पर्यटनको भारतीय बजारलाई उपेक्षा

नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ  । बुद्ध  जन्मस्थलमा आउने पर्यटकलाई लक्षित गरी बनाइएको यो विमानस्थल सञ्चालनमा आए पनि त्रिभुवन विमानस्थलको विकल्प बन्न सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन । निजगढ विमानस्थल बनाउन ठूलो खर्च लाग्छ तर भैरहवा विमानस्थल राम्ररी सञ्चालन गर्न सकिए त्रिभुवन विमानस्थलमा हुने भीडभाड कम गर्न सकिन्छ । श्रीलंका, थाइल्यान्ड, चीन लगायतका मुलुकबाट पर्यटक भित्र्याउन यो विमानस्थल निकै सहयोगी हुन सक्छ तर यसका लागि आवश्यक एयर रुट भारतले नदिएकाले यसको पूर्ण उपयोग हुने सम्भावना भने कमै देखिएको छ   भारतीय पर्यटक भनेका खर्च नगर्ने भन्ने सोच पाइन्छ । यही सोचले गर्दा नेपालको पर्यटन पछि परेको हो भन्न सकिन्छ । यस विमानस्थलमा भारतीय सहरबाट उडान गर्न थालियो भने भारतीय पर्यटक ल्याउन सहज हुन्छ । साथै, बुद्धिस्ट सर्किटमा आउने पर्यटकलाई पनि यसमा जोड्न सकिन्छ । भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल बनाएको छ । जन्मबाहेक बुद्धसँग सम्बन्धित अन्य क्षेत्र भारतमा नै पर्दछ । त्यसैले उसले कुशीनगरलाई उच्च महत्व दिएको देखिन्छ । भैरहवा विमानस्थलमा भारतीय प्रधानमन्त्रीलाई ओराल्न नसक्नु नेपालको कमजोरी हो । भारतीय पर्यटक तान्ने एउटा ठूलो अवसर यसबाट गुमेको छ । भारतीय पर्यटन बजारका लागि मोदी सित्तैका प्रचार पाउने माध्यम हुन् । उनले मुक्तिनाथको दर्शन गरे पछि त्यहाँ आउने भारतीय पर्यटकको संख्या निकै बढेको यहाँ स्मरणीय छ । भैरहवा विमानस्थलमा उनलाई ओराल्न सकेको भए यो विमानस्थलको पनि प्रचार हुन्थ्यो । हुन त भारतले यो विमानस्थलका लागि आवश्यक हवाइ रुटको माग पूरा हुँदैन भन्ने सन्देश दिनका लागि हेलिप्याडमा उत्रने निर्णय गरेको हुन सक्छ । जे भए पनि नेपालले आफै पहल नगरेको अवस्थामा भारतलाई मात्रै दोष दिनु उपयुक्त हुँदैन । नेपालमा ठूलो संख्यामा भारतीय तीर्थयात्री आउने गरेका छन् । चाहे तीर्थयात्री होऊन् चाहे विशुद्ध पर्यटक, उनीहरूलाई नेपालमा राम्रो व्यवहार गरेको कमै पाइन्छ । भारतीय पर्यटक भनेका खर्च नगर्ने भन्ने सोच पाइन्छ । यही सोचले गर्दा नेपालको पर्यटन पछि परेको हो भन्न सकिन्छ । विभिन्न धार्मिक स्थल र पर्यटकीय स्थलमा पनि भारतीय तीर्थयात्रुलाई हेपेर व्यवहार गरेको पाइन्छ । यहाँ आएका ती पर्यटकले लिएर जाने अनुभव राम्रो भएन भने थप पर्यटक कसरी आउलान् ? त्यसैले भारतीय पर्यटकमाथि दुव्र्यवहार हुनु हुँदैन । नेपालमा आउने पर्यटकमा भारतीयहरूको संख्या सर्वाधिक छ । सबै खर्चालु नहोलान् तर खर्चालु पर्यटक पनि आएका छन् । भारतीय सेलेब्रिटीहरूले नेपालको सित्तैमा प्रचार गरिदिएका छन् । यो पाटो हामीले बिर्सनु हुँदैन । भारतीयहरू आफ्नै गाडी लिएर नेपाल आउन पाउँछन् । त्यसो हुँदा गर्मी छल्न, तीर्थ गर्न, हनिमुन मनाउन तथा सस्तो पर्यटकीय गन्तव्यको मजा लिन उनीहरूले नेपाललाई रोज्ने गरेका छन् । तर, नेपालको पर्यटन बजार नीति के हो, कस्तो हो, अन्योलपूर्ण नै देखिन्छ । अन्य देशमा भन्दा भारतमा नेपालको प्रचार नीति फरक हुनुपर्छ । यहाँ आएका भारतीय पर्यटकले सकारात्मक सन्देश लैजानु पर्छ । तर भारतीयहरूप्रतिको नकारात्मक टिप्पणी र हेलचेक्य्राइँपूर्ण व्यवहारले नेपालले एउटा राम्रो बजार गुमाउन सक्छ । भारतीय पर्यटकले बार्गेनिङ जरुर गर्छन् तर तीर्थयात्रीबाहेक अन्य पर्यटकले खानेकुरा बोकेर आउने गर्दैनन् । त्यसैले झोले पर्यटकभन्दा भारतीय पर्यटकबाट व्यवसायीले बढी लाभ लिन सक्छन् र लिएको पनि पाइन्छ । होटलमा बस्न आउने भारतीय र चिनियाँ पर्यटक तुलना गर्ने हो भने खर्चका मामिलामा भारतीय नै अगाडि रहेको समेत पाइन्छ । तर, भारतीय पर्यटक लक्षित पर्यटन प्याकेज खासै छैन । मानसरोवर यात्रा एउटा राम्रो प्याकेज छ तर त्यो अहिले कोरोनाका कारण ठप्प छ । साहसिक  पर्यटनका लागि भारतीय पर्यटक तान्न सकिएको छैन जब कि त्यसको सम्भावना राम्रो छ । भारतीय पर्यटक ल्याउन भारतका विभिन्न ठूला सहरमा नेपाली वायु सेवा कम्पनीहरूले उडान थाल्नुपर्ने हुन्छ । भारतकै विमानहरू अब भैरहवा र पोखरामा सिधै उडाउन आकर्षित गर्नुपर्छ । भैरहवा त खुला भएको छ तर भारतीय वायु सेवा कम्पनीहरूले यहाँ उडान गर्न चासो दिएका छैनन् । चितवन, भैरहवा आदि क्षेत्रमा नेपालीले विमानबाट भारत जानका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । त्यस्तै पोखरामात्र घुम्न चाहने भारतीय पर्यटकहरूलाई काठमाडौं आएर पोखरा जानुपर्ने बाध्यता छ । मानसरोवर जाने भारतीय तीर्थयात्रुहरू पहिला काठमाडौं आउने अनि नेपालगन्ज भएर जानुपर्ने बाध्यता छ । यसको अन्त्यका लागि भैरहवा विमानस्थल उपयुक्त विकल्प देखिन्छ । नेपालीहरू भारतमा विभिन्न धार्मिक स्थलमा जाने गरेका छन् तर त्यहाँ उनीहरूले खर्च गर्नुपर्ने ठाउँ धेरै हुन्छ । तर नेपालमा आउने भारतीय तीर्थयात्रुहरूलाई मन्दिरहरूमा कुन कुन पूजा लगाउन मिल्छ जस्तो कुरा पर्याप्त जानकारी हुँदैन । उदाहरणका लागि पशुपतिनाथको दर्शन गर्न आएको भारतीय तीर्थयात्रीहरू सँगैका गुह्येश्वरी मन्दिर ज्यादै कम जान्छन् । उनीहरूलाई त्यहाँ लैजान नसक्नु नेपालको कमजोरी हो । त्यस्तै काठमाडौं आइसकेका उनीहरूलाई बूढानीलकण्ठ, डोलेश्वर आदि मन्दिर लैजान नसक्नु पनि ठूला कमजोरी नै हो । केवलकारको सञ्चालन पछि मनकामना मन्दिर जाने भारतीय पर्यटक बढेका छन् तर पशुपति आउने धेरैलाई मनकामना मन्दिरबारे थाहा छैन । नेपालीहरू हँसिला र सहयोगी भनी विश्व पर्यटन बजारले चिनेको छ । यही भएर पनि पर्यटकहरूले नेपाल रोज्ने गरेका छन् । तर, भारतीय पर्यटकले भने यस्तो अनुभव कमै गरेको पाइन्छ । उनीहरूलाई पर्यटक नै होइनन् जस्तो सोच कतिपय नेपाली, पर्यटनकर्मी र व्यवसायीमा पाइन्छ । भारतमा मध्यम वर्गको उदय भइरहेको छ । त्यसैले भारतीयहरू भ्रमणका लागि अन्य मुलुक जाने क्रम बढ्दो छ । बालीले हिन्दु मन्दिर र संस्कार देखाएरै विश्व पर्यटन बजार आफूतिर आकर्षित गरिरहेको छ तर नेपाल भने विश्वमै हिन्दु बहुल देश भएर पनि उनीहरूलाई पर्यटक बनाएर ल्याउन सकिरहेको छैन । यसमा नेपालकै कमजोरी देखिन्छ । पन्त नेपाल एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयको नेतृत्व सधैं अस्थिर : पर्यटनको विकासमा भएन केही पनि काम

पर्यटन क्षेत्रको विकासका लागि स्थिर नीति र सबल कार्यान्वयन चाहिन्छ । सरकार र निजीक्षेत्रबीच कामको तालमेल मिल्नुपर्छ । तर, नेपालमा पर्यटनमा जति उपलब्धि प्राप्त भएको छ त्यो सबै निजीक्षेत्रको प्रयासमा भइरहेको छ । यसको अर्थ सरकारले केही पनि गरेको छैन भन्ने होइन, तर सरकारको कामले पर्यटन क्षेत्रले गरेको प्रगति निकै न्यून छ । सरकारले विकासका लागि प्रतिबद्धताका साथ काम गर्न नसकेको सही हो । त्यस्तै स्थिरता नभएकाले बनेका कार्यक्रम कार्यान्वयन हुन पाएका छैनन् । यस्तो प्रवृत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन रहेको छ । एक दशकमा डेढ दर्जन मन्त्री फेरिएका छन् । औसतमा हिसाब गर्दा एउटा मन्त्रीले ६ महीनामात्रै काम गरेको देखिन्छ । यो समयमा उसले यो गर्छु र त्यो गर्छु भन्नु भन्दा बढी केही गरेको देखिँदैन ।  चाँडो मन्त्री फेरिनेमा पर्छ पर्यटन मन्त्रालय । गृह, अर्थजस्ता मन्त्रालयमा पुग्न सांसदहरूबीच मारामार नै हुन्छ तर पर्यटन मन्त्रालय उपेक्षित छ । मुलुकको अर्थतन्त्रमा निकै सहयोगी पर्यटन क्षेत्र नै यसरी लथालिंग पारामा चलेको छ । मुलुकले पर्यटनलाई जति नै प्राथमिकता दिएको छ भने पनि त्यो व्यवहारत: प्रमाणित हुँदैन । धन्न, यस्तो बेथितिमा पनि पर्यटन व्यवसायमा ठूलो लगानी भएको छ र लाखौंले रोजगारी पाइरहेका छन् । गत आर्थिक वर्षमा पर्यटक आगमन संख्या पनि निकै बढ्यो । राष्ट्रिय महत्त्वका दीर्घकालीन योजना, विकासका गुरुयोजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरताका लागि मन्त्रालयको नेतृत्व छिटोछिटो परिवर्तन हुनु हुँदैन । अझ, मन्त्री आएपिच्छे फेरिने नारा, प्राथमिकता र कार्यक्रमले पर्यटनलाई निकै असर गर्छ । यसमा राजनीतिक दलहरूको ध्यान जान सकेको छैन ।  पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।  मन्त्रालय र मातहत निकायको योजना र कार्यक्रमको सेवा प्रवाह, प्रभावकारिता, निरन्तरता मन्त्रालयको नेतृत्वसँग गाँसिएको हुन्छ । तर, छिटोछिटो मन्त्री फेरिँदा पर्यटन क्षेत्रका दीर्घकालीन योजना र प्रवर्द्धनात्मक कार्यक्रम अघि बढ्न सकेका छैनन्, चर्चामा आउने कार्यक्रमको घोषणा मात्र भएका छन् । मन्त्री फेरिए पनि मन्त्रालयको स्थायी संयन्त्र चुस्त रहे समस्या पर्दैन थियो । तर, सरकारी संयन्त्रहरू स्थायी ढंगले काम गर्न सक्ने सामथ्र्यका छैनन् । नेतृत्व परिवर्तन भएपछि काममा स्वाभाविक रूपमा केही सुस्ती आउँछ । नेतृत्व फेरिएसँगै नीति पनि फेरिने गरेको छ, जसले गर्दा सरकारी संयन्त्रहरू नेतृत्वले धकेलेर मात्रै अघि बढ्ने र नेतृत्व उदासीन भएमा टालटुले योजना देखाएर जागीर पकाउने मानसिकतामा देखिन्छ । नेपालमा आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्ने प्रणाली नै छैन । न मन्त्री आफ्नो कामप्रति जिम्मेवार देखिन्छन् न कर्मचारी नै । यसको एउटा उदाहरण हो : २०१३ यता नेपाल यूरोपेली संघको कालोसूचीमा रहिरहनु । एक दशकका डेढ दर्जन मन्त्रीले कालोसूचीबाट हटाउने बताए पनि हट्नका लागि आवश्यक काम भने गरेनन् । कुनै पनि पर्यटनमन्त्रीले नेपाल वायुसेवा निगमको सुधारका लागि बलियो काम गर्न सकेका छैनन् । अध्ययन र नेतृत्व परिवर्तनबाहेक सिन्को भाँच्ने काम भएको छैन । यस्तो अवस्थामा पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ ?  अलपत्र अन्तरराष्ट्रिय विमानस्थल एउटा मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका भरमा नेपालमा पर्यटक ल्याउनुपर्ने अवस्था छ । त्यसमा पनि यसको स्तरोन्नतिको काम अझै पूरा भएको छैन । यो विमानस्थलको विस्तार हुन नसकेका कारण पटकपटक विमानहरू आकाशमा होल्ड गर्नुपरेको अवस्था छ । सञ्चालनमा आइसकेर पनि गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलले व्यवसाय गर्न सकेका छैनन् । भारतले भैरहवा नजिकको हवाई रूट नदिएका कारण यसो भएको देखिन्छ । यद्यपि चीन, थाइल्यान्ड आदि देशबाट हुने उडान पनि पोखरा र भैरहवा पुर्‍याउन सकिएको छैन । पश्चिम क्षेत्रबाट हवाई प्रवेशमार्ग नपाउनुमात्रै यी विमानस्थल सञ्चालन नहुनुको कारण होइन भन्ने यसले देखाउँछ । यहाँ विमानस्थल नै आवश्यक नभएको अवस्थामा यो बनाइएको हो अथवा सरकारले नयाँ विमानस्थलबाट उडान गर्न वायुसेवा कम्पनीहरूलाई पर्याप्त सुविधा दिन नसकेको हो भन्ने यसले देखाउँछ । कुनै पनि नयाँ विमानस्थल सञ्चालन गर्न केही समय लाग्न सक्छ । तर, यतिका समयसम्म एउटा पनि अन्तरराष्ट्रिय उडान नियमित गर्न नसक्नुको कारण सरकारकै कमजोरी नै हो भन्ने देखिन्छ । कुनै पनि मन्त्रीले धेरै समय काम गर्न नसक्नु पनि यसको एउटा कारण हो भन्ने देखिन्छ । नेवानिको बेहाल निजी वायुसेवा कम्पनीले मालामाल कमाइरहेका बेला सरकारी कम्पनी भने सधैं विवादको घेरोमा मात्रै सीमित देखिन्छ । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । सरकारी प्रभाव र दबाबबाट मुक्त हुने हो भने यसले पक्कै पनि केही व्यावसायिक योजना बनाउन सक्थ्यो होला । न यसलाई विघटन गर्ने हिम्मत कुनै सरकारको देखिएको छ न निजीकरण नै । यी दुवै काम गर्न नसकेको अवस्थामा सरकारी संयन्त्रलाई चुस्त र उत्तरदायी बनाएर विशेष अभियानका साथ पनि यसलाई चलाउन नसकिने होइन । सरकारी कम्पनी भएर पनि नेपाल टेलिकमले निजीक्षेत्रसँग प्रतिस्पर्धा गरेर नाफा कमाएर टन्न बोनस खुवाउन सक्छ भने नेवानिले किन कमाउन सक्दैन ? किन व्यवसाय गर्न सक्दैन ? सरकार फेरिए पनि टेलिकमको आफ्नै व्यावसायिक योजना छ जसमा खासै परिवर्तन भएको पाइँदैन । त्यही मोडलमा नेवानिलाई चलाउन किन सकिँदैन ? निजीक्षेत्रको प्रवेश गराएर शेयर विक्री गरी नयाँ विमान खरीद गर्ने बाटो पनि खुल्छ । तर, यसलाई कोही पनि किन सुधार्न चाहँदैनन् ? एउटा कारण त मन्त्रालयको नेतृत्व नै बढी समय नटिक्नु हो । निगमको दुरवस्था र त्यसबाट पर्यटनमा परेको असरबारे कुनै पनि सरकारले चासो दिएका छैनन् । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । निगमको आन्तरिक उडानका लागि गतिलो र पर्याप्त विमान छैनन् । अन्तरराष्ट्रिय उडानका लागि एकातिर भएका विमान उडाउन सकिएको छैन भने अर्कातिर विमान थप्ने निगमको प्रयास पनि सफल भएको छैन । कमिशनको चक्करमा कुनै पनि काम नहुनु नै निगमको ओरालो यात्राको कारण हो । यसमा रोक लगाउन प्रतिबद्ध र केही वर्ष टिक्ने मन्त्रीको आवश्यकता देखिन्छ । चिनियाँ विमानको व्यवस्थापन नेपालले कसको प्रभाव वा दबाबमा परेर चिनियाँ विमान किनेको हो त्यो अझै स्पष्ट छैन । एक पक्षले अर्को पक्षलाई आरोप लगाइरहेका छन् र निर्णयकर्ताले यसबारे स्पष्टीकरण दिएका पनि छैनन् । चिनियाँ विमान कमजोर हुन् वा नेपालका लागि अनुपयुक्त हुन् स्पष्ट छैन । गल्ती त भइसक्यो । ऋणको रकम नतिरी उपाय छैन । यस्तोमा चिनियाँ विमान के गर्ने भन्ने टुंगो लगाउन नसक्दा निगमलाई ठूलो भार छ । कि त यसलाई कबाडीमा बेच्नुपर्छ कि त आपत्कालीन अवस्थामा प्रयोग गर्न नेपाली सेनालाई दिन सकिन्छ । निर्माता कम्पनीलाई फिर्ता गर्ने सामथ्र्य नेपालको छैन भन्ने त स्पष्ट नै छ । त्यसैले यी जहाज निगमको जिम्मेवारीबाट सकेसम्म हटाउनुपर्छ । अनि आन्तरिक उडानका लागि निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ विमान ल्याउनुपर्छ । दुर्गममा विमान उडाएर निजीक्षेत्रलाई सुगम क्षेत्रको व्यापार सुम्पिनु कुनै पनि हालतमा राम्रो होइन । सुगममा निगमको उडान प्रशस्त भए प्रतिस्पर्धा भएर आन्तरिक उडान पनि सस्तो हुन सक्छ । अन्तरराट्रिय उडानमा निगमको अंश नबढाउने हो भने पर्यटन क्षेत्रको विकास हुनै सक्दैन भनिदिए पनि हुन्छ । पर्यटक आए पनि अत्यधिक पैसाचाहिँ विदेशी कम्पनीले नै लैजानेछन् । यो अवस्थाको अन्त्य गर्न कुनै पनि मन्त्रीले काम गरेनन् । प्राधिकरणको विभाजन नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामका निकायमा अलग गर्ने काम अघि बढ्न सकेको छैन । नेपाल इयूको कालोसूचीमा पर्नुको एउटा कारण यो पनि मानिएको छ । विश्वभरि नै एउटै संस्था नियामक र सेवाप्रदायक बनाउने चलाउन छैन । त्यसैले यसअनुसार नेपालले प्रक्रिया अगाडि बढाए पनि, कानूनी आधार तय भए पनि त्यसअनुसार काम भने भएको छैन । नागरिक उड्डयनसम्बन्धी अन्तरराष्ट्रिय संस्था आइकाओले पनि यसमा प्रश्न उठाएकै हो । त्यसैले प्राधिकरणको विभाजन ढिलाचाँडो गर्ने पर्ने बाध्यता छ । यसको विभाजनको काम गर्न कुनै पनि मन्त्रीले आँटेका छैनन् ।  पर्यटन नीति नेपालको २० वर्षे पर्यटन नीति बने पनि त्यसअनुसार काम भएको छैन । खासमा पर्यटनका लागि केकस्तो नीति लिने, कस्ता पर्यटन प्रडक्टमा ध्यान दिने, पर्यटनलाई योजनाबद्ध ढंगले कसरी अघि बढाउने भन्ने कुरा पर्यटन नीतिले तय गर्छ । यस्तो नीति व्यावहारिक हुनुपर्छ । व्यवसायी, सरकार र पर्यटनविज्ञ मिलेर सही पर्यटन नीति बनाउन आवश्यक छ । कुनै पनि मन्त्रीले यसका लागि काम गरेको देखिँदैन ।  पर्यटन प्रवर्द्धनका कार्यक्रम मन्त्री फेरिएपिच्छे कसैले भ्रमण बिदा, कसैले आन्तरिक पर्यटन प्रवर्द्धन, कसैले भ्रमण दशकजस्ता कार्यक्रमको घोषणा गरे पनि कुनै पनि कार्यक्रमको शुरुआत भएन । कागजमा बनाइएका यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन हुने कुरै भएन । पर्यटन प्रवर्द्धनका लागि खडा गरिएको नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन छ । उसले प्रवर्द्धनको कार्यक्रम गर्न सकेको छैन । अहिलेसम्मका पर्यटनमन्त्रीले स्टन्टको काममात्रै गरे भन्दा फरक पर्दैन  नयाँ पर्यटन मन्त्रीले केही गर्लान् ?  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा हितबहादुर तामाङ पुगेका छन् । १३ महीना पर्यटन मन्त्रीको जिम्मा पाएका सुदनका किरातीको बहिर्गमनसँगै तामाङ आएका हुन् । किरातीले पर्यटन क्षेत्रमा खासै उल्लेख्य काम भने गर्न पाएनन् । यद्यपि उनले नेवानिको सुधारका लागि केही कदम भने चालेका थिए । तर, उनको काम परिणाममुखी भने देखिएको छैन । नयाँ मन्त्री तामाङलाई पर्यटन प्रवर्द्धन गर्न भूमिका खेल्ने, नीतिगत सुधारको काम गर्ने, निजीक्षेत्रसँग सहकार्य गर्दै पर्यटनमा व्यावसायिक वातावरण बनाउनेलगायत जिम्मेवारी छन् । त्योभन्दा बढी दीर्घकालीन महत्त्वका काम गर्नु जरुरी छ । तामाङको प्रमुख काम भनेको निगमको सेवा विस्तार गर्न जहाज किन्ने, निगमको संरचनागत सुधार गर्ने, विमानस्थलको सञ्चालन राम्रोसँग गर्ने र ईयूको कालोसूचीमा परेको नेपालको उड्डयन सुरक्षालाई उक्त सूचीबाट हटाउनु नै हो । यी पक्षमा सुधार नगरी नेपालको पर्यटनले गति लिन सक्ने देखिँदैन । त्यसैले पर्यटनमन्त्रीको पहिलो काम भनेको निगमको सुधार र व्यवसाय विस्तार नै हुनुपर्छ । पर्यटन मन्त्रालय मातहतका वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणमा दीर्घकालीन र लाभदायी सुधारका काम गर्ने हो भने पर्यटन मन्त्रीले काम गरेको मानिन्छ । निवर्तमान मन्त्री किरातीले वायुसेवा निगमका लागि दुर्गम क्षेत्रमा उडान गर्ने तीनओटा ट्वीनअटर जहाज किन्ने प्रक्रिया अगाडि बढाएका थिए । उक्त प्रक्रियामा प्राविधिक त्रुटि देखिएपछि रोकिएको छ । नयाँ जहाज किनेर निगमको उपस्थिति देखाउने गरी आन्तरिक उडान थप्नुपर्ने देखिन्छ ।  नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्दै व्यवस्थापन सुधार गर्नु अहिलको प्रमुख काम हो । निगमले अन्तरराष्ट्रिय उडानका लागि दुईओटा न्यारोबडी भाडामा ल्याउने प्रक्रिया अगाडि बढाएको छ । निगमले ती जहाजसँगै अन्तरराष्ट्रिय उडानमा थप जहाजसहितको क्षमता विस्तार गर्नुपर्ने छ । निगमले जति धेरै गन्तव्यमा उडान गर्न सक्यो त्यति नै बढी पर्यटक ल्याउन सकिन्छ । त्यसैले वायुसेवा निगमका लागि जहाज किन्ने र भएका जहाज नाफामूलक क्षेत्रमा उडाएर ऋण तिर्न सक्ने तुल्याउनु तामाङको सफलता हुनेछ । नेपाली उड्डयनलाई ईयूको कालोसूचीबाट हटाउन सके निगमको उडान यूरोपेली क्षेत्रमा गर्न सकिन्छ । त्यस्तै पर्यटन बोर्डलाई प्रभावकारी बनाएर प्रवर्द्धनात्मक कार्य तीव्र बढाउनु जरुरी छ । त्यसैगरी पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन नीति बनाएर काम गर्नुपर्छ ।  त्यसैगरी गौतम बुद्ध र पोखरा विमानस्थलमा व्यावसायिक उडान गराउनु नयाँ मन्त्रीको चुनौती हो । पोखरामा पनि चीन सरकारबाट ऋण लिएर बनाएको विमानस्थल सञ्चालनमा आएको १ वर्षभन्दा बढी हुँदासमेत एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन । त्यस्तै हालत गौतम बुद्ध विमानस्थलको पनि छ । निजगढ विमानस्थल निर्माणको विषय अझै अन्योलमा रहेको छ । किरातीको समयमा सार्वजनिक निजी साझेदारीमा चारओटै विमानस्थल सञ्चालन गर्न दिने र कुनै कम्पनीले तीनओटा विमानस्थल सञ्चालनको जिम्मा लिएर निजगढ विमानस्थल बनाउन खोजे उसलाई दिने तयारी भएको थियो । नयाँ पर्यटनमन्त्रीले यसलाई निरन्तरता दिन्छन् वा दिँदैनन् थाहा छैन ।  नेपालमा पर्यटन क्षेत्रले जति गति लिएको छ त्यसमा सरकारको भन्दा निजीक्षेत्रको पहलले नै भएको हो भन्न सकिन्छ । निजीक्षेत्रले ठूलो लगानी गरेको छ र आफ्नो व्यवसायका लागि उसले पर्यटक ल्याउन आफै पहल गरेको छ । गर्ने त यस्तै हो तर पनि नेपालबाट प्रत्यक्ष उडान विभिन्न देशमा हुन सके पर्यटक आगमन बढ्छ । यस्तो उडानले पर्यटकले यात्राका लागि कम पैसा तिर्दा हुन्छ भने समयको पनि बचत हुन्छ । त्यसैले नेपालका प्रमुख बजारमा नेपाल वायुसेवाको उडान बढाउनु नै पर्यटनको दिगो विकासको आधार हो । अहिले आउने पर्यटकले विदेशी वायुसेवा प्रयोग गरिरहेका छन् । त्यसैले पर्यटकले गर्ने खर्चको ठूलो अंश यी नै विदेशी कम्पनीले लगिरहेका छन् । निगम भने विमान किन्दाको ऋणको साँवाब्याज तिर्न नसकेर समस्यामा छ । पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । त्यसैले मुलुकले पर्यटन क्षेत्रलाई नै उपेक्षा गरेको देखिन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।