असार २९, काठमाडौं । राधी विद्युत् कम्पनीले मंगलवार वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पारित गरेको छ । कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट कर वाहेक बोसन शेयर वितरण गर्न लागेको हो ।
कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्दै बोनस पछि कायम चुक्तापूँजीको आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।
सोही पूँजीको आधारा कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने तयारी गरेको हो । यस वर्ष कम्पनीले हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको हो ।
बोसन शेयर मात्र वितरण गर्न लागेकाले कर वापतको रकम भने शेयरधनीहरु आफैले बुझाउनुपर्नेछ । हकप्रद पश्चात हाल १०० कित्ता शेयर हुने लगानीकर्ताको हातमा ३३८ कित्ता शेयर हुनेछ । कम्पनीले बोनस र हकप्रद गरी १८४ दशमलव शून्य २ प्रतिशत शेयर वितरण गर्न लागेको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।