कोरोना महामारीबाट भर्खरै बौरिन थालेको र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनबाट खुशी छाएको पर्यटन क्षेत्रमा यति एयरलाइन्सको विमान दुर्घटनाले चिन्ता थपेको छ । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा चार जना चालकदलका सदस्यसहित ७२ जनाकै मृत्यु भएको छ । यस समाचारलाई विश्वका सबैजसो टेलिभिजन र सञ्चारमाध्यमले प्रसारण गरे, जसले गर्दा विश्वमा नेपाली आकाश सुरक्षित छैन भन्ने सन्देश गएको छ । नेपालको पर्यटनको ठूलो बजार भारत हो र भारतमा यो दुर्घटनाको निकै नकारात्मक ढंगले प्रचार भइरहेको छ । दुर्घटना नियोजित हुँदैन र यो जहाँ पनि हुन्छ । तर, अहिले नेपालको दुर्घटनालाई सरकारको लापर्बाही र वायुसेवाको अव्यवस्थापनको कारण भनी प्रचार गरिएको छ । यसले गर्दा नेपालमा आउने पर्यटकको संख्यामा धक्का लाग्न सक्छ ।
वायुसेवा पनि पर्यटनको एक अंग हो । यो क्षेत्रविना पर्यटनको कल्पना गर्न सकिँदैन । त्यसैले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र व्यावसायिक बनाएर पर्यटनलाई उकास्ने गरी सरकारले समितिबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने अपेक्षा गरौं ।
नेपाल पर्यटकको सुरक्षाका लागि त्यति राम्रो रेटिङ पाएको मुलुक होइन । तर, ज्यादै असुरक्षित क्षेत्र भने होइन । निर्बाध घुम्न सक्ने भएकाले पर्यटकको रोजाइमा परेको मुलुक भने हो । अहिले भएको दुर्घटनाले भने तीन चारओटा पक्षबाट नेपालको पर्यटनमा गम्भीर प्रहार गर्न सक्ने देखिएको छ ।
विश्व उड्डयनको संस्था आइकाओले नेपालको हवाईको सुरक्षा रेटिङलाई औसतभन्दा राम्रो रहेको भनी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । तर, यूरोपेली संघले भने अझै कालोसूचीबाट हटाएको छैन । उसले यहाँको हवाई सुरक्षाको मूल्यांकन गरी सकारात्मक प्रतिक्रिया दिएको र चाँडै नै उसले नेपाली आकाशलाई कालोसूचीबाट हटाउने अपेक्षा गरिएको छ । कालोसूचीमा रहेकाले नेपाल वायुसेवा निगमले यूरोप उडान गर्न सकेको छैन भने यूरोपेली मुलुकबाट पर्याप्त पर्यटक नेपाल आइरहेका छैनन् । यस्तोमा नेपालको आन्तरिक हवाई उडानको सबैभन्दा ठूलो दुर्घटनाले कालोसूचीबाट तत्काल नहट्न सक्छ । यद्यपि यो दुर्घटनाले मूल्यांकनलाई कुनै प्रभाव पार्दैन । तैपनि कालोसूचीबाट हटाउन नेपालले थप पहल गर्नुपर्ने देखिन्छ ।
नेपाल आउने पर्यटकमध्ये हवाई मार्गबाट आउने बढी खर्चालु भएको देखिन्छ । यो क्षेत्र असुरक्षित भएको सन्देशले पर्यटक आगमन प्रभावित हुन सक्छ । हुन त पर्यटक भनेको केही चुनौती सामना गर्न तयार हुने व्यक्ति नै हुन् । हवाई दुर्घटना भनेको नेपालमा मात्रै हुने होइन । जुन देशमा बढी वायुसेवा सञ्चालनमा हुन्छ त्यहीँ दुर्घटना पनि हुन्छ । विश्वमा सबैभन्दा बढी अमेरिका, रूस आदि देशमा बढी दुर्घटना भएको पाइन्छ । तर पनि त्यहाँ हवाई सेवा लिनेको संख्या बढ्दो छ । त्यसो हुँदा पर्यटक आगमन ठ्याप्पै त हुँदैन नै ।
यो हवाई दुर्घटनाबाट पर्ने अर्को नराम्रो असर भनेको वायुसेवाको व्यापार हो । नेपालको आन्तरिक उडानमा निजीक्षेत्रका वायुसेवा कम्पनीको वर्चस्व छ । उनीहरूको व्यापार प्रभावित हुन सक्छ । नेपालको आन्तरिक हवाइ उडानमा थोत्रा विमान सञ्चालनमा रहेकाले दुर्घटना भएको हो भन्ने आमबुझाइ छ । नेपालीहरूको यही प्रतिक्रियालाई अन्तरराष्ट्रिय सञ्चारमाध्यमले पनि प्रसारित गरेका छन् । तर, विज्ञहरूको कुरा भने बेग्लै छ । विमानको आयु निकै लामो हुन्छ । नियमित रूपमा मर्मत सम्भार र सर्भिसिङ भइरहेको छ भने पुरानो भएर दुर्घटना हुने भन्ने हुँदैन । सरकारले नै हत्त न पत्त सबै विमानको प्राविधिक परीक्षण गर्न आदेश दियो तर विमान उडाउनु अघि विमानको प्राविधिक परीक्षण गरेर उडानयोग्य भएपछि मात्रै विमान उडाइन्छ । त्यसैले यस्ता नकारात्मक प्रचारले नेपालको हवाई सेवा उद्योग गम्भीर मारमा पर्न सक्छ । एउटा दुर्घटना हुनेबित्तिकै समग्र उद्योगलाई नै बदनाम गराउने खालको प्रचार नीति गलत हो । यसका शिकार हुनबाट नेपालको हवाई सेवा उद्योगलाई बचाउनुपर्छ । यसका व्यवसायी र सरकार दुवै जिम्मेवार हुनु आवश्यक छ ।
अर्को असर भनेको पोखरा विमानस्थलको व्यवसायलाई पर्ने समस्या हो । उद्घाटन भएदेखि नै यसले कसरी व्यवसाय गर्छ, कसरी ऋण तिर्छ भनेर व्यापक प्रश्न उठिरहेका बेला दुर्घटना भएको छ । अन्तरराष्ट्रिय सेवा सञ्चालनमा नआउँदै विमानस्थल नजिक दुर्घटना भएकाले यसले दिने सन्देशले यसको व्यवसाय प्रभावित हुन सक्छ । कतिपयले त यसको बनोट आदिबारेसमेत प्रश्न उठाएका छन् जुन गलत छ । विमानस्थल सुरक्षित छ । यस्ता कुराले यो विमानस्थलको व्यावसायिक यात्रामा अवरोधको काम भने पक्कै गर्नेछ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमले नेपाल घुम्न विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालका विभिन्न ठाउँ राख्ने भए पनि आन्तरिक हवाई सुरक्षा विश्वसनीय नभएको तथ्य सतहमा ल्याउन सक्छन् । यसले नेपाल आउने पर्यटकलाई मानसिक रूपमा असर गर्न सक्ने र नेपाल भ्रमणबारे पुनर्विचार गर्न सक्छन् । यद्यपि अहिलेसम्म भ्रमण रद्द गरेको समाचार भने आएको छैन ।
दुर्घटना भवितव्य हो । यो भइसकेपछि यसबाट हुने क्षति न्यूनीकरण नै हाम्रो सफलता हो । सरकारले नेपाली आकाश सुरक्षित छ, पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिने गरी अन्तरराष्ट्रिय जगत्लाई विश्वासमा लिन कूटनीतिक पहल गर्नुपर्छ । साथै, शोक मनाउने भनेर बिदा दिनुको अर्थ छैन । बरु सरकारले विज्ञप्ति जारी गरेर पर्यटकहरूलाई नआत्तिन र हवाई सेवालाई सुरक्षित बनाउन नेपाल सरकारले कुनै कसरी बाँकी नराख्ने सन्देश दिनु उपयुक्त हुन्छ ।
नेपालको वैदेशिक विनिमय सञ्चितिमा अझै दबाव छ । त्यो दबाब कम गर्न पर्यटन क्षेत्र सहयोगी हुन्छ । त्यसैले विदेशी पर्यटकका माझ दुर्घटनाले नराम्रो सन्देश नजाओस् भन्नेमा सरकारले पहल गर्नुपर्छ । खासगरी भारतीय सञ्चारमाध्यमले नकारात्मक सन्देश दिएका छन् । यसको उचित तवरले खण्डन गरेर नेपालले आफ्नो आकाश र विमानस्थल सुरक्षित रहेको सन्देश दिनुपर्छ । स्याल कराउनु र कुखरा हराउनुसँगै हुँदा दोष स्यालले नै पाउँछ । अन्तरराष्ट्रिय जगत्मा नेपाली आकाश सुरक्षित छैन भन्ने आरोपलाई यो दुर्घटनाले मलजल गर्न सक्छ । यसले गर्दा पनि यूरोपेली संघको कालोसूचीबाट छिटो हट्न आवश्यक परेको छ । कालोसूचीबाट हट्यो भने थोरै भए पनि दुर्घटनाले जन्माएको आशंकाको क्षतिपूर्ति हुन सक्छ ।
दुर्घटनाको प्रभाव पर्यटन व्यवसामा केकस्तो पर्नसक्छ त्यसबारे हामीले गर्ने भनेको सामान्य आकलन नै हो । तर, पर्यटन बजारमा यसको अध्ययन गरेपछि मात्रै सही निष्कर्ष निक्लन्छ । यसका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग आदिले विज्ञसहितको टोली बनाएर राम्ररी अध्ययन गर्नु उपयुक्त हुन्छ ।
सरकारले विमान दुर्घटनाको सथ्यतथ्य पत्ता लगाउन छानविन समिति बनाएको छ । यसले अनुसन्धान गरेर केही तथ्य पक्कै पनि सार्वजनिक गर्नेछ । साथै हवाई सुरक्षाका लागि आवश्यक सुधारका लागि पनि यसले सुझाव दिनेछ । त्यसले दुर्घटनाको कारण बताएपछि त्रुटि कहाँनेर भयो भन्ने भन्न सकिन्छ ।
अहिले अनुमानका भरमा काल्पनिक कुरा गर्नेको जमात बढेको छ । त्यस्तै विज्ञहरूले पनि लख काटेर तर्कहरू भनिरहेका छन् । त्यसो नगर्न नागरिक उड्डयन प्राधिकरणले सबैलाई आग्रहसमेत गरेको छ । हुन पनि कम्पनी वा समग्र वायुसेवालाई नै खराब भनेर टिप्पणी गर्दा त्यसले निम्त्याउने असरप्रति जिम्मेवार को हुन्छ ? वायुसेवा पनि पर्यटनका एक अंग हो । यो क्षेत्रविना पर्यटनको कल्पना गर्न सकिँदैन । त्यसैले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र व्यावसायिक बनाएर पर्यटनलाई उकास्ने गरी समितिबाट प्राप्त सुझाव कार्यान्वयन हुने अपेक्षा गरौं ।
लेखक पर्यटन व्यवसायी हुन् ।