बगनासकाली गाउँपालिका–८, बराङ्दीकी देवका बस्यालले दुई वर्षदेखि मकै लगाउन छाडेकी छन् । बाँदर, दुम्सी, मृग, बँदेललगायतका जंगली जनावरले हैरान बनाएपछि खेती गर्न छाडेकी हुन् । त्यही बेला बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको कार्यक्रमअनुसार उनले अकबरे खुर्सानी र कुरिलो खेती थालेकी छन् । पहिलो वर्ष खासै आम्दानी नभए पनि यस वर्ष भने २ लाख ५० हजार रुपैयाँभन्दा बढीको उत्पादन बिक्री हुने उनको अनुमान छ ।