काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
विवरणअनुसार चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायबाट रू. ४६ करोड ४५ लाख नाफा कमाएको छ भने जीवन बीमा व्यवसायबाट रू. १७ करोड २० लाख नोक्सानी व्यहारेको छ ।
अघिल्ले आवको दोस्रो त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायबाट रू. ३३ करोड ६१ लाख नाफा कमाएको थियो भने जीवन बीमा व्यवसायबाट रू. ४ करोड ४७ लाख नोक्सानीमा थियो ।
कम्पनीको निर्जीवन बीमा ब्यवसायबाट हुने नाफा गत आवको तुलनामा चालू आवमा ३८ दशमलव १८ प्रतिशत वृद्धि भएको हो । निर्जीवन व्यवसायबाट कम्पनीले रू. १ अर्ब ४२ करोडभन्दा बढी आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । त्यस्तै जीवन व्यवसायको आम्दानी भने रू. १६ करोड ३ लाख ऋणात्मक रहेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको निर्जीवन र जीवन दुवै व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ । चालू आवमा निर्जीवनतर्फ रू. ५ करोड ६२ लाख र जीवनतर्फ रू. १ करोड ८६ लाख व्यवस्थापन खर्च भएको छ । गत आवमा यस्तो खर्च क्रमशः रू. ५ करोड र रू. ८१ लाख ७७ हजार थियो ।
चालू आवमा निर्जीवन व्यवसायतर्फको जगेडामा रू. ५ अर्ब ८९ करोड र जीवन व्यवसायमा रू. २८ करोड ७६ लाख सञ्चिति गरेको छ । त्यस्तै बीमा कोषमा निर्जीवन व्यवसायको रू. २ अर्ब ५१ करोड रहेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले कुल रू. ३ अर्ब १० करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवको दोस्रो त्रैमासमा रू. ५ अर्ब ५८ करोड थियो । त्यस्तै कम्पनीले रू. २ अर्ब ९१ करोड दाबी भुक्तानी गरेको छ भने रू. १ अर्ब ३८ करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ । प्रतिशेयर आम्दानी रू. २ दशमलव ५१ (वार्षिकीकरण) र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ६४ छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्