक कसरी आउलान् ? त्यसैले भारतीय पर्यटकमाथि दुव्र्यवहार हुनु हुँदैन । नेपालमा आउने पर्यटकमा भारतीयहरूको संख्या सर्वाधिक छ । सबै खर्चालु नहोलान् तर खर्चालु पर्यटक पनि आएका छन् । भारतीय सेलेब्रिटीहरूले नेपालको सित्तैमा प्रचार गरिदिएका छन् । यो पाटो हामीले बिर्सनु हुँदैन । भारतीयहरू आफ्नै गाडी लिएर नेपाल आउन पाउँछन् । त्यसो हुँदा गर्मी छल्न, तीर्थ गर्न, हनिमुन मनाउन तथा सस्तो पर्यटकीय गन्तव्यको मजा लिन उनीहरूले नेपाललाई रोज्ने गरेका छन् । तर, नेपालको पर्यटन बजार नीति के हो, कस्तो हो, अन्योलपूर्ण नै देखिन्छ । अन्य देशमा भन्दा भारतमा नेपालको प्रचार नीति फरक हुनुपर्छ । यहाँ आएका भारतीय पर्यटकले सकारात्मक सन्देश लैजानु पर्छ । तर भारतीयहरूप्रतिको नकारात्मक टिप्पणी र हेलचेक्य्राइँपूर्ण व्यवहारले नेपालले एउटा राम्रो बजार गुमाउन सक्छ । भारतीय पर्यटकले बार्गेनिङ जरुर गर्छन् तर तीर्थयात्रीबाहेक अन्य पर्यटकले खानेकुरा बोकेर आउने गर्दैनन् । त्यसैले झोले पर्यटकभन्दा भारतीय पर्यटकबाट व्यवसायीले बढी लाभ लिन सक्छन् र लिएको पनि पाइन्छ । होटलमा बस्न आउने भारतीय र चिनियाँ पर्यटक तुलना गर्ने हो भने खर्चका मामिलामा भारतीय नै अगाडि रहेको समेत पाइन्छ । तर, भारतीय पर्यटक लक्षित पर्यटन प्याकेज खासै छैन । मानसरोवर यात्रा एउटा राम्रो प्याकेज छ तर त्यो अहिले कोरोनाका कारण ठप्प छ । साहसिक  पर्यटनका लागि भारतीय पर्यटक तान्न सकिएको छैन जब कि त्यसको सम्भावना राम्रो छ । भारतीय पर्यटक ल्याउन भारतका विभिन्न ठूला सहरमा नेपाली वायु सेवा कम्पनीहरूले उडान थाल्नुपर्ने हुन्छ । भारतकै विमानहरू अब भैरहवा र पोखरामा सिधै उडाउन आकर्षित गर्नुपर्छ । भैरहवा त खुला भएको छ तर भारतीय वायु सेवा कम्पनीहरूले यहाँ उडान गर्न चासो दिएका छैनन् । चितवन, भैरहवा आदि क्षेत्रमा नेपालीले विमानबाट भारत जानका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । त्यस्तै पोखरामात्र घुम्न चाहने भारतीय पर्यटकहरूलाई काठमाडौं आएर पोखरा जानुपर्ने बाध्यता छ । मानसरोवर जाने भारतीय तीर्थयात्रुहरू पहिला काठमाडौं आउने अनि नेपालगन्ज भएर जानुपर्ने बाध्यता छ । यसको अन्त्यका लागि भैरहवा विमानस्थल उपयुक्त विकल्प देखिन्छ । नेपालीहरू भारतमा विभिन्न धार्मिक स्थलमा जाने गरेका छन् तर त्यहाँ उनीहरूले खर्च गर्नुपर्ने ठाउँ धेरै हुन्छ । तर नेपालमा आउने भारतीय तीर्थयात्रुहरूलाई मन्दिरहरूमा कुन कुन पूजा लगाउन मिल्छ जस्तो कुरा पर्याप्त जानकारी हुँदैन । उदाहरणका लागि पशुपतिनाथको दर्शन गर्न आएको भारतीय तीर्थयात्रीहरू सँगैका गुह्येश्वरी मन्दिर ज्यादै कम जान्छन् । उनीहरूलाई त्यहाँ लैजान नसक्नु नेपालको कमजोरी हो । त्यस्तै काठमाडौं आइसकेका उनीहरूलाई बूढानीलकण्ठ, डोलेश्वर आदि मन्दिर लैजान नसक्नु पनि ठूला कमजोरी नै हो । केवलकारको सञ्चालन पछि मनकामना मन्दिर जाने भारतीय पर्यटक बढेका छन् तर पशुपति आउने धेरैलाई मनकामना मन्दिरबारे थाहा छैन । नेपालीहरू हँसिला र सहयोगी भनी विश्व पर्यटन बजारले चिनेको छ । यही भएर पनि पर्यटकहरूले नेपाल रोज्ने गरेका छन् । तर, भारतीय पर्यटकले भने यस्तो अनुभव कमै गरेको पाइन्छ । उनीहरूलाई पर्यटक नै होइनन् जस्तो सोच कतिपय नेपाली, पर्यटनकर्मी र व्यवसायीमा पाइन्छ । भारतमा मध्यम वर्गको उदय भइरहेको छ । त्यसैले भारतीयहरू भ्रमणका लागि अन्य मुलुक जाने क्रम बढ्दो छ । बालीले हिन्दु मन्दिर र संस्कार देखाएरै विश्व पर्यटन बजार आफूतिर आकर्षित गरिरहेको छ तर नेपाल भने विश्वमै हिन्दु बहुल देश भएर पनि उनीहरूलाई पर्यटक बनाएर ल्याउन सकिरहेको छैन । यसमा नेपालकै कमजोरी देखिन्छ । पन्त नेपाल एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

सीएनआई अध्ययनको निष्कर्ष : अर्थतन्त्र संकटमा छैन

काठमाडौं । अर्थतन्त्र संकटमा छ भनेर चौतर्फी टिप्पणी भइरहेका बेला नेपाल उद्योग परिसंघ (सीएनआई) ले त्यसलाई अस्वीकार गरेको छ । अर्थतन्त्र संकटमा नभएको दाबी गर्दै सीएनआईले अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । साथै, अर्थविद्ले पनि अर्थतन्त्र संकटग्रस्त नभएको टिप्पणी गरेका छन् ।  मुलुकको बैंकिङ प्रणालीमा तरलता अभाव, बढ्दो व्यापार तथा शोधनान्तर घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो मूल्य वृद्धिदर, ऊर्जा ९इन्धन० अभावलगायत कारण अहिले अर्थतन्त्र संकटमा गएको भनेर चौतर्फी टिप्पणी भइरहेको छ । कतिपयले त नेपाल श्रीलंकाको जस्तै आर्थिक संकटमा पुग्न लागेको भनेर पनि विश्लेषण गरेका छन् । नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरै राम्रो रहेको सीएनआईको प्रतिवेदनमा उल्लेख छ ।  सीएनआईले तथ्यांकसहित आर्थिक संकटको अवस्था नभएको दाबी गरेको हो । यद्यपि, संयमित भएर अघि बढ्नुपर्ने अवस्था भने रहेको प्रतिवेदनमा उल्लेख छ ।  अहिले नेपालको राष्ट्रिय ऋणको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० दशमलव ५ प्रतिशत छ । श्रीलंकाको राष्ट्रिय ऋणको आकार जीडीपीको १११ प्रतिशत छ ।  यस्तै, नेपालसँग ६ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । श्रीलंकासँग १ महिनाको वस्तु तथा सेवा धान्न सक्ने विदेशी मुद्रा सञ्चिति पनि छैन । श्रीलंका आधारभूत वस्तुसमेत आयात गर्न नसक्ने अवस्थामा छ ।  नेपालको मुद्रास्फीति ९मूल्य वृद्धिदर० ७ प्रतिशत हुँदा श्रीलंकाको २५ प्रतिशत पुगेको छ । यो अवस्थामा नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नहुने प्रतिवेदनमा उल्लेख छ । त्यसमाथि समग्र अर्थतन्त्रनै संकटग्रस्त नभएको सीएनआईको दाबी छ । चालू आर्थिक वर्ष ९आव० को पछिल्लो ३ महीनाको आर्थिक गतिविधि हेर्दा अर्थतन्त्र संकटग्रस्त अवस्थामा नदेखिने प्रतिवेदनमा उल्लेख छ ।  चालू आवको पहिलो ५ महीनामा ९साउनदेखि मंसिरसम्म० मासिक औसत १ खर्ब ६७ अर्बको आयात भएको थियो । त्यसपछिको ३ महीना ९पुस, माघ र फागुन० मा मासिक औसत १ खर्ब ५६ अर्ब रुपैयाँको आयात भएको छ । यसअनुुसार पछिल्लो समय आयात घटेको छ ।  यस्तै, चालू आवको पहिलो ५ महीनामा ३ दशमलव २४ प्रतिशतले विदेशी मुद्रा सञ्चिति ऋणात्मक भएको थियो । त्यसपछिको ३ महीनामा १ दशमलव ५३ प्रतिशतले मात्रै विदेशी मुद्रा सञ्चिति घटेको छ ।  चालू आवको ५ महीनामा २८ अर्ब ४० करोड बराबरको पूँजीगत बजेट खर्च भएको थियो । त्यसपछि ३ महीनामा ४८ अर्ब ७० करोड रुपैयाँ बराबरको पूँजीगत बजेट खर्च भएको छ ।  पछिल्लो ३ महीनामा विप्रेषण आप्रवाह पनि बढेको अध्ययनले देखाएको छ । चालू आवको पहिलो ५ महीनामा मासिक औसत ७७ अर्ब ७० करोड रुपैयाँ बराबर विप्रेषण आएको थियो । त्यसपछिको ३ महीनामा मासिक औसत ८० अर्ब ८० करोड रुपैयाँको दरले विप्रेषण आएको छ । यस्तै, पछिल्लो ३ महीनामा पर्यटन आगमन समेत बढेको छ । चालू आवको पहिलो ५ महीनाको पर्यटक आगमन मासिक औसत १७ हजार ७५७ थियो । त्यसपछिको ३ महीनामा मासिक औसत २६ हजार २४९ विदेशी पर्यटक आएका छन् ।  यी तथ्यांकमा आधारमा नेपालमा आर्थिक संकट नभएको सीएनआईका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । यद्यपि, संयमित हुने बेला भने भएको उनको भनाइ छ ।  सीएनआईले मंगलवार पत्रकार सम्मेलन गरेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । ‘नेपालमा आर्थिक संकट आएको छ भनेर टिप्पणी गरिएको छ । तर, तथ्यांक हेर्दा त्यस्तो देखिँदैन । विदेशी मुलुकमा ३ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिलाई राम्रो मानिन्छ । हाम्रोमा ६ महीनाभन्दा बढीको आयात धान्न पुग्ने सञ्चिति हुँदा पनि आर्थिक संकट भयो भनिएको छ, जुन सत्य होइन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यस विषयमा गलत सूचना प्रवाह गरिएको छ । साथै, यसकै नाममा सरकारी निकायले चालेका कदमले बरु समस्या निम्त्याएको छ ।’ पूर्वअर्थसचिव तथा अर्थविद् रामेश्वर खनालले पनि अर्थतन्त्र खास संकटमा नभएको बताए । साथै, नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो पनि नभएको उनको भनाइ छ ।  ‘अहिलेको अवस्था हेर्दा अर्थतन्त्रलाई संकटमा छ भन्न मिल्दैन । साथै, नेपालको अर्थतन्त्रलाई श्रीलंकाली अर्थतन्त्रको अवस्थासँग तुलना गर्न पनि मिल्दैन । त्यहाँ आधारभूत वस्तुको आयातसमेत धान्न नसक्ने गरी विदेशी मुद्रा सञ्चिति घटेको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘श्रीलंकाको तुलनामा त हामी धेरै सहज अवस्थामा छौं । ६ महीनाभन्दा बढीको वस्तु तथा सेवा धान्ने गरी विदेशी मुद्रा सञ्चिति हुनु पर्याप्त हो । त्यो घटेर ३ महीनामै पुग्यो भने पनि हामी आत्तिनु पर्दैन, हामी सेफ जोनमै छौं ।’ सीएनआईले यो अवस्थामा आयात नै बन्द गर्नु समाधानको उपाय नभएको निष्कर्ष निकालेको छ । वर्तमान समयमा आयातलाई व्यवस्थित गरेर स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा विशेष पहल गर्नुपर्ने बताइएको छ । नेपाल गम्भीर आर्थिक संकटमा नरहेको मनन गर्दै बजारमा त्रासदीपूर्ण अवस्था आउन दिन नहुने सीएनआईको उपाध्यक्ष अनुज अग्रवालले बताए ।  आर्थिक अभिायन दैनिकको प्रिन्ट संस्करणबाट

साहसिक पर्यटन प्रवर्द्धनमा व्यवसायीको जोड

कास्की । गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्नेमा पर्यटन व्यवसायी र सरोकारवालाले जोड दिएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटन गर्न उपयुक्त ठाउँको पहिचान गरेर ‘एक जिल्ला : एक साहसिक खेलकुद गतिविधि’ विकास गर्नुपर्ने खाँचो उनीहरूले औंल्याएका छन् । गण्डकीका ११ ओटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यमा साहसिक खेलकुद गतिविधि सञ्चालन, अन्तरराष्ट्रिय स्तरमा त्यसको प्रचारप्रसार र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याएर रोजगारी सृजना गर्नुपर्ने व्यवसायी बताउँछन् । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टरको निर्माणका गर्ने योजना भए पनि प्रक्रिया लम्बिएकाले काम अघि बढ्न नसकेको बताए । सांसद विष्टले मुस्ताङको ४ हजार ६४५ मिटरको उचाइमा गल्फ सेन्टरको निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाइने बताए । यस्तै पोखरालाई केन्द्र बनाएर प्रदेशका जिल्लाहरूमा साहसिक खेलकुद गन्तव्यको रूपमा विकासमा लाग्नुपर्ने उनले बताए । गण्डकीका ११ जिल्लामा फरक फरक विषेशता रहेकाले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने उनले औंल्याए । ‘एउटै प्रदेशमा हिमाल, पहाड र तराईको केही भाग समेटिएकाले यसलाई विषेश योजना बनाएर पर्यटन प्रवद्धन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारले साहसिक पर्यटन विकास लगायत अन्य योजना अगाडि बढाउन आवश्यक छ ।’ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिबारे धेरे चर्चा हुने गरेको भए पनि प्रदेशको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुदबारे ठोस रूपमा चर्चा नभएको बताए । परिषद्ले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको रूपमा स्थापित गर्न सरोकारवाला निकायबीच आवश्यक परामर्श गरिरहेको उनको भनाइ छ । प्रदेशको मुख्य आधार नै पर्यटन भएको भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन तीनओटै सरकारले विशेषगरी विभिन्न ठाउँहरूमा साहसिक खेल पर्यटनका पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने । राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्दप्रसाद भट्टराईले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यसबारे नीति निर्माणमा समेत चासो नदिएको टिप्पणी गरे । साहसिक खेलकुदको छाता संस्था नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत रहेका उनले गण्डकी प्रदेशमा खेल पर्यटनको प्रचुर सम्भावना भएकाले यसको विकासमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । प्रदेशमा साहसिक पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई योजनाबद्ध रूपमा सञ्चालन गर्न सके यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनको छ । पर्यटनविद् डा. रामजी शर्माले प्रदेशको साहसिक खेलकुदलाई स्थापित गराउन विशेषगरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोटर््समा ध्यान दिनुपर्ने बताए । खेलकुद आफैमा पर्यटनको क्षेत्र भए पनि यसको पूर्वाधार विकास र प्रचारप्रसारको खाँचो उनले औंल्याए । प्रदेशका हरेक जिल्लामा साहसिक खेलकुदको गन्तव्यको पहिचान गर्नुपर्ने भन्दै उनले त्यसको ब्राण्डिङ गर्न सरोकारवाला र राज्य लाग्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समग्र प्रदेशमा साहसिक पर्यटनको दिगो विकासका लागि स्पोर्टस भिलेजको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताए । पर्यटकको बसाइ लम्ब्याउन समेत साहसिक खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले यसका लागि पर्याप्त बजेट र आवश्यक योजनासहित बढ्नुपर्नेमा जोड दिए । ‘गण्डकी प्रदेश पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ हो । यहाँ साहसिकदेखि अन्य पर्यटकीय सम्भावना छन्,’ उनले भने, ‘सरकार, सरोकारवाला निकायबीचको समन्वयमा पर्यटकीय गतिविधि र साहसिक खेल पर्यटनको विकास गर्नुपर्छ ।

पर्यटनलाई प्रोत्साहन

कोरोना महामारी र निषेधाज्ञाका कारण सबैभन्दा प्रभावित पर्यटनलाई राहत दिन आगामी आव २०७८/७९ को बजेटले केही कार्यक्रम ल्याएको छ । यसलाई केही व्यवसायीले सकारात्मक भनेका छन् भने केहीले सरकारी राहतको खासै अर्थ नभएको बताएका छन् । बजेटमा ल्याइएका कार्यक्रमले व्यवसायीहरूलाई केही राहत त पक्कै दिन्छ । तर, पर्यटन व्यवसायलाई पुनर्जीवन दिन र गति दिन भने पर्याप्त नभएको देखिन्छ । पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रका लागि महत्वपूर्ण भएकाले यसलाई यसको विस्तार गर्न सरकारले बलिया र प्रभावकारी नीति तथा रणनीति तय गर्नुपर्ने हुन्छ । बजेटले पर्यटन व्यवसायीलाई राहत दिन निषेधाज्ञा अवधि भरको विद्युत् महसुल छूट दिने, आयकरमा छूट दिनेजस्ता केही राहत दिएको छ । त्यस्तै व्यवसायलाई निरन्तरता दिन चालू आर्थिक वर्षमा जस्तै ५ प्रतिशत सहुलियत ब्याजमा व्यावसायिक निरन्तरता कर्जा दिने व्यवस्था गरिएको छ । झन्डै डेढ वर्षदेखि थलिएको पर्यटन व्यवसायका लागि यी राहत पर्याप्त देखिँदैनन् । व्यवसाय नै ठप्प भएको अवस्थामा आयकरमा दिइएको छूटको खासै अर्थ नहुने व्यवसायीको टिप्पणी छ । त्यस्तै सामाजिक सुरक्षामा गएका कम्पनीहरूको २ महीनाको योगदान सरकारले बेहोर्ने व्यवस्था सकारात्मक त छ तर केही ठूलो होटेलबाहेक अन्य कम्पनीहरू यसमा नगएकाले समग्रमा पर्यटन व्यवसायीलाई राहत पुग्ने देखि“दैन । साना तथा मझौला पर्यटन व्यवसायी त्यसैले बजेटप्रति सकारात्मक देखिएका छैनन् । सरकारले पर्यटनलाई उद्योग सरह मान्यता दिनु सकारात्मक छ जुन व्यवसायीहरूले वर्षौंदेखि माग गर्दै आएका थिए । यसबाट उनीहरूले उत्पादनमूलक उद्योगसरह सरकारी सुविधा पाउन सक्ने देखिन्छ । त्यस्तै सरकारी कर्मचारीहरूलाई १० दिनेका तलबी भ्रमण दिनु आन्तरिक पर्यटनका लागि निकै सहयोगी हुने देखिन्छ । निजीक्षेत्रका कम्पनीहरूलाई पनि यो व्यवस्था लागू गराउन सके आन्तरिक पर्यटनमा निकै टेवा पुग्नेछ । यसको कार्यान्वयन कसरी गरिन्छ भन्नेचाहिँ महत्त्वपूर्ण हुन्छ । विगतमा ल्याइएको यस्तै खालको कार्यक्रम असफल भएको थियो भन्ने पनि बिर्सनु हुँदैन । त्यस्तै व्यावसायिक निरन्तरता कर्जालगायत सुविधा सबै व्यवसायीले पाउन नसकेको गुनासो चालू आवमा रहेको पाइन्छ । आगामी आवमा सबैले यो सुविधा उपयोग गर्न सक्ने वातावरण बनाइनुपर्छ । पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रका लागि महत्त्वपूर्ण भएकाले यसलाई यसको विस्तार गर्न सरकारले बलिया र प्रभावकारी नीति तथा रणनीति तय गर्नुपर्ने हुन्छ । तर, निर्माण सम्पन्न हुने अवस्थमा पुगेका भैरहवा वा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने, त्यसको व्यवसाय कसरी विस्तार गर्ने भन्नेमा न त बजेटमा उल्लेख भएको छ न सरकारसँग कुनै कार्ययोजना नै छ । राज्यले यति ठूलो लगानी गरेको विमानस्थलको व्यावसायिक योजना नहुनु दुर्भाग्य नै हो । भैरहवा विमानस्थलमा काठमाडौंबाट डाइभर्ट भएका विमान ओराल्ने मिल्ने भएकाले यसको उपयोग होला । तर, विमानस्थल नाफामा सञ्चालन हुन दैनिक दर्जनौं उडान आवश्यक पर्छ । लुम्बिनीमा पर्यटक आउने सम्भावना भएकाले केही देशबाट यहाँ उडानको योजना देखिए पनि पोखराको बारेमा भने अहिलेसम्म कुनै ठोस योजना भएको सार्वजनिक भएको छैन । भोलिका दिनमा यी दुई विमानस्थल मुलुकका लागि बोझ हुन सक्छ । चिनियाँ सहयोगमा बनाइएको श्रीलंकाको विमानस्थल जस्तै बन्न सक्छ । विश्व पर्यटन नै ठप्प भएकाले अहिले पर्यटनमा नयाँनयाँ खालको प्याकेज ल्याउन थालिएको छ । त्यस्तै अन्तरराष्ट्रिय प्याकेजहरू सस्तो हुँदै गएको पाइन्छ । तर, महँगो विमान भाडा आदिका कारण नेपाल महँगो गन्तव्यमा पर्छ । यद्यपि यहाँको रहनसहन इत्यादि हेरेर सस्तो गन्तव्य भन्ने नगरिएको भने होइन । उदाहरणका लागि चिनियाँहरूका लागि नेपाल आकर्षक गन्तव्य देखिन्छ । तर, हवाई भाडा यूरोपेली मुलुकमा गएसरह छ । नेपालले आफ्नै विमानबाट सस्तोमा पर्यटक नओसारेसम्म नेपालको पर्यटनबाट अपेक्षित लाभ लिन सक्ने देखिँदैन । भिसा शुल्क छूट सकारात्मक नै भए पनि त्यतिले मात्र पर्यटक आकर्षित गर्न सकिँदैन । त्यसैले विशेष पर्यटन रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।