सामूहिक चिह्न वास्तवमा हाम्रो जस्तो कम विकसित मुलुकमा ठूला लगानीका भन्दा साना लगानीका उद्योगधन्दामा बढी उपयुक्त हुने देखिन्छ । मुलुकमा ससाना व्यवसायीहरूले आफैले छुट्टै ट्रेडमार्क दर्ता तथा संरक्षण गरी प्रयोगमा ल्याउन खर्चिलो र झन्झटिया हुन्छ । अत: सामूहिक चिह्नलाई यस्ता उद्योग व्यवसायले उत्पादन गरेको वस्तुको बजार संरक्षण र प्रवर्द्धन गर्न अति मितव्ययी र प्रभावकारी उपायका रूपमा लिइन्छ । यसका बहुआयामिक उपादेयता छन् । तिनलाई निम्नानुसार चर्चा गर्न सकिन्छ ।
साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगका लागि लागत साझेदारीको अवधारणाअनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ ।
भौगोलिक संकेतको संरक्षण गर्ने वैकल्पिक उपायका लागि सामूहिक चिह्न
नेपाल गाउँ नै गाउँले भरिएको तथा भौगोलिक एवं जैविक विविधता प्रचुर मात्रामा भएको मुलुक भएकाले भौगोलिक संकेतका रूपमा उपयोग गरी उत्पादन गर्न सकिने वस्तु धेरै छन् । हिमालयन पिउने पानी, विभिन्न जडीबुटी, केही निश्चित कृषिपैदावर, केही हस्तकला सामान आदि यसका उदाहरण हुन् । यस्ता भौगोलिक संकेतलाई सामूहिक चिह्नका रूपमा संरक्षण गर्न सकिने वैकल्पिक सम्भावना रहेको छ । तिनलाई सामूहिक चिह्नको उपयोगबाट कुनै गाउँ वा इलाका वा जिल्ला वा समग्र मुलुककै उत्पादनलाई राष्ट्रिय वा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न ठूलो अवसर मिल्छ ।
केही वस्तु औंल्याएर नै भन्नु पर्दा ठाउँको नामबाट फर्पिङ नास्पाती, मार्फा ब्रान्डी, भक्तपुरे दही, इलामे चिया, प्यूठानी मूला, दंगाली तोरी तथा मुलुकको नामबाट नेपाल चिया, नेपाल कार्पेट, पर्वतीय क्षेत्रको नामबाट हिमाली कञ्चन पानी, एभरेष्ट मूलको पानी आदिलाई लिन सकिन्छ । यस्ता भौगोलिक नामहरू आफैमा सामूहिक चिह्न पनि हुन् र तिनको व्यवस्थापन सामूहिक रूपले नै गरिन्छ । यसबाट आन्तरिक तथा बाह्य बजारमा यी वस्तुको पहिचान सुरक्षित राख्न मद्दत पुग्ने देखिन्छ । मुलुकमा यस्ता उत्पादनलाई संरक्षण गर्ने वैकल्पिक कानून नभएको अवस्थामा तत्काललाई सामूहिक चिह्नका रूपमा ती वस्तुको संरक्षण गर्न सकिन्छ । भारतमा भौगोलिक संकेतसम्बन्धी कानून नआउँदासम्म दार्जिलिङ चियालाई कहिले ट्रेडमार्क कानूनअन्तर्गत त कहिले सामूहिक चिह्नकै रूपमा संरक्षण प्रदान गरिएको थियो ।
‘एक गाउँ एक वस्तु’को प्रवर्द्धन र सामूहिक चिह्न
कृषि उत्पादनको यो प्रणाली दक्षिणपूर्वी एशियाली मुलुकमा निकै लोकप्रिय र सफल पनि छ । हाम्रो मुलुकमा पनि एक गाउँ एक वस्तुको नारालाई उत्पादनमा रूपान्तरण गर्ने प्रयोजनका लागि सामूहिक चिह्न एक सशक्त उपकरण हुन सक्छ । उस्तै पेशा व्यवसायमा लागेका उस्तै वस्तु उत्पादन गर्ने एउटा गाउँका असंख्य व्यवसायीहरूलाई एउटा सामूहिक चिह्नभित्र आबद्ध गरेर एउटै ब्रान्डको वस्तु उत्पादन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । विगतमा नेपालमा लघु उद्यम कार्यक्रमले सिन्धुली र रामेछापमा जुनारको प्रवर्द्धन, प्युठान र पर्वत जिलालमा अदुवामा आधारित वस्तुको प्रवर्द्धन, तेह्रथुम र डँडेलधुरा जिल्लामा लालीगुराँस र काफलको जुसको प्रवर्द्धन, दाङको हापुरेमा महको तथा देउखुरी गडवामा सेरामिक्सको सफलतापूर्वक प्रवर्द्धन गरिरहेका उदाहरण पनि छन् । यी उत्पादनलाई सामूहिक चिह्नको प्रयोगमार्फत राष्ट्रिय, अन्तरराष्ट्रिय बजारको सुनिश्चितता दिलाउन सकिन्छ ।
परम्परागत हस्तकला प्रवर्द्धनका लागि सामूहिक चिह्न
सामूहिक चिह्नको प्रयोगबाट परम्परागत हस्तकलाका सामानहरू पनि प्रवर्द्धन गर्न सकिन्छ । नेपाल हस्तकलाका सामानहरूको प्राचीन थलो हो । यस्ता सामग्रीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा ठूलो ख्याति कमाएका छन् । यस्ता हस्तकलाका सामानहरूमा ठाउँ अनुसारका समूह चिह्न प्रयोग गरेर अझै धेरै मात्रामा त्यहाँका व्यवसायीहरूको आर्थिक उन्नतिमा योगदान पुर्याउन सकिन्छ । जस्तै पाल्पा र तेह्रथुमको ढाका, सल्यान र भोजपुरको खुकुरी, त्यस्तै गोरखा भादगाउँ, कान्तिपुर, पाटनजस्ता विभिन्न हस्तकलाका सामानको लागि ऐतिहासिक ख्याति कमाएका ठाउँका व्यवसायीलाई निश्चित समूहमा आबद्ध गरेर सामूहिक चिह्नको मद्दतले अझै बढी बजार प्रवर्द्धन गर्न सकिने सम्भावना छ ।
सामूहिक चिह्न र अन्तरराष्ट्रिय बजारमा स्वदेशी वस्तुको पहुँच
सामूहिक चिह्नको महत्त्व आफ्नै बजारका लागि पनि उत्तिकै हुन्छ । त्यसमाथि पनि लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । सामूहिक चिह्नको प्रयोग र संरक्षण कम खर्चिलो र सरल उपाय बन्न सक्छ । तर, आफ्नै मुलुकभित्रको बजारमा आफ्नो वस्तु प्रवर्द्धन गर्दा पनि अधिकांश उद्यमीले अझै पनि चिह्नको प्रयोगबारे थाहा नपाएको अथवा थाहा पाएर पनि संरक्षणका लागि लाग्ने सामान्य खर्च पनि जुटाउन नसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न विदेशी मुलुकमा वस्तु निर्यात गर्नका लागि चिह्न दर्ता गराउनु भनेको कोराकल्पनाको विषय मात्र हुन सक्छ । तसर्थ, यस्तो परिस्थितिमा साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगको लागि लागत साझेदारीको अवधारणा अनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ । यसो गर्दा चिह्नको दर्ताका लागि लाग्ने सबै आर्थिक भार एउटै व्यवसायीको थाप्लोमा मात्र नपरी सबैमा बाँडिन्छ, जुन वहन गर्न ससाना व्यवसायी पनि समर्थ हुन्छन् । यस अतिरिक्त, जोखिममा रहेका र न्यून आय भएका किसान र उद्यमीहरूको सामूहिक हितका लागि सामूहिक चिह्नको दर्ता गर्न लाग्ने खर्चमा सरकारले पनि केही अनुदान उपलब्ध गराउन सकेमा यसबाट गाउँस्तरका सानासाना किसान र व्यवसायीको उत्पादनले पनि बजारमा छुट्टै पहिचान बनाउन सक्छ र बजारीकरणमा ठूलो फाइदा पुग्ने देखिन्छ ।
साना व्यवसाय प्रवर्द्धन गर्ने उपायको रूपमा सामूहिक चिह्न
सामूहिक चिह्नको प्रयोगका सन्दर्भमा सबैभन्दा चासोका साथ हेरिने विषय भनेको उत्पादित वस्तुको एकरूपता र स्तरीयता निर्वाह गर्न यसले कसरी मद्दत गर्छ भन्ने नै हो । यस सन्दर्भमा बुझ्नुपर्ने कुरा के छ भने साना व्यवसायले भोग्नु परेको मुख्य समस्या भनेको बजार हो । त्यस्तो समस्या खासगरी वस्तुको प्रतिस्पर्धी क्षमता न्यून हुनाले तथा वस्तुको एकरूपता र स्तरीयता सुनिश्चित नहुनाले सृजना भएको हो । यस्तोमा कृषि, वन र हस्तकलामा आधारित श्रममूलक व्यवसायको समुचित छनोट गर्न सकेमा साना व्यवसायीहरू प्रतिस्पर्धाको मारबाट बच्न सक्छन् । उत्पादित वस्तुको स्तरीयता र बजारको पहुँचमा भने अझै पनि ठूलो समस्या र जटिलता रहेको छ भने यस समस्याबाट मुक्ति दिने एउटा उपयुक्त विकल्प सामूहिक चिह्नको प्रयोग हुन सक्छ । खास किसिमका उत्पादनसँग सम्बद्ध कुनै वस्तुगत संघ वा ट्रस्टले सम्बन्धित व्यवसायीका लागि निश्चित आचारसंहिताको पालना गराएर उस्तै वस्तु उत्पादन गर्ने हजारौं साना व्यवसायीलाई एउटै सामूहिक चिह्नमा आबद्ध गराएर तथा उक्त चिह्नको संरक्षण गरेर वस्तु बजारमा पठाउने परिपाटी गर्ने हो भने यो समस्या सजिलैसँग समाधान हुन सक्छ । यस क्रममा सरकारले कम हस्तक्षेपकारी भूमिका निर्वाह गरी खासगरी चिह्न संरक्षणका लागि जिम्मेवारी वहन गर्ने निकायलाई आवश्यक ऐन, नियम जारी गरेर तथा साधनस्रोत उपलब्ध गराएर साना व्यवसायीलाई सुसंगठित तुल्याउनुपर्ने हुन्छ । साथै, वस्तुगत संघलाई सामूहिक चिह्नको उपयोगतर्फ उत्प्रेरित गर्न सरकारले आर्थिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउनुपर्ने हुन्छ ।
यीबाहेक साना व्यवसायीका लागि सामूहिक चिह्नका अन्य बहुआयामिक लाभहरू पनि रहेका छन् । नेपाल सरकारले यसको प्रवर्द्धनतर्फ विशेष ध्यान पुर्याउन आवश्यक छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।