किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिका

बाँके । बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रको रूपमा विकास गरिँदै लगिएको छ । गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वरा शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिनेछ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रूपमा लिइएको छ । यी वडामा विशेषगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।     गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्वेक्षणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । गाउँपालिकाले युवा किसानमा बढ्दो विचलन नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न नि:शुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए । कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे । गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगत रूपमै समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अवलम्बन गर्न लगाउने गरिएको बताएको छ । रासस

सम्बन्धित सामग्री

महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका

१४ जेठ, तनहुँ । तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो । महिलालाई व्यावसायिक बनाउँदै …

दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने गरी सक्रियता देखाएको छ । निर्वाहमुखी खेतीलाई व्यावसायिक र उत्पादनमूलक बनाउँदै गएको गाउँपालिका उत्पादन तथा प्रतिफलमा अगाडि देखिन थालेको छ । किसानलाई मागका आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकीकरणका कारण उत्पादन बढ्न थालेको हो । गाउँपालिकाबाट अहिले दूध, तरकारी, पोखरेली जेठो बुढोको […]

अजिरकोटका किसानलाई व्यावसायिक भैँसीपालन तालिम

गोरखा, २४ माघ । गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ । पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा रोशनराजबहादुर सिंहले जानकारी दिए । “भैँसीपालन गर्दै आएका सबै वडाका अगुवा किसानको छनौट गरी तालिम प्रदान गरिएको हो”, […]

आचारबाट आम्दानीको स्रोत बनाउँदै पर्वतको पैंयुका महिला

पर्वत ।  पैयुँ गाउँपालिका–१ टकलाककी जानु कुमारी शर्मा न्यौपानेका दम्पती नै शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु हुन। जानुका श्रीमान् रुक्मांगदका गोडा कत्ति पनि चल्दैनन्, ‘ह्विल चियर’ को सहयोगबिना उहाँ यताउता गर्न सक्नुहुन्न । जिल्लाकै नमुना कृषकहरुमध्येको यो एक जोडीले व्यावसायिक रुपमा कृषि फर्म चलाएर तरकारी उत्पादन गर्दै आइरहेको छ। जानुलाई अब नयाँ जोस चढेको छ […]

अचारलाई आम्दानीको स्रोत बनाउँदै पैयुँका महिला

पर्वत : जिल्लाको पैयुँ गाउँपालिका–१ टकलाककी जानु कुमारी शर्मा न्यौपानेका दम्पत्ती नै शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू हुन। जानुका श्रीमान् रुक्माङ्तका गोडा कत्ति पनि चल्दैनन्, ‘ह्विल चियर’ को सहयोगबिना उनी यताउता गर्न सक्दैनन्।जिल्लाकै नमुना कृषकहरूमध्येको यो एक जोडीले व्यावसायिक रूपमा कृषि फर्म चलाएर तरकारी उत्पादन गर्दै आइरहेको छ। जानुलाई अब नयाँ जोस चढेको छ की व्यावसायिक रूपमा अचार पनि उत्पादन गर्ने। काठमाण्डौँमा रहँदा अचार बनाउने तालिमको बारेमा सुनेको भए पनि उनले सिक्

लुंखुदेउरालीलाई ‘मौरी गाउँ’ बनाउँदै महाशिला गाउँपालिका

पर्वत : कृषकले पालेका खसी बोका उत्पादनदेखि गाउँमा उत्पादित दुध र दहीलाई महाशिला गाउँपालिकाले कास्कीको पोखरामा निर्यात गर्दै आइरहेको छ। कृषिका माध्यमबाटै कृषकहरूको जीवनस्तर माथि उठ्न सक्छ भन्ने सोचका साथ कृषकका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको महाशिलाले गाउँपालिकाको लुंखुदेउरालीलाई मौरी गाउँको रूपमा विकास गर्दै मौरीको पकेट क्षेत्र रूपमा स्थापित गर्ने भएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार साना व्यावसायिक कृषि उत्पादन (पकेट) विकास कार्यक्रम अन्तर

ऊनको अभावमा उत्तरी र पश्चिमी म्याग्दीमा चल्न छोड्यो चर्खा

चैत १६, म्याग्दी । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ ।  गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीले बताएका छन् । भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन ।  भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए ।  भेडाको रौँबाट बनेका ऊनका कपडाको माग  देश–विदेशमा समेत उच्च रहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक कृषकहरुको भनाइ रहेको छ । ऊनबाट बन्ने कपडाहरू (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ । गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका मालिका गाउँपालिका–५ देविस्थानका टेकबहादुर बुढाले बताए ।  धवलागिरि गाउँपालिका–५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी भइन् । जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौँबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन् । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ ।  तेजमाँयाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन् । उनले रौँबाट बन्ने कपडा बुन्न बजैबाट (हजुरआमा) सिकेकी हुन् । तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनले बताइन् । ‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ, तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,’ उनले भने, ‘अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्, हाम्रो शषपछि यी सबै कुरा हराएर जान्छन् ।’ ‘त्यतिबेला अहिलेको जस्तो सिरक, डसनाको जमाना थिएन,’ उनले भनिन्, ‘सबै भेडाको रौँबाटै बनेका घुम, काम्लो थियो, कपासको कपडा त धेरै पछि आएको हाम्रो ठाममा ।’  अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकोप्रति उनी चिन्तित छिन् । उनीले भनिन्, ‘अहिलेका केटाकेटीहरु पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिँदैनन्, हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाउनालाई हामीसँगै पोलिदिन्छन् ।’ ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०÷५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरुको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उनले पछिल्लो समय ऊनका कपडाहरूको उत्पादन कम हुँदै गएको स्वीकार गरे । नयाँ–नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ । ‘पहिले पहिले दुःख पाउने (गरीब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ,’ मालिका गाउँपालिका–७ बिमका कर्मबहादुर जुग्जालीले भने, ‘यस्ता कपडाहरु वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुने हुनाले बुझेका र किन्न सक्ने मानिसहरुले खोजी गर्ने गर्दछन् ।’ रासस

किसानलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्दै गाउँपालिका

बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेती गर्न आकर्षण गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यबाहक अध्यक्ष भूमिसरा धितालले बताए । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्न...

शीतभण्डार बनाउँदै तनहुँका स्थानीय तह

दमौली । कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा विक्री वितरण गर्न तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अघि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले शीतभण्डार निर्माण थालेका हुन् । घिरिङ गाउँपालिका–१ अत्रौलीमा शीतभण्डार निर्माण शुरू भएको छ । संघीय सरकार र घिरिङ गाउँपालिकाको लागत साझेदारीमा शीतभण्डार निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । दुई करोड दश लाख लागतमा निर्माण हुने शीतभण्डार २०८० मङ्सिर १४ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद छ । शीतभण्डार निर्माणका लागि आरएनसीएस कश्याप जेभीसँग सम्झौता भएको छ । किसानले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि विक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको अध्यक्ष रानाले जानकारी दिए । गाउँपालिका क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । ‘गाउँपालिकाभित्र व्यावसायिक रूपमा उत्पादन भएका कृषि सामग्रीको उचित मूल्य पाउन नसक्दा किसानलाई समस्या हुँदै आएको छ, शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्ने विश्वास लिएका छौं,’ उनले भने, ‘गाउँपालिकाभित्र उत्पादन हुने आलु, अदुवालगायतका वस्तुलाई भण्डारणको व्यवस्था मिलाएर बिक्री वितरण गर्ने लक्ष्य लिइएको छ ।’ शीतभण्डार नहँुदा समस्या भोगेका किसान यसको निर्माण शुरू भएपछि खुशी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेका किसानलाई यसले सहयोग पुग्ने स्थानीयवासी विष्णुभक्त सिग्देलले बताए । व्यास नगरपालिकाले पनि शीतभण्डार निर्माण थालेको छ । व्यास नगरपालिका–११ मा तीन करोडको लागतमा शीतभण्डार निर्माण भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए । व्यास नगरपालिकाले नगरलाई आलुमा आत्मनिर्भर बनाउन किसानलाई अनुदानमा आलुको बीउ वितरण गर्दै आएको छ । शीतभण्डार निर्माण भएपछि आलुलाई भण्डारण गरेर विक्री वितरण गर्न सकिने खड्काले बताए । शुक्लागण्डकी नगरपालिकाले पनि गत वैशाखदेखि शीतभण्डार निर्माण गरिरहेको छ । शुक्लागण्डकी नगरपालिका–८ संगम टोलमा शीतभण्डार निर्माणलाई तीव्रता दिइएको छ । संघीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट निर्माण शुरू गरिएको शीतभण्डारको काम तीव्र गतिमा भइरहेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । किसानले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि विक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको वडाध्यक्ष रेग्मीले बताए । लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खट्किएको थियो ।