असोज १२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ ।
आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवम् छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।
यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने बताइएको छ ।
यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।
बैंकको हाल सातै प्रदेश, ७७ ओटा जिल्लामा २४८ ओटा शाखा कार्यालय, २१६ ओटा एटिएम र ९८ ओटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।