सरकारले उखु तथा चिनी विकास समितिमा अध्यक्ष र एक सदस्य नियुक्त गरेको छ महीनासम्म यसलाई पूर्णता दिन सकेको छैन । यसले गर्दा उखु काट्ने बेला भइसक्दा पनि समर्थन मूल्य तोक्ने काम हुन सकेको छैन । यसो हुँदा उखुको मूल्यलाई लिएर किसानहरू अन्योलमा परेका छन् भने उद्योगीहरूले एकपक्षीय रूपमा अघिल्लो वर्षभन्दा पनि घटाएर समर्थन मूल्य तोक्न थालेका छन् । उखुको मूल्यलाई लिएर उखु किसान, उद्योगीहरू र सरकारबीच त्रिपक्षीय विवाद पनि चुलिएको छ । समिति गठनमा कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसान र चिनी उद्योगीहरूसँग रायसल्लाह नमागी मनोमानी गरेका कारणले यो स्थिति सिर्जना भएको हो । कृषिमन्त्री यादवले महीना दिनअघि उखु तथा चिनी विकास समितिको अध्यक्षमा राजनारायण यादव र किसानको तर्फबाट एक सदस्यमा मदनसिंह रानालाई नियुक्त गरेका थिए । तर, समितिको अध्यक्ष उखु तथा चिनीको क्षेत्रमा नभएको र अक्षम भएको भन्दै चिनी र उखु उत्पादक दुवैले नियुक्तिको विरोध गर्दै आएका छन् । उनीहरूको यो आरोप आधारहीन छैन ।
(सम्पादकीय)
वर्ष ६, अंक ६९, मंगलवार, १४ मंसिर, २०६७