पुस २९, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २१ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले प्रिमियर भवन नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांश प्रस्तावलाई समेत वितरणयोग्य बनाउँनेछ । यसवर्ष कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यी प्रस्तावसँगै कम्पनीले कम्पनीको नियमावली संशोधन र निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग मर्जर वा प्राप्ति गर्ने विषयलाई पनि अघि सारेको छ । यदि कम्पनी मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।