धमाधम टाट पल्टिदै चिनियाँ रियल इस्टेट कम्पनी, १० वर्ष यताकै ठूलो मन्दी, नेपालको अवस्था के छ ?

माघ २, काठमाडौं । चीनमा पछिल्लो समय रियल इस्टेट उद्योगमा ठूलो मन्दी आएको छ । विश्वकै ठूला र सफल मध्येमा पर्ने रियल इस्टेट कम्पनीहरु रहेको चिनियाँ बजारमा एकपछि अर्को कम्पनी टाट पल्टिएको खबरहरु सार्वजनिक भएका छन् । चिनियाँ रियल इस्टेट उद्योग पछिल्लो एक दशक यताकै खराब अवस्थामा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।  हालै चीनको अर्को एउटा नाम चलेको रियल इस्टेट कम्पनीले पनि ऋण तीर्न सकेन । यसले भारी कर्जामा डूबेका त्यहाँका रियल इस्टेट उद्योगले आगामी दिनमा कति धेरै पीडा र समस्या भोग्न सक्लान् भन्नेतर्फ संकेत गरेको छ ।  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताए अनुसार चीनको शिमाओ ग्रुपले केहीदिन अघि ट्रष्ट कम्पनीबाट लिएको कर्जा भाका अनुसार पुरा तीर्न सकेन । यो खबर सार्वजनिक भएपछि कम्पनीको शेयर मूल्यमा तीव्र गिरावट आयो । चीनले विगत दुई वर्षमा रियल ईइस्टेट उद्योगको कर्जा माथिको निर्भरता घटाउन खोजेपछि कम्पनीहरुमाथि दबाब चुलिएको बताइएको छ ।  विश्वका लगानीकर्ताहरुको सबैजसो ध्यान अहिले चीनको दोस्रो ठूलो कम्पनी एभर ग्रान्डेमा छ । गएको कयौं महीना यता एभर ग्रान्डेको कर्जा पुनःभुक्तानी गर्न सक्ने क्षमता र कर्जा तीर्न नसक्दा यसले चीनको अर्थतन्त्रमा पार्न सक्ने सम्भावित असरमा उनीहरुको ध्यान केन्द्रित छ ।  हालैका महीनामा अन्य केही डेभलपर कम्पनीहरुले पनि एक पछि अर्को गर्दै वित्तीय दबाबको सामना गरेको खबर आउन थालेका छन् । सबैको ध्यान अहिले शिमाओतिर पनि गएको छ । यसको कारण अन्य कम्पनीको तुलनामा यसको वित्तीय अवस्था स्वस्थ थियो भन्ने ठानिनु हो ।  त्यसैले पनि लगानीकर्ताहरु अलि बढी चिन्तित बनेको नाटिक्सिसमा एशिया प्रशान्त क्षेत्रका अर्थशास्त्री गेरी इङले सीएनबीसीलाई बताएका छन् । चीनले डेभलपरहरुको कर्जाको स्तरबारे तय गरेको तीनओटै रातो घेरा शिमाओले भेटिसकेको छ । यो रातो घेरा नीतिले कम्पनीको नगद प्रवाह, सम्पत्ति र पूँजीको स्तर अनुसार कर्जामा सीमा तोक्ने गर्छ । इङकाअनुसार कम्पनीको संघर्षले अहिलेको वातावरणमा व्यवसाय रुपान्तरण गर्नु पर्ने ठूलो दबाब छर्लङ पारेको छ ।   लगानीकर्ताहरुमा बढ्दो निराशा आफूले हेरेको चाइना क्रेडिट ट्रष्टको पत्रअनुसार शिमाओले ६४ करोड ५० लाख युआन (१० करोड १० लाख डलर) बराबरको कर्जा तीर्न नसकेको भन्दै केहीदिन अघि रोयटर्सले समाचार छापेको थियो । सो समाचारमा रोयटर्सले दुई अज्ञात स्रोतलाई उदृत गरेको थियो ।  आफूसँग ऋणपत्र पुनःखरिदका लागि पर्याप्त रकम नभएको अघिल्लो हप्ता सानो डेभलपर कम्पनीका आङचाउ आर एण्ड एफ प्रोपर्टिजले बताएको थियो । सम्पत्ती विक्री गर्न नसक्दा ऋणपत्र पुनःखरिद गर्न नसकेको कम्पनीको भनाई छ ।  चीनको रियल इस्टेट डेभलपरप्रति लगानीकर्ताहरुको मनोवल विगत कयौं महीना यता नकारात्मक हुने क्रम बढेको नाटिक्सिस प्रोप्राइटरीको विश्लेषणले देखाएको छ । समग्र बजारले एभरग्रान्डेप्रति ध्यान दिन थाल्नु अगाडि जुनमा १५ प्रतिशत डेभलपरहरुलाई मात्रै नकारात्मक रुपमा हेरिएको थियो । तर डिसेम्बरमा एभरग्रान्डेले लगानीकर्ताहरुलाई भाकाअनुसार ब्याज भुक्तानी गर्न नसकेपछि यो दर बढेर ३५ प्रतिशतमा पुग्यो । त्यसपछि अन्य डेभलपरहरुलाई पनि वित्तीय कठिनाई भइरहेको खबरहरु आउन थाले । थप डिफल्टको सम्भावना रियल इइस्टेट कम्पनीहरुलाई लगानीको जोहो गर्न गाह्रो भइरहेको ट्रष्ट लोनको डेटा औंल्याउँदै नाटिक्सिसका इङले बताएका छन् । चीनमा ट्रष्ट कम्पनीहरुको कूल पूँजीको आकार बढेको भएपनि यसमा रियल इस्टेटको हिस्सा घटेको छ । उनकाअनुसार ट्रष्ट कम्पनीहरुमा सन् २०१९ को अन्त्यतिर १५ प्रतिशत रहेको रियल इस्टेटको हिस्सा सन् २०२१ को सेप्टेम्बरमा घटेर १२ प्रतिशतमा आएको छ । ऋणपत्र बाहेक पनि अन्य प्रकारको कर्जा तीर्न नसकेको देख्दा आफू अचम्मित नहुने उनले बताएका छन् । यस क्षेत्रका लगानीकर्ताका चिन्ता कम गर्ने सबैभन्दा राम्रो तरिका राज्य समर्थित कोषबाट बजारमा पूँजी प्रवाहको खबर हुन सक्ने पनि उनले बताए ।  डिसेम्बरको शुरुमा एभरग्रान्डे डिफल्टमा गयो । लगानीकर्ताहरु केही महीना देखि नै कम्पनी डिफल्टमा जाने भनेर चिन्तित भएकोले यसले बजारमा खासै ठूलो झट्का दिएन । तर समग्रमा उद्योगको लागि भने यो कठोर अवस्था उत्पन्न भएको हो ।  केन्द्र सरकार र केही स्थानीय सरकारहरुले खुकुलो बनाउने उपायहरु लागू गरेको भएपनि चीनको सम्पत्ति बजारमा डिसेम्बरमा खासै ठूलो सुधार आउन नसकेको जनवरी ४ को एक नोटमा जापानी वित्तीय सेवा प्रदायक कम्पनी नोमुराका विश्लेषकहरुले बताएका थिए । अफशोर बजारमा यस वर्षको पहिलो र दोस्रो त्रैमासमा चिनियाँ डेभलपरहरुको १९ अर्ब ८० करोड डलर र १८ अर्ब ५० करोड डलर बराबरको ऋणपत्र परिपक्व हुँदैछ । नोमुराका अनुसार पहिलो त्रैमासमा परिपक्व हुन लागेको ऋणपत्रको रकम गत वर्षको अन्तिम त्रैमासको तुलनामा झन्डै दोब्बर हो । नेपालको अवस्था के छ ? नेपाली रियल इस्टेट मार्केटमा चल्तीको कम्पनी सिभिल होम्स पनि टाट पल्टिसकेको छ । १० औं हजार घर बनाएर बिक्री गरेको यो कम्पनीका अध्यक्ष इच्छाराज तामाङ अहिले जेलमा छन् । उनले सिभिल सहकारीबाट लिएको अर्बौ रुपैयाँ घरजग्गा व्यवसायमा लगाएपनि त्यसबाट गरेको आम्दानीले ऋण चुक्ता गर्न सकेनन् । उनीमाथि अहिले ६ अर्ब रुपैयाँ बिगो दावी गरिएको छ । उनको सम्पत्ती लिलाम गरेर वित्तीय संस्थाले ऋण  अशुली गर्ने प्रक्रिया अघि बढाएका छन् । टाट पल्टिने कम्पनीमा सिभिल होम्स मात्रै देखिएपनि अन्य रियल इस्टेट कम्पनीहरुको अवस्था पनि धेरै आश लाग्दो भने छैन । धेरै कम्पनीहरुले पछिल्लो २/३ वर्षयता नयाँ प्रोजेक्ट ल्याउन सकेका छैनन् । कित्ताकाट रोकिएको, तरलता अभाव भएको लगायतका कारण घरजग्गाको कारोबारमा कमि आएको व्यवसायीहरुले बताएका छन् । तर नेपालको घरजग्गा कारोबारको चक्र हेर्ने हो भने हरेक ५/७ वर्षमा ठूलो मन्दी आउने गरेको पाइन्छ । २०७२ को भूकम्प पछि निरन्तर उकालो लागेको नेपालको घरजग्गा बजारमा कुनै पनि बेला ठूलो मन्दी आउन सक्ने विज्ञहरुको भनाई छ । (एजेन्सीको सहयोगमा)

सम्बन्धित सामग्री

भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख, भारत भन्दा अगाडि

१५ माघ, काठमाडौं । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । […]

नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने पाण्डेको चेतावनी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहेमा नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिनुभएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा भाग लिदै आज (बुधबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्रत्येक महिना १२ देखि १५ करोड डलर घट्दै गएकाले साेही अवस्था रहेमा बजेटको लक्ष्य पूरा हुन […]

श्रीलंकाको संकट र नेपालको अवस्था पृथक्

श्रीलंकाको संकट लामो समयदेखि वित्तीय सन्तुलन गुमाइरहेको परिस्थिति हो भने तुलनात्मक रूपमा नेपालको अवस्था बजेट व्यवस्थापन, खर्च प्रणाली र वित्तीय अव्यवस्थासँग जोडिएको छ । श्रीलंकाको संकट वित्तीय, आर्थिक र राज्यस्रोतमाथिको अराजकताका कारण निम्तिएको हो भने नेपालको अवस्था वित्तीय र आर्थिक स्रोतहरूको उपयोगको अक्षमताका कारण संकटउन्मुख देखिएको हो । श्रीलंकाले स्वतन्त्र विनिमय बजारको अधिक उपयोग गर्ने, क्षणिक लाभका लागि मुद्राको अवमूल्यन गर्ने, क्षमता मूल्यांकन नगरी विश्व बजारमा मौद्रिक उपकरण निष्कासन गर्ने र ऋणका लागि अति आशक्ति देखाउने गरेको छ । तर, नेपालले भारतसँग स्थायी विनिमय सुविधा लिएकाले मुद्राको अवमूल्यन गर्ने परिस्थिति रहँदैन । दक्षिण एशियामा सबैभन्दा उच्च आय भएको मुलुक श्रीलंका पछिल्लो समय चरम आर्थिक संकटमा रहेको छ । श्रीलंकाको आर्थिक संकटका केही संकेतहरू कोभिड–१९ महामारीको पूर्वअवस्थामा नै देखिएको थियो भने विद्यमान राजपाक्षे परिवारको सत्तामा पुनरागमन भएपछि बजेट प्रणालीमा भित्रिएको अराजकताले शुरू भएको देखिन्छ । सन् २०१९ मा नै मुलुकको सार्वजनिक ऋणको भार उच्च भइसकेको थियो भने सोही वर्ष अप्रिलमा भएको आतंकवादी आत्मघाती विष्फोटहरूपछि त्यहाँको पर्यटन क्षेत्र धर्मराउन थालेको थियो । साथै कोभिड–१९ का कारण पर्यटन क्षेत्रलाई तहसनहस भए पनि महामारी नियन्त्रणमा सरकारको उदारता सबै क्षेत्रबाट प्रशंसनीय थियो । सरकारले महामारीको प्रभावको सामना गर्न धेरै फराकिलो राहत प्याकेज, कर नीतिमा संशोधन, प्रोत्साहन, सामाजिक सुरक्षा खर्चमा वृद्धि र व्यवसायीहरूको ऋणब्याज समेत चुक्ता गर्नेसम्मका कामहरू गरेको थियो । तर, कोभिडका कारण आर्थिक गतिविधि ठप्प भएपछि २०२० मा आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत ऋणात्मक भयो । बजेट प्रणालीमाथिको अराजकताले बजेट घाटा १० प्रतिशतसम्म पुग्यो भने त्यसको परिपूरण गर्ने उपायका रूपमा बाह्य वित्तीय व्यवस्थामा भर पर्ने नीति मुलुकको अर्थव्यवस्थाका लागि घातक भयो । श्रीलंकामा सन् २०२१ म आइपुग्दा सार्वजनिक ऋणको भार कुल जीडीपीमा ११९ प्रतिशतसम्म पुगेको छ भने विदेशी ऋण भुक्तानीका कारण चालू खाताको घाटाले विगतका सबै कीर्तिमान तोडेको छ । अपेक्षाकृत रूपमा सन् २०१६ सम्म श्रीलंकाको ऋण ब्याजको व्ययभार धेरै बढेको देखिँदैन । सन् २०१५ मा श्रीलंकाले जापानसँग १ प्रतिशत, कोरिया र स्पेनसँग शून्य दशमलव ५ प्रतिशत, फ्रान्ससँग अन्तरराष्ट्रिय मानक ब्याजदर लाइबोर दर, एशियाली विकास बैंकसँग २ प्रतिशत, विश्व बैंकसँग १ दशमलव २५ प्रतिशत र ओपेक कोषसँग ३ दशमलव ५ प्रतिशतमा ऋण सम्झौता गरेको थियो । तर, ओपेक कोषसँगको सम्झौताको रकम भएकाले ठूलो दायित्व सृजना हुन सक्ने परिस्थिति थिएन । सन् २०१६ मा भने श्रीलंकाले फ्रान्स, जापान र कुबेतसँग द्विपक्षीय र विश्व वैंक एवं एशियाली विकास बैंकसँग बहुपक्षीय ऋण सम्झौताहरू गरेको थियो । सन् २०१६ मा नै चीनको एक्सपोर्ट इम्र्पोट बैंकसँग ३६० मिलियन डलरको २ प्रतिशत ब्याजदरमा अर्को ऋण सम्झौता गरेको थियो । श्रीलंकाले सन् २०१७ मा भने अन्तरराष्ट्रिय स्तरमा ६ दशमलव २ प्रतिशतको १ दशमलव ५ बिलियन डलर सबोरिजन बन्ड निष्कासन गरेको थियो । त्यसैगरी सोही वर्ष जापान, कुबेत, नेदरल्यान्ड, साउदी अरब, भारत र अस्ट्रियासँग समेत विभिन्न शर्तमा २ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो । सन् २०१७ मा नै करेन्सी टर्म फाइनान्सिङको सुविधामा श्रीलंकाले चीनसँग १ बिलियन डलर ऋण उपयोग गरेको थियो । साथै सोही वर्ष बहुपक्षीय दातृ निकायहरू एशियाली विकास वैंक र विश्व बैंकसँग पनि २ प्रतिशतमा ऋण लिएको देखिन्छ । सन् २०१७ मा नै विश्व बैंक, आईडीएसँगको ३ दशमलव ३ प्रतिशतभन्दा माथि र ओपेक कोषसँग २ दशलमव ५ प्रतिशतमा ऋण लिएको थियो, जसको अंश भने कुल ऋणमा उल्लेख्य देखिँदैन । सन् २०१८ मा फ्रान्स, जापान, साउदी, कोरिया, चीन, नेदरल्यान्ड, अस्ट्रिया, भारत र हङकङसँग छुट्टाछुट्टै शर्तका ऋण सम्झौताहरू गरेको छ भने कोरिया र अस्ट्रियासँग शून्य ब्याजदरको ऋण लिएको देखिन्छ । उक्त वर्ष चीनसँग २ दशमलव ५६ प्रतिशतमा १ बिलियन डलरको अर्को सम्झौता गरेको छ जुन उक्त वर्षको कुल ऋण सम्झौताको ५० प्रतिशतभन्दा बढी हो । सन् २०१९ मा पनि श्रीलंकाले चीन, जापान, बेलायत, फ्रान्स, हङकङ, अस्ट्रिया, साउदी अरब, नेदरल्यान्ड, हंगेरीसँग ऋण सम्झौताहरू गरेको छ । त्यसैगरी उक्त वर्ष दातृ निकायहरू यूरोपेली संघ, विश्व बैंक, ओपेक कोष, एशियली विकास बैंक र पहिलोपटक चीनमा रहेको एशियाली पूर्वाधार लगानी बैंकसँग समेत ऋण सम्झौता गरको थियो । सन् २०१९ मा पनि श्रीलंकाले लिएको कुल ऋण भारमा चीनको अंश ५० प्रतिशतभन्दा बढी छ भने त्यो वर्षको ऋणको ब्याजदर २ दशमलव ५ प्रतिशत रहेको छ । सन् २०२० मा श्रीलंकाले चीनबाट ५०० मिलियन डलर र केही दातृ निकायसँग अन्तरराष्ट्रिय मानक ब्याजदर लाइबोर दरमा ऋण सम्झौता गरेको थियो । उक्त वर्ष अपेक्षाकृत रूपमा सन् २०१७ मा अन्तरराष्ट्रिय बजारबाट उठाएको ६ दशमलव २ प्रतिशतको बन्डलाई पुन:संरचना गरी २ प्रतिशतमा ब्याजदरमा झार्ने श्रीलंकाको ध्येय थियो । पहिलेको ऋण भुक्तानी गरी अर्को माध्यमबाट सस्तोमा पैसा लिने योजना विश्वव्यापी कोभिड–१९ का कारण विफल भएपछि श्रीलंकामा ऋणको व्ययभारका कारण वित्तिय संकट शुरू भएको देखिन्छ । पछिल्लो समय श्रीलंकाको कुल सरकारी खर्चको लगभग ५० प्रतिशत रकम ऋणको साँवा–ब्याज भुक्तानीमा जाने र कुल राजस्वको रकमले ऋणको साँवा ब्याज तिर्न नसक्ने अवस्था बनेको छ । पछिल्लो समय श्रीलंकामा नियन्त्रित आर्थिक गतिविधिहरू, चरम ऊर्जा संकट र बढ्दो मूल्य लागतका कारण व्यावसायिक विश्वाससमेत गुम्ने अवस्थाले फेरि आर्थिक वृद्धिदर नकारात्मक हुने भय देखिएको छ । उपभोग्य वस्तुको अभाव र मूल्य वृद्धिका कारण मुद्रास्फीति १५ प्रतिशतसम्म पुगेको छ भने बाह्य स्रोतहरूबाट वित्तीय प्राप्तिको संकटका कारण मुद्रा सञ्चिति भण्डारण न्यून छ । अर्थतन्त्र थप संकटमा पर्नुमा कृषि उत्पादनमा ह्रास, बैंकहरूको वित्तीय गुणस्तरमा गिरावट र मौसमी कारणहरू समेत देखिएका छन् । श्रीलंकाले मुद्राको अवमूल्यन पनि गरेको छ जुन उपकरण लक्ष्य प्राप्तिका लागि अस्थायी रूपले फाइदाजनक तर दीर्घकालीन रूपले जोखिमसमेत रहन्छ । श्रीलंकाको चरम आर्थिक संकट एवं बढ्दो मुद्रास्फीतिलाई सुनिश्चित स्थायित्व दिन विभिन्न नीतिगत व्यवस्थाहरू परिमार्जन गर्नका लागि अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले विभिन्न निर्देशन दिएको छ । यसअन्तर्गत ठूला ट्रेजरी बिल होल्डिङका आकारहरू क्रमश: घटाउँदै लैजाउने एवं समष्टिगत आर्थिक स्थिरताका लागि ऋणको दिगो पुन:संरचना गर्ने विषयहरू समावेश छन् । साथै सरकारले राजस्वका आधारहरूको विस्तार एवं मूल्य अभिवृद्धि र आयकरको स्रोतलाई थप सुदृढ गरी अराजक किसिमले बजेटको अभ्यास कम गर्न सिफारिश गरेको छ । लोकप्रियताका लागि राजपाक्षे सरकारले मूल्य अभिवृद्धि करलाई १५ प्रतिशतबाट सबै वस्तु तथा सेवामा ८ प्रतिशतसम्म झारेको थियो । साथै सार्वजनिक खपतका लागि जारी विभिन्न सहुलियत कटौती गर्न र बजेटमा ऋणको मात्रा कम गर्ने उपायहरू कोषले सुझाव दिएको छ । साथै ऊर्जा मूल्य निर्धारणमा समेत दिइएको वित्तीय सहुलियतलाई समायोजन गर्ने, स्वतन्त्र बजारमा निर्धारित विनिमय दर पुन:स्थापित गर्ने र विनिमय दरमा भइरहेको अवैध कारोबार नियन्त्रण गर्ने विषयहरू पनि उल्लेख छ । पछिल्लो समय नेपालको आर्थिक संकटलाई श्रीलंकासँग तुलना गर्ने र त्यस्तै किसिमको संकट आउने आशंकाहरू गर्न थालिएको छ । नेपालको समेत संकटका केही कारणहरू श्रीलंकासँग समान देखिन्छन् । नेपालको पनि परनिर्भरता अत्यधिक बढेर गएको छ भने समग्र उत्पादनको अवस्था निराशाजनक छ । बढ्दो व्यापारघाटा, घट्दो विप्रेषण दर, न्यून वैदेशिक मुद्राको बचत, तरलताको अवस्था एवं बजेट खर्चको निराशाजनक प्रगतिले नेपालको समेत अर्थतन्त्र संकटउन्मुख छ । नेपालको पनि मुद्रास्फीति दर पछिल्लो समय बढेको छ भने आयातको आकारलाई घटाउने, मूल्य वृद्धि र कालोबजारी रोक्ने प्रयास विफल भइरहेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र र तरलतामा देखिएका समस्याहरूको रोकथाम गर्ने अभिप्रायले धेरै नीतिगत व्यवस्थाहरूमा परिमार्जन गरिसकेको छ । प्रतीतपत्रमा विभिन्न सीमा र अनिवार्य नगदको व्यवस्था, विप्रेषणलाई प्रोत्साहन गर्ने नीति, बाह्य स्रोतहरू लगानी एवं वैदेशिक मुद्रामा निक्षेप संकलनलगायत विषयमा विभिन्न व्यवस्था परिमार्जन गरेको छ । त्यसैगरी निजीक्षेत्रले समेत विदेशबाट संस्थागत ऋण लिन सक्ने, विदेशी ऋण लिने प्रयोजनका लागि वाणिज्य बैंकहरूले जमानत स्वीकार गर्ने गरी विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायत विद्यमान व्यवस्थासमेत पुनरवलोकन गरेको छ । यद्यपि उल्लिखित नीतिगत परिमार्जनपश्चात् समेत भरपर्दो रूपमा वैदेशिक स्रोतको उपयोग हुने र तरलतालगायत वित्तीय समस्या समाधान हुने आधारहरू तयार भएको देखिँदैन । श्रीलंका र नेपालको आर्थिक संकटका कारण, आयाम र प्रकृतिहरूमा धेरै भिन्नता देखिन्छन् । श्रीलंकाले स्वतन्त्र विनिमय बजारको अधिक उपयोग गर्ने, क्षणिक लाभका लागि मुद्राको अवमूल्यन गर्ने, क्षमता मूल्यांकन नगरी विश्व बजारमा मौद्रिक उपकरण निष्कासन गर्ने र ऋणका लागि अति आशक्ति देखाउने गरेको छ । तर नेपालले भारतसँग स्थायी विनिमय सुविधा लिएकाले मुद्राको अवमूल्यन गर्ने परिस्थिति रहँदैन । त्यसैगरी नेपालको बाह्य स्रोतको ऋणको मात्रा कुल उत्पादनमा श्रीलंकाको तुलनामा अतिन्यून छ भने स्वतन्त्र रूपले मौद्रिक उपकरणहरूको प्रयोग गरेको छैन । यस अर्थमा विनिमय प्रणालीमा हुनसक्ने जोखिम एवं बाह्य ऋणको दबाबबाट भने अहिलेसम्म नेपाल मुक्त छ । अहिलेको नेपालको अवस्था बदलिएको बाह्य आर्थिक परिस्थिति र आन्तरिक अव्यवस्थाको कारणले निम्तिएको र ती कारकको प्रभावलाई समयमा नै व्यवस्थापन गर्न चुकेकाले निम्तिएको हो । अर्थ व्यवस्थामा पर्ने बाह्य प्रभावहरूलाई रोक्नका आवश्यक समयमा चासो नहुनु र खस्कँदै गएपछि मात्र नीतिगत व्यवस्थाहरूको पुनरवलोकन हुनुले समस्याहरू लम्बिँदै गएको हो । आजको दिन श्रीलंकामा खाद्यान्न, दुग्धजन्य लगायत दैनिक उपभोग्य सामान, पेट्रोलियम पदार्थ र ऊर्जाको चरम अभाव भइरहेको छ । कागजसमेत आयात गर्न नसक्ने परिस्थिति भएकाले विद्यालयस्तरका पठनपाठन र परीक्षाहरू रोकिएको छ भने आर्थिक संकटको मुद्दामा प्रदर्शनहरू समेत भड्किएको छ । विशेषत: श्रीलंकाले लामो समयदेखि वित्तीय सन्तुलन गुमाउँदै गएको हो भने तुलनात्मक रूपमा नेपालको परिस्थिति आन्तरिक बजेट व्यवस्थापन, खर्च प्रणाली र वित्तीय अव्यवस्थासँग जोडिएको छ । श्रीलंकाको संकट वित्तीय, आर्थिक र राज्यस्रोतमाथिको अराजकताका कारण निम्तिएको थियो भने नेपालको हविगत वित्तीय र आर्थिक स्रोतहरूको उपयोगको अक्षमताका कारण आएको हो । यस अर्थमा लगानीयोग्य पूँजी अभाव, व्यापारघाटा, घट्दो विप्रेषण, बढ्दो ब्याजदर, पूँजीगत खर्चको अवस्था दयनीय रहे पनि नेपालको परिस्थिति सुधार गर्न सकिने अवस्थामा छ । कोभिड–१९ का कारणले थलिएको अर्थतन्त्र गतिशील हुने क्रममा छ भने ऊर्जाको निरन्तर आपूर्तिका कारण उद्योगहरूको उत्पादन क्षमता र उत्पादन बढ्ने अवस्थामा छ । पछिल्लो समय निर्माण र पर्यटन क्षेत्रमा पनि आशालाग्दा गतिविधिहरू हुन थालेको छ । निर्यातमा अपेक्षाकृत सुधार आएको छ भने मुलुक नयाँ निर्वाचनको सँघारमा छ । केन्द्रीय सरकारको पूँजीगत खर्च अपेक्षाकृत नभए पनि वित्तीय संघीयताको अभ्यासले स्थानीय सरकारको खर्च प्रभावकारिता वढेको छ । यसर्थ वित्तीय सन्तुलन कायम गर्ने ध्येयले प्रभावकारी बजेटको अभ्यास गर्ने र पूँजीगत खर्चमा क्षमता विस्तार गर्ने रणनीतिमा सफलता पाउने हो भने नेपालको संकट शीघ्र सुधार हुने अपेक्षा गर्न सकिन्छ । लेखक आर्थिक विकास तथा अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

लोकतन्त्रको महत्व र नेपालको अवस्था

जाडो धेरै भए पनि स्वस्थानी माहात्म्य सुरु भइसकेको छैन, लोकतन्त्र माहात्म्य श्रवण गरेर दिनहरू बिताउन बाध्य छन् आमनेपालीहरू । विलियम शेक्सपियर भन्थे, ‘राजनीति त्यस्तो विषय हो जसले ईश्वरलाई नै धोका दिन्छ’ । चरित्र साथमा भए सुन्दरताको अर्थ रहन्छ, धर्म साथमा भए धन साथमा रहन्छ, विवेक साथमा भए बुद्धि साथमा रहन्छ र प्रेम र विश्वास साथमा […]

भोकमरीको सूचकांकमा भारत र नेपालको अवस्था खस्कियो

विश्व भोकमरी सूचकाङ्कमा भारतको अवस्था अघिल्लो वर्षको तुलनामा खस्किएको छ । हालै सार्वजनिक गरिएको विश्व भोकमरी सूचकाङ्क सूचीमा भारत १०१ औं स्थानमा छ ।

साइबर सुरक्षामा नेपालको अवस्था सुधारोन्मुख

साइबर सुरक्षामा नेपालको अवस्था सुधार भएको छ । विश्वका १ सय ९४ देशमध्ये नेपाल साइबर सुरक्षामा ९४औं स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटीयू) ले गरेको ग्लोबल साइबर सेक्युरीटी इन्डेक्स सुधार भएको हो । सन् २०१८ मा आइटीयूले गरेको ग्लोबल साइबर सेक्युरीटी इन्डेक्समा नेपाल १०९औं स्थानमा थियो ।अध्ययनमा कानूनी व्यवस्था, प्राविधिक, संगठनात्मक आधार, क्षमता […]

अवस्था अझै दयनीय हुने विज्ञको चेतावनी

काठमाडौं, जेठ ६ । नेपालमा तीन प्रकारका कोरोना संक्रमणका नयाँ भेरियन्ट फेला परेपछि नेपालको अवस्था आउँदो महिना अझै दयनीय हुने चेतावनी विज्ञहरुले दिएका छन् । नेपालमा अहिले डी १–१ बेलायतको नयाँ भेरियन्ट, डी १–६१७ इन्डियन र नेपालमा नै विकसित भएको डी १–६१७–१–२ नयाँ भेरियन्ट सक्रिय रहेकाले नेपालको अवस्था अझै दयनीय हुने बताएइको छ । नेपालमा […]

डब्ल्यूएचओले भन्यो : नेपालको अवस्था चिन्ताजनक

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएकाे छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताउनुभयो । नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप...

हिटलरको कुखुरा र नेपालको अवस्था

लक्ष्मण बेल्बासे अहिले हाम्रो देश नेपाल आन्दोलनका साथै आरोप–प्रत्यारोप र तिकडमको राजनीतिबाट गुज्रिएको छ । नेता उत्तेजित भएका छन् । आफूसँगै जनतालाई पनि उद्वेलित बनाउने कोसिस जारी रहेको छ । जनताका आधारभूत आवश्यकता अर्थात् दैनिक जीवनलाई हाम्रै राजनीतिक अवस्थाले कता लगिरहेको छ ? राजनीतिकर्मीलाई नै थाहा छैनजस्तो गरिरहेका छन् । तर पनि अहिले फेरि सबै पार्टी तथा नेतालाई जनता चाहिएको छ र भन्दै छन्, उनीहरूभन्दा इमान्दार र जनताको पक्षमा कोही छैन । पुँजीको प्रतिस्पर्धा र राज्यको भूमिका निष्प्रभावी भएको देख्दा सामान्यजस्ता लाग्ने तर जटिल प्रकारका समस्यासँग जुध्न नेपाली जनता बाध्य छन्, यिनै समस्यासँग अभ्यस्त हुन बाध्य छन् । प्राकृतिक नियम नै हो, मृत्यु सबैलाई सधैँ प्रिय लाग्दैन । त्यसैमाथि कोही पनि आफ्नो परिवारको कोही सदस्य औषधिमुलो नपाएर रोगले छट्पटाउँदै मृत्युको मुखमा पुगोस् भन्ने कोही चाहँदैन । बाँच्न हरसम्भव कोसिस गर्दछ । यही बहानामा सम्पत्ति सक्काउँछ । भगवान गुहार्न पुग्दछ । नेपालमै राम्रो पेसा–व्यवसाय नहुनेको गन्तव्य विदेश भएको थुप्रै भइसक्यो । त्यसमा दुईतिहाइ हाराहारीको बहुमतयुक्त सरकारले तीन वर्ष शासन गरिसक्दा पनि बिसको उन्नाइस भएको छैन । मानिस जस्तोसुकै अवस्थामा पनि बाँच्न चाहन्छ । रोग लाग्दा चाँडै निको हुन चाहन्छ । यो एउटा मानवीय स्वभाव हो । सहरका अस्पताल यिनको उपचार प्रकिया र खर्चको विषयमा अनुमान लगाउन पनि मुश्किल हुने गर्दछ । सरकारी अस्पतालको ढिलासुस्ती तथा गैरजिम्मेवार व्यवहारको कारण सबैको आकर्षण विज्ञापनले गर्दा सबैले सुनेका ठुला ठुला प्राइभेट हस्पिटलतिर हुने गर्दछ । बिरामीलाई चाँडै निको गराउने सबैको चाहना हुने गर्दछ । बिरामीको जीवन जोगाउन हरसम्भव कोसिस गर्दछ । आतुर त्यो अवस्थामा चाँडै र छरितो उपचारको लागि तिनै प्राइभेट अस्पतालको ढोका ढक्ढक्याउन बाध्य हुन्छ । बिरामीको उपचारसँगै बढ्दै जाने उसको आर्थिक स्वास्थ्यको कुनै उपचार भेटिँदैन । घरबारी बेच्न हिँड्नु या बिरामी छोडेर भाग्नेजस्तो विवेकहीन बनाइदिन्छ । कति अनुमान लगाउँदा–लगाउँदै त, कति थाहै नपाई यस्ता भुमरीमा फस्ने गर्दछन् । अहिले स्वास्थ्योपचार सबैभन्दा ठुलो व्यवसाय भएको छ । ठुला ठुला व्यावसायिक घराना पनि ...