नेपाल पुनर्बीमा कम्पनीको जीवन बीमा व्यवसायको नाफा घट्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार निर्जीवन बीमा व्यवसायबाट रू. १७ करोड ८४ लाखभन्दा बढी र जीवन बीमा व्यवसायबाट रू. १ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको यसै अवधिसम्मको तुलनामा भने कम्पनीको निर्जीवन बीमा व्यवसायबाट भएको खुद नाफा बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. १६ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । जीवन बीमा व्यवसायबाट भने गत वर्ष रू. ७ करोड ५० लाखभन्दा बढी खुद नाफा भएकोमा यस वर्ष गत वर्षभन्दा कम नाफा भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी निर्जीवन बीमा व्यवसायबाट उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष निर्जीवन बीमा व्यवसायबाट रू. २६ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६९ करोड ८३ लाखभन्दा बढी आम्दानी गरेको हो ।  जीवन बीमा व्यवसायबाट हुने आम्दानी भने यस वर्ष रू. ९ करोड ९६ लाखभन्दा बढीले घटेको छ । गत वर्ष जीवन बीमा व्यवसायबाट रू. ११ करोड ९९ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ३ लाखभन्दा बढी मात्र गरेको छ । दोस्रो त्रैमासससम्म कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ रू. ५ अर्ब ३९ करोडभन्दा बढी र जीवन बीमा व्यवसायतर्फ रू. ६३ करोडभन्दा बढी छ ।  बीमा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ मात्र रू. २ अर्ब ५१ करोडभन्दा बढी कायम छ । कम्पनीको कुल बीमा शुल्क आर्जन भने यस वर्ष घटेको छ । गत वर्ष रू. २ अर्ब ७१ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६९ करोडभन्दा बढी मात्र कुल बीमा शुल्क आर्जन गरेको हो । दाबी भुक्तानी रकम भने गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष रू. ९६ करोडभन्दा बढी भएकोमा यस वर्ष रू. १ अर्ब ३ करोडभन्दा बढी भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ३४ रहेको छ ।

सम्बन्धित सामग्री

अढाई करोड जीवन बीमाको लोभमा आफ्नै कर्मचारीको हत्या, मुख्य योजनाकार सहित ६ पक्राउ

अढाई करोड जीवन बीमाको लोभमा आफ्नै २१ बर्षिय कर्मचारीको हत्या गरिएको घटना सार्वजनिक भएको छ।  केन्द्रिय अनुसन्धान ब्युरो, सीआइबि, ले आज एक पत्रकार सम्मेलनको आयोजना गरि अढाई करोडको बीमा रकको लागि आफ्नै कर्मचारीको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जनालाई सीआइबिले सार्वजनिक गरेको हो ।   पक्राउ पर्नेमा दुई जना महिला र चार जना पुरुष रहेका छन्।  जसमा हत्या गरिएका कर्मचारी सृजन बिकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् रिलायन्स लाइफका  बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी संजिव अर्यालसंग भेट गराउने आरति उपनाम भएकी ललिता सापकोटा, सर्जन बिकलाई ठक्कर दिएर मृत्युको मुखमा पुर्याउने  व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी रहेका छन् । सीआइबिका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीकाअनुसार नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स लाइफबाट अनुसन्धानको लागि पत्रचार भएर आएपछि अनुसन्धान थाल्दा यो सबै घटना बाहिर आएको हो। रिलायन्स लाइफले आफुले दाबी भुक्तानी गरिसकेको अढाई करोड दाबि गरेपछि घटना शंकास्पद भएको पाईएकाले नेपाल पुनर्बिमाले अनुसन्धानको लागि सीआइबिलाई अनुरोध गरेको हो। सुरुमा सर्जन बिकको मृत्यु मिनी बसको ठक्कर भएको भनेर त्यहि अनुसार मिलापत्र भएपनि उक्त हत्या योजनाबद्द भएको र हत्याको कारण अढाई करोड जीवन बीमा भएको खुलेको हो। पुनर्बीमाको अनुरोध अगाडी नै रिलायन्स लाइफले श्रीमती वा इच्छाइएको व्यक्ति भनिने सपना मल्ललाई अढाई करोड दाबि भुक्तानी गरेको थियो। मिनी बसको ठक्करबाट मृत्यु भएका सर्जन बीकलाई योजनाबद्द तरिकाले हत्या गरेर उनलाई प्रयोग गरि बीमा रकम अढाई करोड कुम्ल्याउन यो सबै प्रपंज रचिएको सीआईबिको अध्ययनले देखाएको छ। सर्जन बीक सवार मोटरसाइकल बीमा अभिकर्ता सर्दार अहमद खाको भएको र सर्जन बिक मुख्य योजनाकार संजिव अर्यालका कर्मचारी भएको अध्ययनले देखाएको छ।सर्जन बीकको मृत्यु हुनभन्दा अगाडी नै सबै कुराहरुको योजना बनाइएको अध्ययनले देखाएको छ।  सर्जन बीकको मृत्यु हुनु भन्दा झन्डै एक महिना २६ दिन अगाडी उनको र उनको श्रीमती भनिएकी सपना मल्लको बैंक खाता कामना सेवा बिकास बैंकमा खोलिएको छ। लगत्तै अर्थात् मृत्युको २६ दिन अगाडी सर्जन बीकको नाममा २०७७ साल फागुन २८ गते रिलायन्स लाइफमा अढाई करोडको जिवन विमा भएको छ। उक्त जीवन बीमामा इच्छाईएको व्यक्तिमा जापान जाने तयारी अवस्थामा विमानस्थलबाटै पक्राउ परेकी सपना मल्ललाई राखिएको छ। जबकी सर्जन बीकको नाममा अढाई करोडको बीमा भएको भन्दा ५ दिन पछाडिमात्रै सर्जन र सपना मल्लबीच बिहे भएको बिहे दर्ता देखाइएको छ। सर्जन बीकको मृत्यु भएको भनि रिलायन्स लाइफमा गरिएको दाबी रकम २ करोड ५० लाख रुपैयाँ सपना मल्लको खातामा आएको र त्यसपछि यो पैसा यस घटनामा संलग्न ४ जनामा पैसा बाँडफाँड भएको देखिन्छ। जसमा यस घटनाका मुख्य योजनाकार संजिव अर्यालमा  ८० लाख ३६ हजार, काठमाण्डौ बसेर दिपेंडेण्ड भिसादेखि अरु सबैको व्यवस्थापन मिलाएका दिपक केसीमा ६० लाख, सपना मल्लको आमा छबि कुमारी खत्रीकोमा १७ लाख ४६ हजार, सपना मल्लकोमा ८६ लाख ८९ हजार बाँडफाँड भएको देखिन्छ। अनुसन्धानको क्रममा आरति भन्ने ललिता कुमारी सापकोटाले सपना मल्ल र संजिव अर्याललाई भेट गराईदिएको, सपना मल्ललाई डिपेन्डेण्ड भिषामा अष्ट्रेलिया पठाउने बिषयमा कुरा भएको, विवाह दर्तापछि मृतक र सपना मल्लको भेट नभएको, सपना मल्लको बैंक खाता संजिव अर्यालले नै खोलि सम्पूर्ण चेक हस्ताक्षर गराई लिएको खुलेको छ। यस घटनामा अरु धेरै बिषयको खुल्न बाँकी भएकाले आफुहरु थप अनुसन्धानमा लागेको र यस्ता घटना यस अगाडी पनि भएको हुन सक्ने सीआइबिका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बिजपाटीलाई बताएका छन।

बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।

बलियो प्रतिस्पर्धीको रूपमा आउँदै

काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वसहित २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । रू. १ करोड अधिकृत पूँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गर्‍यो । पछि २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा परिवर्तन भयो । शुरूमा निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गर्‍यो । तर, २०७१ सालयता संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ । संस्थान आउनुअघि नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय शुरू गरेको थियो, जुन अहिले नेपाल इस्योरेन्सको रूपमा सञ्चालित छ । तर, सो कम्पनीले नेपाल बैंकसँग सम्बन्धित बीमा मात्र गर्ने गरेको थियो । त्यसैले, राष्ट्रिय बीमा संस्थानलाई नेपालको पहिलो ‘फुल फेज’को बीमा कम्पनीको रूपमा पनि लिइन्छ । राष्ट्रिय बीमा संस्थान आउनुअघि नेपालमा भारतीय बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका थिए । संस्थान आएपछि भारतीय कम्पनी फर्किए । त्यसपछि संस्थानलाई नेपाली बीमा बजारमा एक्लै ‘राज’ गर्ने अवसर प्राप्त भयो । तर, संस्थानले त्यसअनुरूप आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउन सकेन । मुलुकको राजनीतिक अस्थिरता, दशवर्षे सशस्त्र द्वन्द्व, ट्रेड युनियनमा हुने राजनीति लगायतले पनि संस्थानलाई नकारात्मक असर पार्‍यो । साथै, पर्याप्त तथा दक्ष जनशक्ति नहुँदा पनि संस्थान आन्तरिक रूपमा कमजोर हुँदै गयो । लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा समेत संस्थान पछि पर्दै गयो । संस्थानले १०औं वर्षसम्म पनि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेन । संस्थानले धेरै वर्षहरू ‘पेन्डिङ’मा रहेका काम गरेरै बितायो । अझै पनि संस्थानको आव २०६९/७० यताको साधारणसभा भएको छैन । यस्ता समस्या हुँदाहुँदै पनि संस्थान बीमा बजारमा बलियो प्रतिस्पर्धीको रूपमा आउन लागेको छ । संस्थानको पछिल्लो वर्षका वित्तीय परिसूचकले पनि त्यो पुष्टि गर्छ । संस्थानका बीमाशुल्क संकलन, नाफा, जीवन बीमा कोष बढ्दो अवस्थामा छन् । बीमाशुल्क, बीमा कोषको आधारमा संस्थानले बीमा बजारको करीब ९ प्रतिशत हिस्सा ओगटेको छ । चालू आवमा त बीमा संस्थान बीमाशुल्क संकलन गर्ने मामलामा तेस्रो स्थानमा आएको छ । त्यसअनुसार अब छिट्टै संस्थान बीमा बजारको बलियो प्रतिस्पर्धी कम्पनी बन्ने देखिन्छ । संस्थानका सञ्चालक एवं उच्च अधिकारीहरू पनि सोहीअनुसार कम्पनीलाई अगाडि बढाउने बताउँछन् । संस्थानका सेवासुविधालाई पनि डिजिटलीकरण गरिँदै लगिएको छ । अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्न मिल्ने, एसएमएसमार्फत बीमालेखबारे जानकारी लिन सकिने जस्ता सुविधा संस्थानले शुरू गरिसकेको छ । यस्तै, मोबाइल एपमार्फत संस्थानको सेवाबारे सहजै बझ्न सकिन्छ । संस्थानले आफ्नो आन्तरिक सफ्टवेयर समेत विकसित गर्दै आएको छ । यसअघि लामो समयसम्म ‘डेस्कबेस्ड’मै काम गरेको थियो । त्यसबेलाका तथ्यांक राख्ने पनि कुनै प्रविधि थिएन । संस्थानका सबै तथ्यांक कागजी रूपमा मात्र भण्डारण गरिएको थियो । तर, अहिले आन्तरिक प्रयोजनका लागि नयाँ सफ्टवेयर ल्याइसकेको छ । त्यसमा संस्थानका सबै तथ्यांक समावेश भइसकेको छ । शाखा संख्या पनि सातै प्रदेशमा हुने गरी २२ ओटा पुर्‍याइएको छ । अब छिट्टै बागलुङ र इलाममा शाखा स्थापना हुँदै छ । आगामी ३ वर्षमा ५६ ओटा शाखा पुर्‍याउने संस्थानको लक्ष्य छ । सबै शाखाबाट संस्थानका सबै सेवा लिन पाउने व्यवस्था गरिएको छ । बीमालेख जारी गर्न अब प्रधान कार्यालयमै आउनुपर्ने बाध्यता छैन । संस्थानले ग्राहकको चाहनालाई लक्षित गरेर ‘इन्डोमेन्ट’ तथा ‘मनी ब्याक’ बीमा योजना ल्याउन लागेको छ । त्यो बीमा समितिबाट स्वीकृत हुने चरणमा छ । यसका अलावा अभिकर्ताको संख्या तथा क्षमता विस्तार गर्ने, कर्मचारी थप गर्ने, व्यावसायिक योजना बनाउने संस्थानको तयारी छ । त्यसअनुसार अहिले संस्थानलाई प्रतिस्पर्धी कम्पनीको रूपमा आउन प्रशस्त आधार तय भइसकेको देखिन्छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान हुने चरणमा छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले कम्पनीलाई बलियो प्रतिस्पर्धीको रूपमा अघि बढाइने बताए । ‘अहिले कम्पनीको कमजोर पक्ष लेखापरीक्षण र साधारणसभा हुन नसक्नु हो । यद्यपि आव २०७५/७६ सम्मको लेखापरीक्षण भइसकेको छ, समितिबाट स्वीकृत हुन मात्र बाँकी हो,’ उनले भने, ‘त्यो स्वीकृत हुनासाथ साधारणसभा पनि भइहाल्छ । त्यसपछि बजारमा संस्थानप्रतिको नकारात्मक सन्देश पनि हट्छ । त्यसपछि हामी नयाँ उत्साहका साथ बीमा बजारमा प्रवेश गर्छाैं । त्यसका लागि प्रशस्त आधार पनि तयार भएका छन् ।’ संस्थानले आव २०६६/६७ देखि २०६८/६९ सम्मको साधारणसभा सम्पन्न गरी आव २०६९/७० देखि २०७१/७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । साथै आव २०७२/७३ देखि २०७५/७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न गरी अन्तिम वित्तीय विवरण प्राप्त हुने क्रममा रहेको बताइएको छ । संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले पनि संस्थानलाई बलियो प्रतिस्पर्धीको रूपमा विकास गरिने बताए । यसका लागि अहिले संस्थानको संरचना नै परिवर्तन गर्ने काम भएको उनको भनाइ छ । ‘अहिले हाम्रो लेखापरीक्षण तथा साधारणसभाको काम बाँकी नै छ । तर, हामी त्यसमा मात्र केन्द्रित छैनौं,’ उनले भने, ‘व्यवसाय विस्तार गर्ने काम पनि सँगसँगै अगाडि बढाएका छौं । अब छिट्टै नै बलियो प्रतिस्पर्धी बीमा कम्पनीको रूपमा उदाउँछौं ।’ संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठले पनि कम्पनीलाई बलियो रूपमा अघि बढाउने बताए । साथै, संस्थानको सेवालाई पनि ग्राहकमुखी बनाउँदै लगिने उनको भनाइ छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान भइसकेका छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानलाई यो लक्ष्य प्राप्ति गर्न चुनौती पनि उत्तिकै छ । कोरोनाले प्रभावित व्यावसायिक गतिविधि चलायमान बनाउनु, व्यावसायिक वृद्धिदर कायम गर्नु संस्थानका मुख्य चुनौती हुन् । साथै, अभिकर्ता र बीमितको संख्या बढाउन समेत चुनौतीपूर्ण देखिन्छ । निजी कम्पनीहरूले धेरै सेवा सुविधा दिएर अभिकर्ता र बीमितलाई आकर्षित गरिरहेका छन् । तर, संस्थानमा बीमित र अभिकर्ताका लागि यस्ता योजना छैनन् । अभिकर्ता र बीमित बीमा व्यवसायका लागि अभिन्न अंग हुन । त्यसैले, संस्थान यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिन्छ । बीमा बजारमा संस्थानको उपस्थिति चालू आवको पुस मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूको जीवन बीमा कोष ४ खर्ब ५२ अर्ब ७९ करोड छ । संस्थानले उक्त अवधिसम्ममा ३८ अर्ब ७८ करोड जीवन बीमा कोष कायम गरेको छ, जुन कुल जीवन बीमा कोषको ८ दशमलव ५६ प्रतिशत हो । यस्तै, चालू आवको ६ महीनामा ६ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको छ । यसै अवधिमा १९ जीवन बीमा कम्पनीहरूले भने ७० अर्ब ९१ करोड बीमाशुल्क संकलन गरेका छन् । त्यसअनुसार संस्थानको बजार हिस्सा झन्डै ९ प्रतिशत रहेको देखिन्छ । हालसम्म कम्पनीको बीमितको संख्या ६ लाख ३८ हजारर ७९३ पुगेको छ । संस्थानको लगानी लगानी व्यवस्थापन जीवन बीमा प्रदायकहरूको अर्को महŒवपूर्ण काम हो । संस्थानले बीमाशुल्कबापत उपलब्ध स्रोत नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा तोकिएको क्षेत्रमा संस्थानले लगानी गर्दै आएको छ । विशेषगरी विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको छ । सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो स्रोतको उपयोग गर्ने क्रममा संस्थानले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी (हालको बजार पूँजीकरण रकम १ अर्ब ३८ करोड) र २ अर्ब ८० करोड ऋण लगानी गरेको थियो । अहिले त्यो ब्याज पूँजीकरणसहित ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीमा १ अर्ब शेयर लगानी (हालको बजार पूँजीकरण ३ अर्ब २० करोड) गरिएको छ । त्यस्तै विद्युत् उत्पादन कम्पनीमा ६ करोड ६ लाख संस्थापक शेयर लगानी छ । जलविद्युत् लगानी तथा विकास कम्पनीको अगुवाइमा कम लागत तथा उच्च प्रतिफलयुक्त जलविद्युत् आयोजनाहरूमा स्वपूँजी तथा ऋण लगानी सम्बन्धमा छलफल भइरहेको छ । नागरिक लगानी कोषमा कोषको कुल शेयर पूँजीको ३१ दशमलव ५ प्रतिशत स्वामित्व रहनुका साथै सन्राइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी जस्ता वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रकम २४ अर्ब १९ करोड तथा डिबेञ्चरमा ४ अर्ब ३२ करोड रुपैयाँ लगानी छ । संगठन तथा व्यवस्थापन सर्भे संस्थानको विद्यमान संगठन तथा व्यवस्थापन समयसापेक्ष बनाउन नयाँ संगठन तथा व्यवस्थापन सर्भेको कार्य काठमाडौं विश्वविद्यालयको सहयोगमा तर्जुमा गरी सञ्चालक समितिमा पेश गरिएको छ । सञ्चालक समिति र नेपाल सरकारबाट स्वीकृति लिई उक्त सर्भे प्रतिवेदन कार्यान्वयन हुने संस्थानको भनाइ छ ।

नेपालको शेयरबजार पूँजीकरण

नेपालको शेयरबजारको पूँजीकरण ४० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ र अझ बढ्दो क्रममा छ । नयाँ कम्पनी सूचीकरण हुने र बजार मूल्य बढ्ने क्रमले पूँजीकरण पनि बढ्दो छ । पूँजीकरणमा भएको वृद्धिले शेयरबजारमा जोखिम बढेको तर्क पनि आएको छ । यस्तो तर्क आउनुको एउटा कारण कुल गार्हस्थ्य उत्पादन अर्थात् ग्रस डोमेस्टिक प्रोडक्ट (जीडीपी) बराबर शेयरबजारको पूँजीकरण पुगेको भन्ने छ । बजार पूँजीकरण र जीडीपीको अन्तरसम्बन्ध हुन्छ कि हुन्न भन्ने दुवै तर्क छ । अमेरिकी नागरिक वारेन बफेटले कुनै बेला उपयोगमा ल्याएको बजार पूँजीकरण र जीडीपीको अन्तरसम्बन्धलाई बफेट आफैले छाडिसकेका छन् । जीडीपीको हाराहारीमा पुगेको र योभन्दा पनि माथि जानसक्ने सम्भावना रहेको स्थितिमा साँच्चै जोखिम बढेको हो ? यसबारेमा बुझ्न शेयरबजारको पूँजीकरण र नेपालको शेयरबजारको पूँजीकरणबारे बुझ्नु आवश्यक हुन्छ । संक्षेपमा पूँजीकरण सूचीकृत शेयर संख्यालाई कारोबार दिनको अन्तिम मूल्यले गुणन गरी पूँजीकरण निकालिन्छ । दृष्टान्तका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को १५ करोड शेयर कित्तालाई कारोबार दिनको अन्तिम मूल्यले गुणन गरिन्छ । मानौं कुनै दिनको अन्तिम मूल्य १ हजार ५ सय रुपैयाँ कायम भए एनटीसीको बजार पूँजीकरण २ खर्ब २५ अर्ब रुपैयाँ हुन्छ । यसको अर्थ सबै शेयर सोही दिन किनबेच भएमा त्यति मूल्य कायम हुन्छ भनिएको हो । तर, एकै दिन सबै शेयर कारोबार हुँदैन र हुन सक्दैन । त्यस्तै, सबै शेयर खुलारूपमा कारोबारयोग्य पनि हुँदैन । तर, नेपालमा निश्चित समयको विक्री बन्देज अवधि सकिएपछि सबै शेयर खुला रूपमा कारोबार हुनसक्छ । यसमा सञ्चालक समितिमा रहेका शेयरधनीले धारण गरेको शेयर भने कारोबार योग्य हुँदैन । शेयर मूल्यमा घटबढ भइरहने हुँदा पूँजीकरण सधैं स्थिर रहँदैन र तलमाथि भइरहन्छ । पूँजीकरण लागि सामान्यतया खुला रूपमा कारोबार हुनसक्ने प्रवाहित (फ्लोटेड) शेयरलाई मात्र गणना गर्नुपर्नेमा नेपालमा भने सम्पूर्ण शेयरलाई सामेल गरिएको छ । नेपालमा अहिले सर्वसाधारण, संस्थापक र खुला कारोबारयोग्य संस्थापक (उदाहरणका लागि राष्ट्रिय वाणिज्य बैंकले बेचेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवर्द्धक शेयर) गरी ३ किसिमको शेयर छन् । यी तीनैथरी शेयरको फरकफरक मूल्य भए पनि सर्वसाधारणतर्फको बजार मूल्यलाई आधार मानेर पूँजीकरण गणना गरिन्छ । यसकारण पनि नेपालको शेयरबजारको पूँजीकरणलाई यथार्थपरक छैन र यसले वास्तविक चित्र दिँदैन भनिएको हो । वास्तविक पूँजीकरण कति नेप्सेमा २ सय २० ओटा कम्पनी सूचीकरणमा छन् । नेपालको शेयरबजारमा अहिले पनि बैंकिङ र बीमा कम्पनीको बाहुल्य छ । नेप्सेमा ३ खर्ब ५ अर्बभन्दा बढी कित्ता शेयर सूचीकरण भएका छन् । यीमध्ये खुला रूपमा कारोबारमा आउने शेयरको अनुमानित संख्या १ खर्ब ५३ अर्ब कित्ता छ । अनुमान गरिएको प्रवाहित शेयरको बजार पूँजीकरण करीब १४ खर्ब रुपैयाँ अनुमान गर्न सकिन्छ । तालिकामा सूचीकृत क्षेत्र, कुल शेयर संख्या, अनुमानित प्रवाहित संख्या र अन्तिम बजार मूल्यअनुसारको बजार पूँजीकरण पेश गरिएको छ । तालिकामा वाणिज्य बैंक, विकास बैंक, वित्त (फाइनान्स), लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा कम्पनीका शेयरलाई एकै ठाउँमा राखिएको छ । बैंकिङ र बीमाको कारोबारयोग्य र कारोबार अयोग्य शेयरको अंश औसत ५०/५० प्रतिशत रहेको अनुमान गरिएको छ । यसपछिको दोस्रो स्थानमा जलविद्युत् समूहका अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, सान्जेन जलविद्युत् कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर लिमिटेडको पनि कारोबारयोग्य शेयर बैंकिङ र बीमासरह ५० प्रतिशत मानी अन्य कम्पनीका पूरै शेयरलाई कारोबारयोग्यका रूपमा लिइएको छ । लगानी समूहको नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैंकको क्रमशः २०, २० र ४० प्रतिशत शेयरलाई कारोबारयोग्यका रूपमा लिइएको छ । अन्य समूहको एनटीसी र नेपाल पुनर्बीमा कम्पनीको क्रमशः १५ र १६ प्रतिशत शेयरलाई आधार लिइएको छ । उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटन समूहका सबै शेयरलाई कारोबारयोग्य गणना गरिएको छ । त्यस्तै, व्यापार समूहको विशालबजार र साल्ट ट्रेडिङको क्रमशः ६६ र ७४ प्रतिशतलाई कारोबारयोग्य मानिएको छ । जोखिमको अवस्था शेयरबजारको पूँजीकरण बढ्दैमा जोखिम बढेको हो भन्न सकिँदैन । शेयरबजारको पूँजीकरण मूलतः नयाँ कम्पनी थप हुँदा र साविककै कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा हुन्छ । पछिल्लो समयमा ठूला पूँजीयुक्त नेपाल पुनर्बीमा कम्पनी, नेपाल पूर्वाधार बैंक, तामाकोशी, रसुवा र सान्जेनजस्ता ठूला पूँजीयुक्तजस्ता कम्पनी थपिएका छन् । यसबाहेक १ अर्ब रुपैयाँभन्दा बढी पूँजी भएका जीवन बीमा, निर्जीवन बीमा र जलविद्युत् कम्पनी पनि थपिएका छन् । निकट भविष्यमा अर्को ठूलो पूँँजीयुक्त मध्यभोटेकोशी थपिने क्रममा छ । हकप्रद र बोनस शेयर थपिने क्रम पनि बढ्दो छ । उत्पादन तथा प्रशोधन क्षेत्रका अन्य कम्पनी पनि सूचीकरणमा आउन लागेका हुँदा यसले पनि पूँजीकरण बढाउँदै लानेछ । पूँजीकरण केवल गणना मात्र भएको र यो वास्तविक रकम नभएको हुँदा यसले आफ्नो लगानी र कारोबारमा असर गर्दैन । नेप्सेले सबै शेयरलाई बजार मूल्यले गुणन गरी पूँजीकरण देखाइरहेको हुँदा यसलाई वास्तविक पूँजीकरण मान्न सकिँदैन । तालिकामा अनुमान गरिएको करीब १४ खर्ब रुपैयाँ र यसैको मूल्य बढ्दा हुने रकम नै वास्तविक पूँजीकरण हो । कम्पनी थपिएसँगै पूँजीकरण र कारोबार मापन गर्ने इन्डेक्स पनि बढ्दै जान्छ । अंकका हिसाबले १० भन्दा १५ ठूलो हुन्छ तर, गुणात्मक रूपमा ठूलो हो कि होइन भन्ने कुरालाई आधार अंकसँग तुलना गर्नुपर्छ । उदाहरणका लागि १ सय रुपैयाँ लगानी गरेर १५ रुपैयाँ कमाउनु र १ हजार रुपैयाँ लगानी गरेर १ सय रुपैयाँ कमाउनु अंकको हिसाबले १ सय रुपैयाँ धेरै देखिए पनि गुणात्मक हिसाबले १५ रुपैयाँ धेरै हो । पूँजीकरण बढेको हिसाबले बढी भयो भन्न सकिन्छ । तर, गुणात्मक हिसाबले धेरै नहुन सक्छ भन्ने कुरा उदाहरणले स्पष्ट पारेको छ । तसर्थ लगानी गर्दा पूँजीकरण र इन्डेक्सको आधारमा होइन जोखिम धारण गर्नसक्ने क्षमताअनुसार गर्नुपर्छ । पूँजीकरण र इन्डेक्सलाई अंकको हिसाबले घटीबढी भयो भन्नुभन्दा यसको पनि आधार पूँजीकरण लिएर तुलनात्मक रूपले हेर्नुपर्छ । यसका लागि नेप्सेले हरेक हप्ता आधार पूँजीकरण सार्वजनिक गर्नुपर्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

जोखिम पुनर्बीमाका लागि आइएमई लाइफ र पुनर्बीमा कम्पनीबीच सम्झौता

जोखिम समूहको पुनर्बीमा व्यवस्थापन गर्न स्थापित नेपाल पुनर्बीमा कम्पनी र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रवन्धक राकेश पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरे। हालै सरकारले स्वीकृति प्रदान गरेको दश जीवन बीमा कम्पनीमध्ये पुनर्बीमा गर्ने इन्स्योरेन्समा आइएमई इन्स्योरेन्स पहिलो कम्पनी हो।…