अब आध्यात्मिक पर्यटनको केन्द्र बन्दै खप्तड, यसकारण एकपटक पुग्नैपर्छ

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ ।  चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुगे । आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाले। विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो । इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिए । सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सरे । गर्मीयामका छ महिना खप्तड लेक र छ महिना खप्तडछान्नाकै दारूगाउँ गरेर खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा साधना गरेर बिताए । लामो समय खप्तडमा बिताउनुभएका खप्तड बाबाले आफ्ना नाम भने खुलाएनन् । युगपुरूष भन्दै धेरैले उनको नाम ‘श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वती’ राखिदिए । स्थानीयले भने छोटो नाम ‘खप्तड बाबा’, ‘खप्तड स्वामी’ राखे र सोही नामले सर्वत्र चिनिए । उनकै कारण अहिले पनि खप्तडले प्रसिद्धि कमाइरहेको छ । खप्तड बाबासँग राजपरिवारको निकटता विसं २०३८ को वैशाख महिनामा तत्कालीन राजा वीरेन्द्र हेलिकोप्टरमा सुदूरपश्चिम भ्रमणमानिस्किए। कर्णाली नदी हुँदै बाजुराको आकाश भएर खप्तड पुगेका राजालाई पहिलोपटक खप्तड बाबाले नै स्वागत गरे। रानी ऐश्वर्यासँगै खप्तड पुगेका राजा वीरेन्द्रले बाबासँग लामो भलाकुसारी र विचार मन्थन गरे।  खप्तड बाबाबारे जानकार प्राध्यापक शिवगोपाल रिसालले लेखेको श्रीखप्तड बाबा महाकाव्यमा उल्लेख भएअनुसार राजा वीरेन्द्र हरेक वर्ष बाबालाई भेट्न सपरिवार, सहयोगीसहित खप्तड गइरहन्थे । आफूलाई केही तनाव भए, मुलुकमा केही सङ्कटजन्य परिस्थिति आए राजा वीरेन्द्र खप्तड बाबासँग सल्लाह लिन आइहाले । खप्तडमा जडीबुटीबारे अनुसन्धान गर्दै ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’सहित करिब डेढ दर्जन पुस्तक लेख्नुभएका खप्तड बाबा र राजा वीरेन्द्रबीच निकटता बढेपछि उहाँ काठमाडौँसमेत जान थाले। प्राध्यापक रिसालका अनुसार राजा वीरेन्द्रले खप्तड बाबाका लागि बुढानीलकण्ठमा एउटा आश्रमसमेत बनाइदिएका थिए । उनको निधन हुनुभन्दा साता दिन अगाडि पनि बुढानीलकण्ठमै थिए भन्ने जानकारहरू बताउँछन् । लामो समय खप्तडमा साधनागरेका बाबाको आश्रममै बिरामी भएपछि हेलिकोप्टरमा काठमाडौँ ल्याउने क्रममा कालीगण्डकी नदीमाथिको आकाशमा २०५३ वैशाख २७ गते ब्रह्मलीन भएको इतिहासकार शास्त्री बताउँछन् । उनका अनुसार बाबाको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्य खप्तड आउन छाडेका थिए । “जीवित छँदा भने गङ्गादशहरामा दर्शन गर्न हरेक वर्ष पूर्वराजा वीरेन्द्र खप्तड पुग्ने गर्थे”, उनले भने। स्वामी खप्तड पस्नुअघि भने त्यो क्षेत्र लेकमात्रै थियो । घना जङ्गल हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दासमेत पाटनमा आवतजावत खासै गर्दैनथे । खप्तडसँग स्वामी गासिएपछि भने खप्तडले आफ्नो सौन्दर्यताको प्रचार पायो ।  ‘उच्चपदस्थका व्यक्ति’को भ्रमणपछि बाक्लिए पर्यटक  विसं २०७३ असारमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणि पौड्यालसहितको टोलीले खप्तड भ्रमण गरेका थिए । त्यसभन्दा अघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदासमेत गङ्गादशहरा मेलामा मन्त्री, सचिवसहित जम्बो टिम हेलिकोप्टरमा खप्तड पुगेका थियो । पूर्व युवराज पारस शाहसँग स्व धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, पूर्वप्रहरी प्रमुख हेमबहादुर सिंहका छोरा प्रवनजङ्ग सिंह (आध्यात्मिक नामः योगी व्याग्र वेदनाथ) सहित १५–२० जनाको टोली खप्तड पुगेको थियो । वेदनाथ ‘बाबा’ बनेकै कारण साधनाका गर्न खप्तड पुगेका थिए । त्यसबेलामा खप्तडमा असुविधाका कारण सबै आवश्यक सरसामानको चाँजोपाँजो मिलाएर भरियासहित खप्तड गएका थियो । पूर्वराजा वीरेन्द्रले उच्च अधिकारीका लागि बनाएको पाहुनागृहमा बसेर पारसको टोलीले एक साता बिताएका थिए भने पौड्यालको टोली दुई दिनमै फर्किएको थियो । विसं २०७३ मङ्सिर २३ मा तत्कालीन प्रधानमन्त्री (वर्तमानसमेत प्रधानमन्त्री) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडको अवलोकन गरेका थिए । दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाको अनुगमनमा जानुभएका प्रधामन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका थिए । खप्तडमा उनले केही समय बिताएर फर्कनुभएको थियो । यसरी उच्चपदस्थका व्यक्तिको भ्रमणपछि खप्तडमा पर्यटकको सङ्ख्या बढ्दै गएको हो । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार उच्चपदस्थका व्यक्तिको भ्रमणपछि हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक र १०–१५ जना विदेशी पर्यटक थपिँदै गएका छन् । योग शिविरमै बाक्लो उपस्थिति गत वर्ष खप्तड क्षेत्रमा पहिलोपटक योग शिविर सञ्चालन हुँदा सहाभागीको सङ्ख्या बाक्लो रह्यो । योग जागरणका लागि ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक शिविर तीन दिनसम्म चलेको थियो । जसमा अढाइ सयभन्दा बढी योग साधक सहभागी थिए । नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अड्डा राजपुर ब्यारेक दिपायल, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा चिन्तामणिनाथ योगी, योगगुरू पुष्पराज पुरूषसहितको टोली एक सातासम्मै खप्तड बसेका थिए । खप्तडमा बाबा व्याग्र वेदनाथ भने साधनाका लागि पटक–पटक खप्तड पुगिरहन्छन्। खप्तडमा रहेको नेपाली सेनाका अनुसार खप्तड बाबापछि धेरैपटक खप्तडमा आएर साधाना गर्नेमा वेदनाथ नै पर्छन् । गङ्गादशहरा मेलामा आउने बाबाहरू भने दुई–तीन दिन धर्मशालामा बसेर फर्किने गरेको दर्शनार्थीको बुझाइ छ । खप्तड अध्यात्मको केन्द्र बन्ने विश्वास स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योगगुरू हुन । योगासन र प्राणायामको सरल विधि सिकाएर योगमा क्रान्ति ल्याएका रामदेव अबको दुई सातापछि खप्तड आउन लागेका छन् । खप्तडमा हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन २३ जेठदेखि तीन दिनसम्म चल्नेछ । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सुदूरपश्चिम प्रदेश र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलनको प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्षनेता, जगत्गुरू कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जना सहभागी हुने समितिका कार्यकारी निर्देशक खड्काले जानकारी दिए । “सम्मेलनको उद्घाटनपछि योगी रामदेवले ध्यान गराउने र प्रवचन दिने कार्यक्रम तय गरिएको छ”, खड्काले भने, “त्यसपछि योगाभ्यास गरिने, खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय भएको छ ।” सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्याउन मद्दत पुग्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिं ओलीले बताउनुभयो । उनले भने, “भारतीय पर्यटकमात्रै भए पनि खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”  खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको तथ्याङ्कानुसार पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा बढी चालु आर्थिक वर्षमा ६३ विदेशी पर्यटकले खप्तडको अवलोकन गर्नुभएको छ । यो सङ्ख्या बढाउनका लागि पनि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन अनिवार्य भएको प्रदेशसभा सदस्य ओलीले बताउनुभयो । मुख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन यही जेठ २३–२५ सम्म सञ्चालन हुने अध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधि आयोजक समितिमा छन् । सम्मेलन आयोजनाको लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ भने सम्मेलन सफल पार्न १५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । खप्तडको ऐतिहासिकता   पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ । संस्कृतिका जानकार खप्तडछान्ना गाउँपालिका–६ का ज्ञानबहादुर खड्काका अनुसार खप्तडमा रहेको केदार ढुङ्गा पनि भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको कपडाको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएका थिए भन्ने कथन छ । “त्रिवेणी पाटनमा केदारढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ”, उनले भने। घायलका अनुसार खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँको छुट्टै पौराणिकता रहेको र तत्ठाउँमा स्थानीयले शिवको पूजा गर्दै आएका छन् ।  खप्तडको स्वरूप धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँट, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ । वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूले खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम नभएको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानको आ–आफ्नै महत्व र पौराणिकता छ । खप्तड ‘२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) को सङ्गम’ भनेर पनि परिचित छ । समुद्र सतहबाट २४–३७ सय मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर, सयौँ पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना (२०४२) भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको थियो । के–के पाइन्छ खप्तडमा ? बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र एक सय ९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि नौ र झाडी बुट्यान दुई दशमलव आठ वर्गकिमीमा फैलिएको छ । खप्तडमा तीन सय ८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइने गरेको तथ्याङ्कले देखाएको छ । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात दुई सय तीन, लहरा आठ र उन्यु १९ प्रजातिका रहेका छन् । तथ्याङ्कानुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । सोमबारबाट गङ्गादशहरा हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गङ्गादशहरा मेलामा हजारौँ तीर्थालु खप्तड पुग्ने गर्नुहुन्छ । यस वर्ष तीर्थालुको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गङ्गादशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गङ्गादशहरा मेला खप्तडको प्रमुख आकर्षण बनेको हो । मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म लम्बिने गरेको छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गरेर सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने गर्छन् । शुक्रबारबाटै विभिन्न कार्यक्रम हुने खप्तडमा दशहरा मेला भने मङ्गलबार हुनेछ । यस वर्ष खप्तडदेखि प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी मन्दिरसम्म हाइअल्टिच्युड म्याराथन प्रतियोगिताको दोस्रो संस्करण १७ गते बिहान ६ बजेदेखि सुरु हुने उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले जानकारी दिए । उनका अनुसार पुरूष म्याराथन प्रतियोगितामा ४२ दशमलव पाँच किलोमिटर दूरी (खप्तड–डोटी शैलेश्वरी) तोकिएको छ भने झिग्रानाबाट सिलगढीको शैलेश्वरी मन्दिरसम्म महिलाका लागि हाफ म्याराथन प्रतियोगिता सोही दिन हुनेछ ।  पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म खप्तड क्षेत्रमै सञ्चालन गरिने भएको छ भने घोडादौड प्रतियोगिता जेठ १५ गते हुने डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उनका अनुसार देउडा प्रतियोगिता १६ गते राति हुने भएको छ । डोटी उद्योग वाणिज्य सङ्घ, सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा, श्री भैरवप्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन् । –भूमिराज पिठातोली रासस

सम्बन्धित सामग्री

मानसखण्डमा आध्यात्मिक पर्यटन

आध्यात्मिक पर्यटन विकास र प्रवद्र्धनका हिसाबले सुदूरपश्चिम प्रदेशमा ठूलो सम्भावना रहेको छ । सतीको अङ्गबाट पतन भएका १०८ शक्तिपीठमध्ये मानसखण्ड–सुदूरपश्चिम क्षेत्रमा अनेक शक्तिपीठ रहेका छन् । मानसखण्ड क्षेत्रका १६ भगवती बहिनी (षोड्स मात्रिका) र पौराणिक रूपमा रहेका सप्त मात्रिकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौवटा भगवती बहिनीका रूपमा पुज्ने परम्परा रहेको छ ।

रामदेवलाई नेपालको सद्भावना दूत बन्न प्रस्ताव

नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको उन

स्वामी रामदेवले भने ‘नेपालको संस्कृतिलाई पुरा दुनियाँमा लिएर जान्छु'

काठमाडौं। योगगुरु रामदेवले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताएका छन्।आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए।

रामदेवलाई नेपालको सद्भावना दूत बन्न प्रस्ताव

नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा....

हेलामा पर्वतीय पर्यटन

देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, विश्वका ८ हजार मीटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश नेपालमै रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि यहीँ रहेकाले पर्वतीय पर्यटन (माउन्टेन टुरिजम) का लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यको रूपमा परिचित छ । प्रकृतिले दिएको यो अद्भुत वरदानको मज्जा लिन हिमाल, पहाड छिचोल्न विश्वभरिबाट वर्षेनि लाखौंको संख्यामा आउने पदयात्री र आरोही पर्यटक र यो क्षेत्रलाई आप्mनो पिठिउँमा बोकेर थेग्ने व्यवसायी र पेशाकर्मीहरूलाई अर्थात् समग्र पर्वतीय पर्यटनलाई राज्यले भने सधैं बेवास्ता गर्ने गरेको छ । राज्यले पर्वतीय पर्यटन क्षेत्रलाई कसरी बेवास्ता गर्दै आएको छ भन्ने दृष्टान्त हरेक वर्ष प्रस्तुत गर्ने बजेट वक्तव्यलाई हेरे पुग्छ । घण्टौं लामो बजेट भाषणमा पर्वतीय पर्यटनसँग सम्बद्ध ट्रेकिङ पदमार्ग, पर्वतारोहण, आरोही, पथप्रदर्शक, पर्वतीय पर्यटन व्यवसायी जस्ता शब्दावली सुन्न दुर्लभ हुन्छ । यसो हुनु वास्तवमै दुःखद पक्ष हो । पछिल्ला बजेट तथा कार्यक्रमहरूमा महामारीबाट सबैभन्दा बढी पीडित यस क्षेत्रका आश्रितहरूलाई राहत वा सहुलियतको कुनै कार्यक्रम नल्याउनुले पनि पर्वतीय पर्यटनप्रति राज्यको बेवास्ता थप प्रमाणित गर्छ । देशको पर्यटन नीति निर्माणको तहमा रहेकाहरूबाट पर्वतीय पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई कतिसम्म हेयको दृष्टिले हेरिन्छ भन्ने एक उदाहरण महामारीकै बीच नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बीबीसी नेपाली सेवामा दिएको एक अन्तरवार्तामा पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीहरूलाई सम्बोधन गर्न गरेको शब्द चयनले पनि इंगित गर्छ । गतवर्ष अगस्त २८ मा बीबीसीको नेपाली सेवामा प्रसारित उक्त अन्तरवार्ताका क्रममा उनले पर्वतीय पर्यटन पेशाकर्मी (ट्रेकिङ तथा पर्वतारोहण व्यवसायी) लाई अपमानजनक शब्द प्रयोग गरेका थिए । राज्यलाई रोजगारी वा करको माध्यमबाट टेवा नदिने (पर्वतीय पर्यटनकर्मी) लाई महामारी पीडित नै भए पनि राहत र सहुलियत दिन सजिलो नभएको उनको भनाइको सार थियो । पर्वतीय पर्यटन क्षेत्रमा आबद्धहरूले विरोध गरेपछि आफ्नो आशय कसैलाई चित्त दुखाउनु नरहेको भनाइ सार्वजनिक गरे पनि उनी र उनी जस्तै पर्यटनक्षेत्रका नीति निर्माण तहमा रहेकाहरूले यस क्षेत्रलाई सही पहिचान गर्न नसकेको विडम्बना कायमै छ । पर्यटनको अथाह सम्भावना बोकेको नेपालमा यस क्षेत्रलाई मिहीन ढंगले बुझेर नीति निर्माण र कार्यक्रमहरू लागू गर्ने हो भने थोरै समय र खर्चमा धेरै गर्न सकिन्छ । पर्यटनअन्तर्गत पनि पर्वतीय पर्यटन अर्थात् ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकहरूले पुर्‍याउने योगदान अन्य पर्यटकको भन्दा विशेष हुने गर्छ । महामारीअघि सन् २०१९ को पर्यटन तथ्याङ्कले कुल पर्यटकको करीब १६ प्रतिशत अर्थात् करीब २ लाख पर्यटक पदयात्रा (ट्रेकिङ) का लागि नेपाल आउने गरेको देखाएको छ । उनीहरूमध्येबाट केही हजार पर्वतारोहणका लागि जाने गर्छन् । पदयात्रा तथा आरोहणका लागि नेपाल आउने पर्यटकको बसाइ अवधि कम्तीमा २ हप्तादेखि २ महीनासम्म हुने गर्छ । उनीहरूको बसाइ अवधि अन्य पर्यटकको भन्दा लामो र दुर्गम ठाँउहरूमा जाने हुँदा उनीहरूले गर्ने खर्च पनि औसतमा बढी हुन्छ । महामारीकै बीच गत वसन्तऋतुमा सगरमाथा आरोहणका लागि आएका करीब ४ सय पर्यटकबाट मात्रै राज्यले झन्डै ६० करोड कर बुझेको तथ्याङ्क रहेको छ । उनीहरूले पर्वतारोहणको क्रममा चलायमान बनाएको आर्थिक गतिविधि झन्डै ३ अर्ब बराबर रहेको अनुमान छ । आरोहण नगरी ट्रेकिङ मात्र जाने पर्यटकमध्ये पनि जो नेपाली एजेन्सीमार्फत गाइड तथा अन्य कामदार लिएर जान्छन् । उनीहरूको पनि बसाइ अवधि, रोजगार सृजना र आर्थिक योगदान उल्लेख्य हुने गर्छ । हाल पर्वतीय पर्यटन क्षेत्रमा करीब २ हजार एजेन्सी, १२ हजार गाइड तथा ३० हजार जति अन्य कामदार संलग्न रहेको अनुमान छ । यसबाट पछिल्लो पर्यटन तथ्याङ्कअनुसार नेपालको समग्र पर्यटकको औसत बसाइ अवधि १३ दिन र उनीहरूको प्रतिदिन खर्च ४५ अमेरिकी डलरलाई अझ बढाएर पर्यटन क्षेत्रबाट राज्यलाई पुर्‍याउने आर्थिक योगदानका लागि सरकारले पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने नीति नियम र कार्यक्रमहरू ल्याउनु जरुरी हुन्छ । त्यसो गर्नु भनेको पर्वतीय पर्यटनसँग सम्बद्ध क्षेत्रलाई राज्यले सम्बोधन गर्नु हो जुन भइरहेको छैन । राज्यका तर्फबाट पर्यटनसम्बन्धी गर्नुपर्ने कामका सिलसिलामा पर्यटनलाई व्यापक अर्थ बुझाउने शब्द मात्र नलिई पर्वतीय पर्यटन, संस्कृति तथा आध्यात्मिक पर्यटन, मनोरञ्जन पर्यटन आदि पर्यटनका विधाहरू छुट्ट्याई तीमध्ये पनि अधिक सम्भावना बोकेको पर्वतीय पर्यटनलाई विशेष महत्व दिनु र अझ देशको पर्यटन ब्रान्ड नै पर्वतीय पर्यटन अर्थात् माउन्टेन टुरिजम घोषणा गर्नु जरुरी छ । हिमाल आरोहणमा आरोहीका साथ जाने सरकारी अधिकृतको कामको औचित्य, फोहोर व्यवस्थापनको उचित नीति, हिमाली क्षेत्रमा मोटरबाटो र आधुनिक विकास निर्माणको काम गर्दा प्राकृतिक वातावरण कायम राख्नु र प्रचलित ट्रेकिङ रूट संरक्षित गर्नुजस्ता सानातिना काम मात्रै गरे पनि पर्वतीय पर्यटनलाई जीवित राख्न ठूलो टेवा पुग्छ । तर, व्यवस्थित कार्ययोजनाको अभावमा त्यस्ता निर्माणहरू गर्नाले विश्वको नं. १ मा गनिएको अन्नपूर्ण सर्किट पदमार्ग ध्वस्त हुन पुगेको मात्र छैन, जथाभावी खनिएको मोटरबाटोले विनाश पनि उत्तिकै ल्याएको झल्को चालू वर्षायाममै मेलम्चीसँगै अन्नपूर्ण पदमार्गको मनाङमा बाढीले धनजनमा पुर्‍याएको क्षतिले दिएको छ । मुलुकमा पछिल्लो समय गठित नयाँ सरकारमा यो वर्षको विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको पूर्वसन्ध्यासम्म पनि पर्यटनमन्त्री नियुक्त भइसकेको छैन । नयाँ पर्यटन मन्त्रीले देशको पर्यटनको विभिन्न विधाको सही निक्र्योल गरी सोहीअनुसार नीतिनिर्माण तथा कार्ययोजनाहरू अघि बढाए घट्दो महामारीसँगै पुनर्जागृत हुने पर्यटन क्षेत्रमा आशाको सञ्चार हुनेछ । लेखक विगत २० वर्षदेखि ट्रेकिङ व्यवसायमा संलग्न छन् ।

यात्रा तथा पर्यटन क्षेत्रको विश्वव्यापी योगदान

पर्यटन क्षेत्रले बहुआयामिक पक्षहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्छ । मानव सभ्यताको आधुनिकीकरणसँगै पर्यटन क्षेत्रको विकास भएको हो । घुमफिरबाट सुरु भएको पर्यटन क्षेत्र हाल आएर मेडिकल पर्यटन, आध्यात्मिक पर्यटन हुँदै अन्तरिक्ष पर्यटनसम्म पुगेको छ । सही योजना र नीति–निर्माणका लागि तथ्यपरक सूचना तथा तथ्याङ्कको आवश्यकता पर्छ । वस्तुनिष्ठ तथ्याङ्कबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन क्षेत्रको सही आकलन र प्रक्षेपण गर्ने गरिन्छ ।