कृषि तथा पशुपन्छी बीमा अनुदान : आउँदो वर्ष पनि न्यून बजेट

काठमाडौं । कृषिक्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउने सरकारले आउँदो आर्थिक वर्ष (आव) २०८०/८१ का लागि पनि कृषि तथा पशुपन्छी बीमा अनुदानका लागि आवश्यकभन्दा थोरै रकम विनियोजन गरेको छ ।  यसले एकातिर सरकारले घोषणा गरेको २ लाख किसानलाई कृषि तथा पशुपन्छी बीमाको दायरामा समेट्न र अर्कोतर्फ केही वर्षदेखि बीमा कम्पनीहरूले पाउन नसकेको रकम भुक्तानीमा समस्या पर्ने देखिएको छ । जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आव २०८०/८१ को बजेटमा २ लाख किसानलाई कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा समेट्न बीमा प्रिमियमका लागि ९५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।  चालू आवका लागि यस्तो बीमाका लागि सरकारले ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । बीमा कम्पनीहरूले चालू आवको वैशाखसम्म देशभरि १ लाख ४३ हजार ८ सय ११ बीमालेख जारी गरेका छन् । यसका लागि सरकारले १ अर्ब ४८ करोड २६ लाख ४५ हजार ९ सय ६५ रुपैयाँ अनुदान दिनुपर्ने नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।   कृषि तथा पशुपन्छी बीमाका लागि २ वर्षदेखि सरकारले प्रिमियमको ८० र सम्बद्ध किसानले २० प्रतिशत रकम बेहोर्ने व्यवस्था गरिएको छ । केही वर्षयता आवश्यकताभन्दा थोरै रकम विनियोजन गर्ने क्रम जारी रहँदा बीमा कम्पनीहरूले सरकारबाट वैशाखसम्म २ अर्ब ९४ करोड रुपैयाँ लिन बाँकी छ ।  बीमा भइसकेको रकमको भुक्तानी हुन नसकेपछि बीमा कम्पनीहरूले जेठ ७ गतेदेखि कृषि तथा पशुपन्छी बीमा स्थगन गरेका छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षत्रीले सरकारले सहमतिअनुसारको रकम भुक्तानी नगरेसम्म कृषि तथा पशुपन्छी बीमा कार्यक्रम शुरू गर्न नसकिने बताए । बीमा कम्पनीहरूले बीमालेख जारी स्थगन गरेपछि सरकारी अधिकारीहरूले ८–१० दिनमा अनुदानको रकम भुक्तानी गर्ने बताएका थिए ।  कृषि र पशु सेवा विभागले यसअघि बीमा गरिएका कैयौं बीमालेखमा प्रिमियम बढाएको पाइएको दाबी गर्दै भुक्तानीमा प्रश्न उठाएका छन् । बीमालेख जारी गर्न प्रमाणित गर्ने प्राविधिक भने कृषिकै कर्मचारी हुन् । बीमा कम्पनीहरू कृषिले तोकेका प्राविधिकले प्रमाणित गरेपछि मात्र बीमालेख जारी गर्ने गरेको बताउँछन् । १० वर्षअघि शुरू गरिएको कृषि तथा पशुपन्छी बीमामा केही वर्षयता आकर्षण बढ्दै जाँदा किसानको सहभागिता र प्रिमियम अनुदानको रकम पनि बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सरकारले अनुदानको रकम आव सकिएपछि मात्र उपलब्ध गराउने भए पनि बीमा कम्पनीहरूले भने बीमालेख जारी गर्ने बेला नै दायित्व वहन गर्छन् । तोकिएको अवधिमा बीमित कृषिबाली तथा पशुपन्छीमा समस्या आए किसानको दाबी पर्छ ।  बीमा प्राधिकरणका उपनिर्देशक पुनम ज्ञवालीले आउँदो आवका लागि छुट्ट्याइएको बजेटबाट सबै किसानलाई कृषि तथा पशुपन्छी बीमामा समेट्न गाह्रो देखिएको बताइन् । ‘या प्रिमियम तिर्न नसक्ने किसानलाई मात्र अनुदान दिने व्यवस्था हो भन्नुपर्छ नभए बजेट वृद्धिको विकल्प छैन,’ उनले भनिन्, ‘यस्तो बीमामा स्थानीय तहले नै सहजीकरण गर्ने व्यवस्था मिलाए प्रभावकारी हुन्छ ।’ उनले भुक्तानी नपाएको भन्दै बीमा कम्पनीहरूले बीमालेख जारी गर्न छाडेपछि किसानहरूले उक्त कार्यक्रम शुरू गर्नुपर्ने माग राख्दै तारन्तार फोन गर्ने गरेको बताइन् ।  यस्तो बीमा हाल १६ कम्पनीले गर्ने गरेका छन् । अधिकांश कम्पनीले सरकारसँग रकम लिन बाँकी रहेको बीमक संघले जनाएको छ । कृषि तथा पशुपन्छी बीमा बन्द हुँदा कृषि र पशुपालन क्षेत्रमा देखिन थालेको आकर्षण घट्नुका साथै बैंकहरूले कृषि कर्जा रोक्न सक्ने सम्भावना देखिएको छ । बीमा नगरी बैंकहरूले कृषिमा कर्जा लगानी गर्दैनन् । युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने उद्देश्यले सरकारले २०६९ माघ १ देखि कृषि तथा पशुपन्छी बीमा शुरू गरेको हो । 

सम्बन्धित सामग्री

कृषि तथा पशुपन्छी बीमा : असोज ७ गतेयताको पोलिसीमा ८० प्रतिशत अनुदान

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत गत असोज ७ गतेयता जारी भएको बीमालेखमा मात्र ८० प्रतिशत अनुदान पाइने भएको छ । चालू आवको प्रतिस्थापन बजेटले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो, त्यो व्यवस्था असोज ७ गतेदेखि लागू हुने भएको हो । अर्थ मन्त्रालयले गत हप्ता बीमा समितिलाई पत्र पठाउँदै असोज ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको छ । त्यसपछि समितिले पनि हालै एक परिपत्र जारी गर्दै निर्जीवन बीमा कम्पनीहरूलाई सोहीअनुसार नै कृषि तथा पशुपन्छी बीमा सञ्चालन गर्न निर्देशन दिएको छ । साउन १ गतेदेखि असोज ६ गतेसम्मको बीमालेलखमा ५० प्रतिशत अनुदान दिइने बताइएको छ । गत आवसम्म सरकारले यस्तो बीमामा ७५ प्रतिशतसम्म अनुदान दिने गरेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चालू आवको बजेटमा त्यस्तो अनुदान घटाएर ५० प्रतिशतमा कायम गरिएको थियो । राजनीतिक घटनाक्रमसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले प्रतिस्थापन बजेट ल्याउँदै उक्त अनुदान बढाएर ८० प्रतिशत पुर्‍याएको हो, जुन असोज ७ गतेयताको पोलिसीमा मात्र लागू हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्रतिस्थापन बजेट प्रमाणीकरण भएको मितिदेखि नै उक्त व्यवस्था लागू भएको उनको भनाइ छ ।   ‘गत असोज ७ गतेयता जारी भएका र अब जारी हुने कृषि तथा पशुपन्छीको बीमाशुल्कमा ८० प्रतिशत नै अनुदान दिइने छ । त्यसभन्दा पहिलेको पोलिसीमा भने अघिल्लो सरकारले ल्याएको बजेटअनुसार ५० प्रतिशत नै अनुदान दिइनेछ ।’ यो व्यवस्था लागू भएसँगै कृषि तथा पशुपन्छीमा बीमा कृषकको आकर्षण थप बढ्ने उनको भनाइ छ । नेपालमा २०७० देखि कृषि तथा पशुपन्छी बीमा सञ्चालनमा छन् । यसमा शुरुआती समयदेखि नै सरकारले अनुदान दिँदै आएको छ । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीले नै यस्तो बीमाको सुविधा दिँदै आएका छन् । साथै, समितिले पनि यस्तो बीमा गर्न सबै निर्जीवन बीमा कम्पनीलाई जिल्ला नै तोकिदिएको छ । तोकिएको जिल्लामा सम्बन्धित बीमा कम्पनीले अनिवार्य रूपमा यस्तो बीमा सञ्चालन गर्नुपर्ने हुन्छ ।