नेपाल लाईफको १२६.३१% सम्म लाभांश वितरणको इतिहास : यस वर्ष हालसम्मकै कम

माघ २५, काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको छ । लाभांश वितरणको इतिहासमा १२६ दशमलव ३१ प्रतिशतसम्म वितरण गरेको कम्पनीले यस वर्ष कुल १४ दशमलव ७४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  गत वर्ष कम्पनीले ३१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष बीमा समितिले बीमा कम्पनीहरुलाई कर बाहेकको नगद लाभांश वितरणमा भने रोक लगाएको छ ।  जीवन बीमा कम्पनीहरुमध्यकै आकर्षक लाभांश वितरण गर्दै आएको नेपाल लाईफले यस वर्ष भने शेयरधनीहरुलाई निरास बनाएको छ । शेयरधनी डम्बरु बल्लब घिमिरेले यस वर्ष नेपाल लाईफको लाभांशबाट आफूहरु सन्तुष्ट नभएको बताए ।  सधै पेट भरि खाना खाने बानी परेको मान्छेहरुलाई आधा पेट मात्र खान दिदाँ कस्तो हुन्छ ? यो वर्ष नेपाल लाईफले पनि शेयरधनीहरुलाई त्यस्तै अवस्थामा पारेको भनाइ घिमिरेको छ । कम्पनीलाई सबल र सक्षम बनाई लगानीको उचित प्रतिफलका वितरण गनुपर्ने जिम्मेवारीबाट यो वर्ष भने नेपाल लाईफ चुकेको शेयरधनी घिमिरे बताउँछन् ।  पुरानो र विश्वासिलो कम्पनीको छबि जोगाउनका निम्ति पनि कम्पनीले विगतको लाभांश इतिहासलाई निरन्तरता दिनुपर्ने सुझाव उनको छ ।  कम्पनीले वितरण गरेको लाभांश इतिहासलाई फर्केर हेर्दा आर्थिक वर्ष ०६८/६९ को मुनाफबाट हालसम्मकै सर्वाधिक १२६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गरेको तथ्यांक छ । उक्त वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर र कर समेत ५६ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस पछिको आर्थिक वर्ष ०६९/७० मा पनि कम्पनीले ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २८ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ९८ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । पछिल्ला पाँच वर्षको लाभांश इतिहासमा पनि कम्पनीले ७० दशमलव ५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७३/७४ मा ४२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २८ दशमलव ५ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो ।  आर्थिक वर्ष ०७४/७५ मा भने कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २३ दशमलव ५ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार छ ।  दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हालसम्म सार्वजनिक नगरेको कम्पनीको पहिलो त्रैमाससम्म जगेडा कोष रकम रू. ८६ करोड ९६ लाख ४८ हजार छ । पहिलो त्रैमाससम्म कम्पनीले रू. ७० लाख ३३ हजार खुद नाफा गरेको थियो । उक्त अवधिसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन रकम रू. ९ अर्ब ९० करोडभन्दा बढी थियो ।

सम्बन्धित सामग्री

सामाजिक आक्रोशको लाभांश घण्टीलाई

आठ दशक लामो इतिहास र राजनीतिक वैधता भएका पुराना दलहरूका अगाडि पुगनपुग एक वर्ष मात्रै इतिहास भएको राष्ट्रिय स्वतन्त्र पार्टीको यो चमत्कार उल्लेखनीय छ । तर, राजनीतिमा वर्चस्व सधैं दिगो हुँदैन भन्ने उदाहरण त राजा ज्ञानेन्द्र र माओवादी नै पर्याप्त छन् । आफ्ना अगाडिका यी निकट विगतबाट सिक्ने कि नसिक्ने इच्छा रविको ।

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण साउन ३१ गते बुक क्लोज गरिँदैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् । एनएमबि क्याटिलद्वारा प्रबर्द्धित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको  छ । साथै एनएमबि क्यापिटलको पाँचौं म्युच

भ्यालु इन्भेस्टमेन्टको उदाहरण

यदि धैर्य छ भने शेयरबजारबाट लखपति मात्र होइन करोडपति बन्न सकिन्छ । ‘खरीद गर, होल्ड गर र बिर्स’ शेयरबजारमा लगानीकर्ताका लागि यो एउटा अचुक मन्त्र हो । विगतदेखि नै हेर्दा यो रणनीतिको पालना गर्नुको अतिरिक्त शेयरबजारबाट पैसा कमाउने अरू छोटो विधि कमै छ । यसका लागि अल्पकालीन होइन, दीर्घकालीन समयसम्म कुनै कम्पनीको शेयर राख्न सक्नुपर्छ । तर, कम्पनी छान्न पनि जान्नुपर्छ । नराम्रो व्यापार भएका कम्पनीहरू, गलत नियत भएका व्यवस्थापक र सञ्चालक भएका सस्थामा कम्पनी नै बन्द भएर लगानीकर्ताको सम्पत्ति नै शून्य हुने अवस्था पनि देख्न सकिन्छ । राम्रो वित्तीय अवस्था भएका, व्यापार फैलिएका, लगानीकर्ता र कुशल व्यवस्थापन भएका शेयर दीर्घकालीन रूपमा राख्दा निकै गुणा लाभ लिन सकिन्छ । राम्रो वित्तीय अवस्था भएका, व्यापार फैलिएका, लगानीकर्ता र कुशल व्यवस्थापन भएका शेयर दीर्घकालीन रूपमा राख्दा निकै गुणा लाभ लिन सकिने कुराको गतिलो उदाहरणको रूपमा भारतको टाटा ग्रूपको कम्पनी टाइटन लाई लिन सकिन्छ । सन् १९९४ मा टाइटन वाचका रूपमा स्थापना भएको कम्पनीले समयसँगै आफ्नो लगानीको क्षेत्रलाई विस्तार र विविधीकरण गर्दै आएको छ । घडी, गरगहनादेखि युवा वर्गलाई लक्षित कपडासम्म बनाउदै आएको छ । दोस्रो बजारको तथ्यांक हेर्दा २३ वर्षको अवधिमा उक्त कम्पनीको शेयरले लगभग ५७ हजार प्रतिशतभन्दा मूल्य बढेको छ । टाटा ग्रूपको लगानी भएको यो स्टक सन् १९९९ को जनवरी १ मा नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा ४ रुपैयाँ २७ पैसा भारतीय रुपयामा (भारू) कारोबार बन्द भएको थियो । त्यसको २३ वर्षपश्चात् अर्थात् अहिले आएर सन् २०२२ को फेब्रुअरी १३ मा एनएसईमै प्रतिकित्ता शेयरमूल्य २ हजार ४४२ दशमलव ५५ भारू पुगेको छ । यसको अर्थ हो, २३ वर्षको अवधिमा कम्पनीले शेयरमूल्य ५७ हजार प्रतिशत वृद्धि भएको छ । नेपालमा पनि राम्रा कम्पनीको शेयरलाई दीर्घकालीन रूपमा राख्दा आकर्षक मुनाफा आर्जेका थुप्रै उदाहरण छन् । अझ खास गरी ब्लूचिप कम्पनी भनेर चिनिएका युनिलिभर, बोटलर्स नेपाल, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नबिल बैंक आदिमा विगतको शेयर मूल्य र अहिलेको मूल्य दाँज्दा मूल्यमा आकर्षक वृद्धि देखिएको छ भने बोनस शेयरमार्फत कित्ता थप भएका थुप्रै उदाहरण छन् । विसं २०४६ सालको राजनीतिक परिवतर्नपछि नेपालमा वैदेशिक लगानीमा उद्योगहरू खुल्ने क्रम अघि बढ्यो । त्यही बेला बेलायतको बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालमा लगानी गर्न चासो देखायो । तर, योभन्दा अघि नै बेलायतको उक्त कम्पनी हिन्दुस्तान युनिलिभरले भारतीय बजारमा व्यापार गरिरहेको थियो । हिन्दुस्तान युनिलिभरले नेपाल साझेदारका रूपमा काठमाडौं इन्द्रचोकका इन्द्रभक्त श्रेष्ठलाई सहभागी गरायो । कम्पनीमा साझेदार रहेका उनको छोरा रविभक्त श्रेष्ठले युनिलिभिर नेपालबाट राम्रो प्रतिफल पाउँदै आएका छन् । नेपालमै १ सय रुपैयाँ अंकित मूल्य रहेको युनिलिभरको शेयर ३ मे २०१६ मा प्रतिकित्ता ३६,००० सम्म पुगेको थियो । त्यो समयमा उक्त कम्पनीको शेयर विक्री गर्दा १० कित्तामै ३ लाख ६० हजार दिन्थ्यो । यो कम्पनीको मूल्यसँगै लगानीकर्ताले कम्पनीमार्फत प्राप्त गर्ने लाभांश पनि आकर्षक छ । आर्थिक वर्ष ७३/७४ मा कम्पनीले १२७० प्रतिशतसम्म नगद लाभांश दिएको इतिहास छ । युनिलिभरको १० कित्तामात्र शेयरको नगद लाभांशले दशैंमा खसी किन्न पाइन्छ है भनेर ब्रोकर कार्यालयमा सुनिने केही चिया गफ थिए । शेयरबजारमा ब्लूचिप भनेर चिनिएको उक्त कम्पनीको शेयरमूल्य आइतवार कारोबार बन्द हुँदा १९ हजार रुपैयाँ रहेको छ भने सोही दिनको बजार पूँजीकरण १७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । दोस्रो बजारमा कुन कम्पनीको शेयर कतिमा खरीद गर्ने र विक्री गर्ने चातुर्य खेल पनि हो । यहाँ मूल्य निर्धारणको कुनै त्यस्तो निर्दिष्ट मापदण्ड हुँदैन । कुन कम्पनीको शेयर कहिले बढ्छ र कहिले घट्छ भन्ने उत्तर पाउने भए आज सवै लगानीकर्ताहरू अर्बपति मात्र होइन खर्बपति हुने थिए होलान् । शेयरबजार घटबढको स्पष्ट उत्तर नपाउँदा थोरैमात्र लगानीकर्ताहरू सफल हुने गर्छन् र भएका छन् । मूलतः दोस्रो बजारमा शेयरमूल्य उक्त कम्पनीको शेयरको माग र आपूर्तिले निर्धारण गर्ने मान्यता राखिन्छ, तर त्यो माग र आपूर्तिलाई कम्पनीको मुनाफा, बजार मूल्य, व्यावसायिक विस्तार, आर्थिक तथा सामाजिक वातावरणजस्ता धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । यसका साथै शेयर विक्री गर्नेहरूले गर्ने प्रत्यक्ष अप्रत्यक्ष प्रचारले समेत मूल्यमा प्रभाव पार्न नयाँ लगानीकर्तालाई दबाबमा पारिरहेका हुन्छन्, यसतर्फ पनि विचार गर्नुपर्छ । दीर्घकालीन लगानीकर्ताले लगानी गर्दा कम्पनीको इतिहास र वर्तमान व्यवस्थापन तथा सञ्चालकको अवस्था विशेष ध्यान दिनुपर्छ । नाम चलेको व्यापारिक समूहले लगानी र प्रवर्द्धन गरेका कम्पनीहरूमा लगानीकर्तालाई केही राम्रो हुने सम्भावना हुन्छ । माथि उदाहरणमा लेखिएका युनिलिभर नेपाल र भारतीय टाइटन सफल व्यापारिक समूहले लगानी गरेका कम्पनी हुन् । लगानी वा कारोबार, जोखिम वहन क्षमता, लगानी रणनीति, लगानीको स्रोत र अवधिजस्ता लगानीकर्ताको व्यक्तिगत पक्षहरूले पनि शेयर किनबेचमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तसर्थ, लगानीकर्ता आफैले आफ्ना लागि मापदण्ड तयार गरी निश्चित दायरामा रहेर संयमित तरीकाले लगानी वा कारोबार गर्न वाञ्छनीय हुन्छ । शेयरबजारबाट वास्तवमा सबैले कमाउन चाहन्छन् तर सक्दैनन् । कोहीले राम्रो मुनाफा कमाउँछन् कोही भने नराम्रोसँग फसेर बाहिर निस्कन्छन् । बजार त घटबढ भइरहन्छ नै । बजार बढ्दा मात्तिनु भएन घट्दा आत्तिनु पनि भएन । यसका लागि कम्पनीको वित्तीय विवरणदेखि सबै पक्षको अध्ययन तथा विश्लेषणमा ध्यान दिन आवश्यक छ । यसबाट के सिक्न सकिन्छ भने, शेयरबजारबाट कमाउन अझ धैर्यवान् हुनैपर्छ । अझ माथि भनिएझैं ‘खरीद गर, होल्ड गर र बिर्स’ यो मन्त्र लागू गर्ने हो भने पूँजीबजारबाट कमाउन नसकिने भने होइन ।

नबिल बैंकको ५ वर्षे लाभांश इतिहास : यस वर्ष ४ वर्षपछिकै उच्च

कात्तिक २०, काठमाडौं । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । वाणिज्य बैंकहरुमध्ये वित्तीय सूचकहरुमा समेत अब्बल मानिएको यस बैंकले गत वर्षपनि वाणिज्य बैंकहरुमध्ये सर्वाधिक ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपालको शेयर बजारमा कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको यस बैंकको यो वर्षको लाभांश विगत चार आर्थिक वर्षपछिकै उच्च हो । आर्थिक वर्ष ०७३/७४ मा ३० प्रतिशत बोनस शेयर र कर समेत १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले त्यस पछिका दुई आर्थिक वर्ष एउटै अनुपातमा अर्थात् १२ प्रतिशत बोनस शेयर र कर समेत २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । दोस्रो बजारमा बैंकको शेयरमूल्य रू. १ हजार ६५३ रहेको छ । लाभांश सार्वजनिक भएको दिन कात्तिक १७ गते बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो भने शेयरमूल्य पनि प्रतिकित्ता रू. ४५ ले बढेको हो । बैंकको ५ वर्षको लाभांश अवस्था :                                                                      स्रोतः बैंकद्वारा जारी सूचनामा आधारित

हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च

असोज २७, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ ओटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकले हालसम्म लाभांश सार्वजनिक गरेका हुन् ।  हालसम्म सार्वजनिक ९ ओटा वाणिज्य बैंकहरुको प्रस्तावित लाभांशलाई हेर्दा हिमालयन बैंकले सर्वाधिक २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।  गत वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो । विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्दा बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सबैभन्दा कम कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  उक्त वर्षको मुनाफाबाट बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट भने बैंकले यस वर्षको भन्दा पनि बढी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।  त्यस वर्षको मुनाफाबाट बैंकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको छ । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रहेको छ ।                                                                  स्रोतः बैंकद्वारा जारी सूचना