सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सानाको धारामा हिउँ जमेको छ ।
हिउँ जमेपछि सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ ।
आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा हिउँ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा हिउँ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिए ।
घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए । “कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ; र, पानीका धारामा हिउँ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ” उनले भने । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए ।