चितवन (अस) । चितवनमा यस वर्षको वर्षे धान रोपाइँ ५० प्रतिशत सकिएको छ । पूर्वी चितवनका सात स्थानीय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडीमा भने शनिवारसम्ममा ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र, चितवनले जानकारी दिएको छ । यस्तै भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका केही क्षेत्रमा रोपाइँ शुरू गरिएको छ ।
जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये ३५ प्रतिशत हिस्सा पूर्वी चितवनका पालिकाले ओगटेका छन् । कोभिड महामारीका कारण रोपाइँ गर्ने जनशक्ति तराईका जिल्लाबाट आउन नसक्दा चितवनका किसानले गतवर्षदेखि घरपरिवारको सहयोग र अर्मपर्मबाट रोपाइँ गरेका छन् । ‘अघिल्ला वर्षसम्म मधेशबाट रोपाइँ गर्ने कामदार आउँथे,’ ज्ञान केन्द्रका प्रमुख राजन ढकालले भने, ‘अहिले उनीहरू आउन नसक्दा स्थानीय किसान आफै सक्रिय भएका छन् ।’ खैरहनी र राप्ती नगरपालिकामा यस वर्ष मेशिनबाट रोपाइँ गर्ने कृषकको संख्या बढेको ढकालको भनाइ छ । ‘मनसुन र मौसम पनि अनुकूल भयो,’ उनले भने, ‘पूर्वी चितवनमा चैते धान भिœयाउनेबित्तिकै बर्खे धान रोपाइँ शुरू गरिन्छ । नत्र पछि तोरी लगाउन पनि ढिला हुन्छ ।’