बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।