कालीगण्डकी कोरिडोरको ट्र्याक खोल्नै सकस

पर्वत । दुई वर्षभित्र कालोपत्र गरिसक्ने लक्ष्यसहित शुरू गरिएको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको काममा ढिलाइ भएको छ । जिल्लाको फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको खण्डमा अझै ट्र्याक खोल्न सकिएको छैन । कडा चट्टान भएकाले उक्त खण्डमा ट्र्याक खोल्न कठिन भएको हो । २०७७ फागुन १६ मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको सडक कालोपत्र गर्ने कामको शिलान्यास गरेका थिए । तर मुडिकुवादेखि अर्मादीसम्मको खण्ड विस्तार हुन सकेको छैन । करीब १५ किलोमिटर खण्डको ट्र्याक खोल्नै समस्या भइरहेको भए पनि समग्रमा हालसम्मको भौतिक प्रगति ९० प्रतिशत पुगेको कालीगण्डकी कोरिडोरअन्तर्गत गैंडाकोट–रामदी–मालढुंगा खण्डको पाल्पास्थित कार्यालयका प्रमुख शंकर पौडेलले बताए । ठेकेदारले ट्र्याक खोल्ने काम अन्तिम पुर्‍याएको उनको भनाइ छ । ‘अर्मादी मुडिकुवाको ट्र्याक खोल्ने काम अन्तिम चरणमा छ । यो ठेक्का साधारण ट्र्याक बनाउन मात्र हो । यो काम सकिएपछि कालोपत्रसम्मको कामका लागि अर्को टेन्डर आह्वान गर्नुपर्छ । यो भागमा काम गर्न एकदम चुनौतीपूर्ण छ,’ पौडेलले भने, ‘मोदीवेणी धाममा रहेको नृसिंहधाम मन्दिरदेखि अर्मादीतर्फ जानेतर्फको काम गर्न सकस भयो ।’ सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्र्याक केही महीनायता खुलाउने काम भइरहेको छ । ट्र्याक खोल्ने जिम्मा लिएका व्यवसायी दीपक रैसवालले लगातार काम भइरहेको दाबी गरे । भीरको चट्टान काट्ने क्रममा माथिबाट झर्ने ठूला ढुंगाले अप्ठ्यारो पारिरहेको उनले बताए । मोदीवेणी धामदेखि अर्मादीतर्फको भागमा रहेका कठिन स्थानमा ट्र्याक खुलाउने काम लगभग सकिन लागेकाले आफ्नो जिम्माको काम पूरा गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । आयोजना कार्यालयले भने चालू वर्षमा ढिक–अर्मादीको १४ किलोमिटरबाहेक पर्वत खण्डमा पर्ने २८ किलोमिटर सडक कालोपत्र सकिने दाबी गरेको छ । ढिक–अर्मादी खण्ड मापदण्डअनुसार पूरा भएपछि मात्र विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन लगायत काम सकेर बजेट माग गरिने आयोजना कार्यालयले बताएको छ । उक्त काम आगामी वर्ष मात्र शुरू हुनेछ । फलेवास खण्डमा रोकिएको काम अघि बढाउन आयोजना प्रमुख र व्यवसायीलाई पटक पटक आग्रह गरेको फलेवासका नगरप्रमुख गंगाधर तिवारीले बताए । पर्वतका मुख्य बस्ती समेट्ने यो सडकले दक्षिणका एक नगरपालिका र तीन गाउँपालिकाको बस्ती जोड्छ ।

सम्बन्धित सामग्री

मालढुङ्गा–बेनी सडक योजना अलपत्र पर्दा धुलोले सकस

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना तीन वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।

कालीगण्डकी करिडोर : पर्वत खण्डमा ट्य्राक खोल्नै सकस

दुई वर्षअघि २०७७ फागुन १६ मा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुमधामका साथ फलेवास–६ देवीस्थानस्थित ढिकमा आयोजित कार्यक्रममा कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको सडक कालोपत्रको सुरुवात गरे ।

सर्वोच्चको आदेशविपरीत निरन्तर दोहन

सिन्धुलीका तिलकबहादुर लुङ्गेली बागलुङ आएर बस्न थालेको २० वर्ष भयो । कालीगण्डकी नदी किनारमा बालुवा चालेरै उनले यतिका समयसम्म परिवारको जीविका धान्दै आएका थिए । तर, डेढ वर्षअघि सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, ढुंगा, गिट्टीलगायत नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपछि उनलाई अहिले दैनिकी धान्नै सकस छ ।

गाउँपालिका जान दुई जिल्ला पार गरेर जानुपर्ने सकस

जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र जान दुई जिल्ला पार गरेर जानुपर्ने बाध्यता भोग्न यहाँका नागरिकहरु अहिलेसम्म बाध्य छन् ।

उम्मेदवार छान्न दललाई सकस, नेताहरु दौडधूपमा

स्याङ्जा ।  २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका ११ पालिकामध्ये एमालेले ७ र कांग्रेसले ४ पालिकामा प्रमुख जितेका थिए । एमालेले फेदीखोला, आँधिखोला, बिरुवा, हरिनाश, पुतलीबजार, गल्याङ र कालीगण्डकी तथा कांग्रेसले अर्जुनचौपारी, भीरकोट, वालिङ र चापाकोटमा प्रमुख जितेको थियो । त्यति बेलाको परिस्थितिमा केही फेरबदल आएको छ । जस्तो कि, नेकपा एमाले नै विभाजित […]

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र शुरू

बागलुङ । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र शुरू भएको छ । २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काममा दुईपटक म्याद थपिसकिएको छ । लामो समयको कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रको काम शुक्रवारदेखि शुरू भएको छ । २०७७ फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो । विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए । कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्रको कामले तीव्रता पाएको उनले बताए । ‘मौसममा सुधार भएसँगै काम शुरू भएको छ, अहिले बिटामिन छर्ने काम भइरहेको छ, तत्कालै प्लान्टबाट कालोपत्रको कच्चा पदार्थ ल्याइन्छ’, उनले भने, ‘आगामी फागुनभित्रै विमानस्थलको कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरण गरिनेछ, कोरोना र वर्षाका कारण कालोपत्रमा ढिलाइ भएको हो, अब गर्मीसमेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा छौं ।’ धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेलसमेत सम्पन्न भइसकेको थियो । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेकोमा अहिले काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए । उनका अनुसार ठेकदार कम्पनीले कालोपत्रका लागि सबै तयारी पूरा गरेर अहिले धावनमार्गको धुलो उडाउने, बिटुमिन छर्ने काम गरिरहेको छ । घाम नलागेकाले कालोपत्रमा समस्या भएको थियो, अहिले मौसममा सुधार भएकाले प्राविधिक हिसाबले काम गर्न सहज भएको उनको भनाइ छ । विमानस्थल कालोपत्रको ठेक्काको म्याद चैत मसान्तसम्म मात्रै रहेको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलको जम्मा १५ प्रतिशत मात्र काम बाँकी छ । कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ । २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महीना उडानसमेत भरेका थिए । तर आवश्यक पूर्वाधार अभावले अहिले विमानस्थल बन्द छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ । कालीगण्डकी कोरिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट  १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रु अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस