काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत गत असोज ७ गतेयता जारी भएको बीमालेखमा मात्र ८० प्रतिशत अनुदान पाइने भएको छ । चालू आवको प्रतिस्थापन बजेटले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो, त्यो व्यवस्था असोज ७ गतेदेखि लागू हुने भएको हो ।
अर्थ मन्त्रालयले गत हप्ता बीमा समितिलाई पत्र पठाउँदै असोज ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको छ । त्यसपछि समितिले पनि हालै एक परिपत्र जारी गर्दै निर्जीवन बीमा कम्पनीहरूलाई सोहीअनुसार नै कृषि तथा पशुपन्छी बीमा सञ्चालन गर्न निर्देशन दिएको छ । साउन १ गतेदेखि असोज ६ गतेसम्मको बीमालेलखमा ५० प्रतिशत अनुदान दिइने बताइएको छ ।
गत आवसम्म सरकारले यस्तो बीमामा ७५ प्रतिशतसम्म अनुदान दिने गरेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चालू आवको बजेटमा त्यस्तो अनुदान घटाएर ५० प्रतिशतमा कायम गरिएको थियो । राजनीतिक घटनाक्रमसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले प्रतिस्थापन बजेट ल्याउँदै उक्त अनुदान बढाएर ८० प्रतिशत पुर्याएको हो, जुन असोज ७ गतेयताको पोलिसीमा मात्र लागू हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्रतिस्थापन बजेट प्रमाणीकरण भएको मितिदेखि नै उक्त व्यवस्था लागू भएको उनको भनाइ छ ।
‘गत असोज ७ गतेयता जारी भएका र अब जारी हुने कृषि तथा पशुपन्छीको बीमाशुल्कमा ८० प्रतिशत नै अनुदान दिइने छ । त्यसभन्दा पहिलेको पोलिसीमा भने अघिल्लो सरकारले ल्याएको बजेटअनुसार ५० प्रतिशत नै अनुदान दिइनेछ ।’ यो व्यवस्था लागू भएसँगै कृषि तथा पशुपन्छीमा बीमा कृषकको आकर्षण थप बढ्ने उनको भनाइ छ ।
नेपालमा २०७० देखि कृषि तथा पशुपन्छी बीमा सञ्चालनमा छन् । यसमा शुरुआती समयदेखि नै सरकारले अनुदान दिँदै आएको छ । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीले नै यस्तो बीमाको सुविधा दिँदै आएका छन् । साथै, समितिले पनि यस्तो बीमा गर्न सबै निर्जीवन बीमा कम्पनीलाई जिल्ला नै तोकिदिएको छ । तोकिएको जिल्लामा सम्बन्धित बीमा कम्पनीले अनिवार्य रूपमा यस्तो बीमा सञ्चालन गर्नुपर्ने हुन्छ ।