एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश र  हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रवार होटल क्लासिक सिमरा बारामा सम्पन्न भएको हो ।  साधारण सभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि आवश्यक शून्य दशमलव ४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ । यस्तै, ७ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै सभाले बोनस शेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको अजेण्डा बैठकले पारित गरेको हो ।  त्यस्तै सभाले शेयर संरचना परिवर्तन पछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।   

सम्बन्धित सामग्री

शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने दोर्दी खोला जलविद्युतको निर्णय

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । त्यसपछि मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निष्कासनका लागि आवेदन पेस गर्नेछ ।

अपि पावरले हकप्रद शेयर निष्कासन गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृती पायो

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीलाई बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो ।  अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ ।  यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

पुस ८, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।   कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा आरबिबि मर्चेण्टलाई नियुक्त गरिसकेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएर आवश्यक प्रक्रिया पूरा गरेर विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछ ।