असारे हतारोले किसानहरूलाई धान रोप्नमात्र होइन, त्योभन्दा बढी हतारो कलेजको खेती गर्नेहरूलाई विद्यार्थी नामका बिरूवाले आफ्नो टहरो भर्नमा छ । शहरबजारका अलि हेर्न हुने हरेक घरका चोटा र कोठामा स्कुल कलेजका बोर्ड पढ्न पाइन्छन् । ती बोर्डले छेकेको कोठा र टहराभित्र चाहिँ के पढिन्छ पढाइन्छ भन्ने अज्ञात नै छ । तैपनि शहरमा सबैलाई शिक्षा दिने सरकारको सपना यसरी निजी क्षेत्रले पूरा गरिदिन लागेकामा सबै दंग छन् । अभिभावक र विद्यार्थीहरूको सपना त यी चोटे कोठे टहरे कलेजहरूले आकर्षक टु पिस ड्रेस र खोस्टै सही ल्यामिनेटेड सर्टिफिकेट उपलब्ध गराएर पूरा गरेको छ । कामचलाउ सरकारको गाउँ गाउँमा सहकारी घर घरमा रोजगारीको राष्टिय नारालाई आगामी सरकारले सहरका चोटाचोटामा कोठाकोठामा कलेज भन्ने नाराका साथ नीति तथा कार्यक्रम बनाए हुन्छ ।
शिक्षामा निजी क्षेत्रबाट भएको लगानीले देशमा थुप्रै सह र सहायक उद्योगहरू खुल्न पाएका छन् । विद्यार्थीलाई आवश्यक पर्ने बुट, फेसन, किताब, कापी, कलम, स्कुटी आदिको व्यापारले स्कुल कलेज मात्र होइन यसका सप्लायरहरू पनि मालामाल बनेका छन् । देशमा हेलमेट शिक्षकहरूको उत्पान पर्याप्त बढेको छ ।
फ्रान्सलाई पनि उछिन्नेगरी देशैभरि फेसन उद्योगहरूबीच कपडा कम प्रयोग गरी स्कुल वा कलेज ड्रेस बनाउने प्रतिस्पर्धाको रोमाञ्चक कुराको त बयान गरी साध्य नै छैन । स्कुल कलेजका कक्षा समाप्त भएपछि सडकमा लाग्ने भीड हेर्दा ठिटाठिटीहरू शिक्षालय होइन, कुन ठूलै फेसन कम्पिटिसनमा भाग लिन जान लागेको भान हुन्छ ।
(तीतोमीठोबाट)
वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २