किसानले उत्पादन गरेको तरकारी तथा बिउ लामो समयसम्म भण्डारण सुविधाको लागि बागमती प्रदेश सरकारले प्रदेशको १० जिल्लाका १२ स्थानमा शीतभण्डार निर्माण गरिरहेको छ । वहुवर्षीय कार्यक्रमअन्तर्गत गत वर्षदेखि सुरु भएको शीत भण्डार निर्माणको काम आगामी वर्षभित्र सम्पन्न गर्ने प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले स्थानीय सरकार तथा निजी क्षेत्रसँगको सहलगानीमा शीत भण्डार निर्माण गरिरहेको हो । १२ वटा शीत भण्डार निर्माण गर्न ७८ करोड रुपैयाँ लगानी निर्धारण गरिएको छ । जसमध्ये ५८ करोड रुपैयाँ मन्त्रालयले र २० करोड रुपैयाँ स्थानीय सरकार तथा निजी क्षेत्रले बेहोर्ने गरी सम्झौता भएको छ ।