फागुन २२, रसुवा । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ । त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।
धुञ्चेको पुछार भोटेकोसीमा बाँध बाँधी ९ दशमलव ७ किमी सुरूङको सहायताले मैलुङ दोभानमा पानी पुर्याई विद्युत् उत्पादन गरिने छ । रू. ५५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीले दुई महीनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो ।
आर्थिक स्रोेत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँंग विद्युत् खरीदविक्रीको सम्झौता, बाह्य संरचनान्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरूङ निर्माणको काम अगाडि बढाइएको छ ।
सदरमुकाम धुञ्चे पुछार भोटेकोसीमा १०९ मिटर लम्बाइ, ३० दशमलव ८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६ दशमलव ७ मिटर व्यास र ९ दशमलव ७ किलोमिटर लम्बाइको हेडरेस सुरूङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरूङ निर्माणअन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरूङ निर्माण हुनेछ ।
वित्तीय व्यवस्थापन
नेपाल वाटर एण्ड एनर्जी डेभलमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र नौ विदेशी बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ ।
आयोजना निर्माणका लागि ऋण दिने विदेशी बैंक तथा वित्तीय संस्थामा आइएफसी, एडिबी, एआइआइबी, केइएक्सआइएम, केडिबी (कोरिया विकास बैंक), एफएमओ (नेदरल्याण्ड्स विकास बैंक), प्रोपार्को (फ्रान्स विकास बैंक), सिडिसी (बेलायत विकास बैंक) र ओएफआइडी (ओपेक फण्ड) छन् ।
उत्पादित विद्युत् खरीदविक्री व्यवस्थापन
वार्षिकरूपमा एक दशमलव ४५ करोड युनिट विद्युत् उत्पादन हुनेछ । प्रतियुनिट हिउँद याममा रू. आठ र पैसा ४० तथा वर्षायाममा रू. चार र पैसा ४० का दरले खरीदविक्री गर्ने गरी प्राधिकरणसँंग पिपिए सम्झौता सम्पन्न भइसकेको बताइएको छ ।
हिमपातका समयमा पानी जम्न गई जलप्रवाहमा कमी आउने भएका कारण शरद्, हेमन्त र शिशिर ऋतुका समयमा भने ५० प्रतिशत उत्पादन घट्ने आयोजनाले जानकारी दिएको छ । पाँच वर्षमा आयोजनाको संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उत्पादन शुरू भएपछि १० वर्षभित्र दातासँंग भएको सम्झौता बमोजिमको ऋण रकमको साँवा र ब्याज क्रमिक रूपमा चुक्ता गर्दै जाने बताइएको छ ।
आयोजना प्रभावित बासिन्दालाई सुविधा
रसुवाको दूरदराज क्षेत्रमा अवस्थित हाकु इलाकामा सञ्चालित उक्त आयोजनाबाट प्रभावित मानिएका स्थानीय बासिन्दालाई उनीहरूको क्षमतानुसार रोजगारीको अवसर प्रदान गरी क्रमिक रूपमा सामाजिक विकासलाई सघाउने लक्ष्य लिएको छ ।
आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाकु क्षेत्रका १५० स्थानीयवासीले रोजगारी एवं करीब १५ व्यक्तिले आफ्नो क्षमतानुसार कामको अवसर पाइसकेका छन् ।
आयोजनाले आफ्नो कार्य क्षेत्र तय गरेलगत्तै सामाजिक योगदानलाई उच्च प्राथमिकता दिँदै आएको छ । शिक्षाको गुणस्तरमा वृद्धि गराई प्रभावित क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न ठूलो र सानो हाकु तथा हाकुबेँसीका विद्यालयमा तीन वर्ष अगाडिदेखि एक/एक शिक्षक व्यवस्था, टाढाबाट आएका छात्रछात्रालाई धुञ्चेस्थित रसुवा माविको हातामा छात्रावास भवन एवम् राम्चेमा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ ।
दीर्घकालीन लक्ष्य
स्थानीयस्तरमा व्यावसायिक तालिम प्रदान गरी क्षमता अभिवृद्धि गराउने, विद्युत् पहुँच नपुगेका प्रभावित स्थानमा विद्युतीकरण गर्ने, वन संरक्षणको क्षमता अभिवृद्धि गराउने र वृक्षरोपणलाई बढावा दिई वनजंगल हराभरा बनाउँदै लगिने आयोजनाले लक्ष्य राखेको छ ।
स्थानीय बासिन्दाका लागि रू. ११ करोड बराबरको आदिवासी जनजाति उत्थान विकास विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । जनजातिको उत्थानका लागि गरिने विशेष कार्यक्रम आदिवासी जनजाति सल्लाहकार परिषद्मार्फत सञ्चालन गरिने आयोजनाले जानकारी दिएको छ ।
जिल्लामा अपार रूपले बगेर खेर गइरहेको जलस्रोत सदुपयोग गर्दै नदी तथा खोला किनारमा दर्जनौँ जलविद्युत् आयोजना निर्माणाधीन छन् भने केही प्रस्ताव गरिएको छ ।
जिल्लामा सबैभन्दा पहिले निर्माण भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाले विसं २०६० भदौ ८ गतेदेखि उत्पादन दिन थालेको हो । शुरूमा २० मेगावाट क्षमता रहे पनि केही वर्षपछि उपकरणमा सुधार गरी दुई मेगावाट वृद्धि गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।
‘नेपालीको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ नेपाली प्राविधिकको डिजाइन तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण सहयोगअन्तर्गत ब्याजसमेत रू. दुई अर्ब ६४ करोडको लागतमा निर्माण सम्पन्न गरेको जानकारी दिइएको छ ।
चिलिमे जलविद्युत् केन्द्रले उत्पादन दिन थालेपछि आठवर्षे ऋण चार वर्षमै चुक्ता गर्न सफल भएको बताइन्छ । भूमिगत संरचनाबाट पहिलो पटक डिजाइन तथा निर्माण गर्न सफल भएसँंगै चिलिमे जलविद्युत् आयोजनामा कार्यरत प्राविधिकले रसुवागढी र स्याङ्जेन क्षेत्रमा समेत विद्युत् आयोजनाको निर्माण अगाडि बढाएका थिए ।
हाल रसुवागढी जलविद्युत् कम्पनीमार्फत रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) तथा साञ्जेन जलविद्युत् कम्पनीमार्फत माथिल्लो साञ्जेन जलविद्युत् आयोजना (१४ दशमलव ८) र तल्लो साञ्जेन जलविद्युत् आयोजना (४२ दशमलव ५ मेगावाट क्षमता) को निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवागढी जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना भूमिगत तथा साञ्जेन आयोजना अर्धभूमिगत छन् । पछिल्लो समय धमाधम उपकरण जडान गर्ने काम अगाडि बढिरहेको रसुवागढी जलविद्युत् कम्पनीले जानकारी दिएको छ । यसैगरी साञ्जेन जलविद्युत् आयोजनाको पनि उपकरण जडान प्रक्रिया अगाडि बढेको छ ।
भोटेकोसीको पानीबाट रसुवागढीको अलावा गत वर्षदेखि रोङ्गा नजिक १२० मेगावाट भोटेकोसी विद्युत् आयोजनाको निर्माण अगाडि बढिरहेको छ । यस्तै लाङ्टाङ खोला २०, सुपर साङ्जेन ७३, माथिल्लो मैलुङ १४, सुपर मैलुङ ६, फलाखु खोला १४ निर्माणाधीन छन् । धुञ्चेको ६ मेगावाट क्षमताको जलविद्युत् भने प्रक्रियामा नै रहेको बताइएको छ ।
यसरी नै त्रिशूलीको पानीबाट डाँडागाउँ इलाकामा प्राधिकरणले निर्माण गराएको माथिल्लो त्रिशूली थ्र्रीए नामक जलविद्युत् केन्द्रमार्फत विगत वर्षदेखि ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । मैलुङ खोलाको दोभानमा भने विसं २०७१ सालमै मैलुङ जलविद्युत् केन्द्रले ५ मेगावाट विद्युत् उत्पादन गराइसकेको छ । रासस