काठमाडौं (अस) । बीमा समितिअन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । उक्त सेवाको बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले सुरुआत गरे ।
यसअन्तर्गत समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । अनलाइनबाटै एनसीएचएलको कनेक्ट आईपीएस र मोबाइल एप तथा कर्पोरेट पे प्रणालीमार्फत आफ्नो बैंक, वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिनेछ ।
विद्युतीय माध्यमबाट नवीकरण शुल्कलगायत भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समयअघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुरूप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिनेछ । पछिल्लो चरणमा समितिका सेवाशुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सर्भेयर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेन्डर भुक्तानीलगायत विभिन्न कारोबार बैंक खाताबाट सोझै गर्न सक्ने गरी काम अघि बढाइएको समितिले बताएको छ ।
एनसीएचएलमा आबद्ध भुक्तानी सेवाप्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेशनल पेमेन्ट स्विचअन्तर्गतको बिलर गेटवेमा जोडिने कार्य भइरहेको समितिको भनाइ छ ।
अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरण भुक्तानीका लागि प्रयोगकर्ताले कनेक्ट आईपीएस वा मोबाइल एपमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको समितिको इमेल छनोट गर्नुपर्नेछ ।
त्यसपछि आफ्नो भुक्तानीआवश्यकताअनुरूप एजेन्ट पेमेन्ट वा सर्भेयर पेमेन्ट छनोटलगायत सेवा लिन सीधै बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिनेछ ।